+
+

एमालेको दबाबमा रोकियो भीम रावलको पूर्वनिर्धारित कार्यक्रम

‘एमालेका साथीहरूले धेरै दबाब दिनुभयो, विवाद किन गर्नु खेलुकद उद्घाटन गर्न आउने कुरा, आमसभा त गरेको होइन,’ कार्कीले अनलाइनखबरसँग भने, ‘ बुझ्दै नबुझेपछि के लाग्छ र ?’

हरि अधिकारी हरि अधिकारी
२०८१ पुष २० गते २०:०३

२० पुस, विराटनगर । नेकपा एमालेको कारबाहीमा परेका नेता डा. भीम रावल यतिबेला एमालेकै अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेशमा छन् ।

शनिबार विराटनगर पुगेका नेता रावल दिउँसो सुनसरीको भरौलमा आयोजना हुने तेस्रो आमन्त्रित अन्तर्राष्ट्रिय भेट्रान फुटबल उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको थियो ।

तर उनी सहभागी हुने भनिएको सो समारोह अन्तिम अवस्थामा रोकियो ।

विराटनगर विमानस्थलबाट सोझै कार्यक्रमस्थलतर्फ लागेका रावल भने बीच बाटोबाटै फर्कन परेको थियो ।

आयोजकका अनुसार उक्त कार्यक्रम अब २२ पुसमा उद्घाटन गर्ने कार्यक्रम तयारी भएको छ ।

आयोजकले मैदानको तयारी पूरा नभएका कारण प्रतियोगिता सरेको बताएको छ । यद्यपि रावल सहभागी हुने भएपछि आयोजकलाई नेकपा एमालेकै नेतृत्वले दबाब दिएको खुलेको छ ।

आयोजक भेट्रान फुटबल क्लबका अध्यक्ष विमल कार्कीका अनुसार एमालेले रावललाई कार्यक्रममा सहभागी नगराउन दबाब दिएको हो । क्लबका अध्यक्ष कार्की पूर्व राष्ट्रिय खेलाडी पनि हुन् ।

‘एमालेका साथीहरूले धेरै दबाब दिनुभयो, विवाद किन गर्नु खेलुकद उद्घाटन गर्न आउने कुरा, आमसभा त गरेको होइन,’ कार्कीले अनलाइनखबरसँग भने, ‘ बुझ्दै नबुझेपछि के लाग्छ र ?’

एमालेका केन्द्रीयस्तरका नेताले पनि रावल सहभागी हुने भनेपछि कार्यक्रम सार्न दबाब दिएको उनको भनाइ छ । राजनीतिक दबावका कारण प्रतियोगिताको उद्घाटन मिति सार्नपरेको उनको भनाइ छ ।

आयोजक क्लबका सचिव अधिकलाल चौधरीले मैदान हिलो भएका कारण दुई दिनपछि प्रतियोगिता सारिएको बताए । ‘हिजो केटाहरूले काम गर्दैथे, धेरै पानी लगाएर हिलो भयो,’ उनले भने, ‘आज गेम खेलाउन सकेनन् ।’

राजनीतिक हिसाबले कडा दबाब नभएपछि सामान्य गुनासो भनेको आएको स्वीकारे । ‘पोलिटिकल्ली स्ट्रिक्ली प्रेसर त आएन, तर सामान्य गुनासोहरू चाहीँ आए,’ उनले भने ।

काठमाडौंबाट रावल सोही कार्यक्रममा सहभागी हुन भनेर आएका थिए । तर एमालेको दबाबमा उद्घाटन स्थगित भएपछि उनी आफ्ना समर्थक भेटेर फर्कन बाध्य भए ।

नेकपा एमाले सुनसरी सचिव राम कोइराला प्रतियोगिता सार्नका लागि पार्टीले आयोजकलाई दबाब नदिएको दाबी गर्छन् । आज पार्टीको खेलुकद महासंघको कार्यक्रम भएको बताउँदै उनले पार्टीका युवाहरू महासंघको कार्यक्रममा सहभागी भएको बताए । ‘मैले दबाब दिएको होइन, साथीभाईलाई टुटफुट र विभाजनको पक्षमा कोही आउँछन् भने त्यतातिर चाहिँ तपाईंहरू नजानुहोस् भन्या हो,’ उनले भने ।

पार्टीका तर्फबाट दबाब नदिएको बताउँदै उनले अघि भने, ‘त्यहाँका साथीहरूले साथीका रुपमा १–२ दिनपछि गर्नुपर्छ भने होलान ।’

रावललाई विराटनगर विमानस्थलमा नेकपा एकीकृत समाजवादी र दुर्गा प्रसाईंका कार्यकर्ताले स्वागत गरेका थिए । रावलको सचिवालयका अनुसार शनिबार दिनभर कोशीमा भेला भएका शुभचिन्तकसँग रावल छलफलमा छन् ।

‘कार्यक्रम बिथोलिए पनि नियमित भेटघाटमा उहाँ हुनुहन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘हामीले पाएको सूचनामा एमालेको उच्च नेतृत्वबाटै आजको कार्यक्रम रोक्न दबाब भएको रहेछ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?