२० पुस, बुटवल । बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत शनिबार भएका खेलमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र भारतको गुजरात स्टेट विजयी भएका छन् ।
बुटवल–१० स्थित रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई ३–१ को सेटमा पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो सेट पुलिसले २५–१५ अंकले जित्दा दोस्रो सेट भने मणिमुकुन्दले २५–२० ले जित्दै बराबरी खेलेको थियो । तर तेस्रो र चौथो सेट पुलिसले क्रमशः २५–२० र २५–१८ अंकका साथ जितेको थियो ।
यस्तै, शनिबार नै भएको अर्को खेलमा भारतको गुजरात स्टेटले विभागीय टिम एपीएफलाई ३–१ का साथ पराजित गरेको छ । एपीएफले पहिलो सेट २५–२१ अंकले जितेपनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५–१८, २५–१५ र २५–१८ अंकले जित हासिल गरी विभागीय टिम आर्मीलाई स्तब्ध बनायो ।
शनिबार नै भएको तेस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले पहिलो सेट २५–२१,दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले जित्दा ४ जना इरानी खेलाडी मैदानमा उतारेको गल्कोट स्तब्ध बन्यो ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ७ र भारतको एक गरी ८ टिमको सहभागीता रहेको छ । जसमा समूह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिवल क्लब, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समूह ‘बी’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गल्कोट भलिवल क्लब र गुजरात स्टेट भलिवल एशोसिएसन भारत रहेका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा एकेडेमीले काठमाडौं बाहिर सर्वाधिक ७ लाख रुपैयाँ प्रथम पुरस्कारसहितको प्रतियोगिता सञ्चालन गरेको हो ।
प्रतियोगिताको उपविजेताले ३ लाख ५० हजार, तेस्रोले एकलाख ७५ हजार, सान्त्वना हुने टिमले एक लाख, उत्कृष्ट खेलाडीले २५ हजार तथा विधागततर्फ उत्कृष्ट खेलाडीले प्रति खेलाडी १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले बताए ।
प्रतिक्रिया 4