+
+
नमेटिएका डोबहरू :

किन आइलाग्छ हरदम यस्तो भाउँतो ?

मेरो निजी अनुभव छ, मानव जीवनमा न गुमाउनुपर्ने केही कुरा हुन्छ न त पछुताउनुपर्ने नै, यस जीवनमा त मात्र सिक्नुपर्ने कुरा मात्र हुँदोरहेछ । प्रत्येक चोट, हरेक घात र प्रतिघातले ज्यादै तिलस्मी पाठ सिकाएर जाँदो रहेछ ।

लक्ष्मीधर गुरागाईं लक्ष्मीधर गुरागाईं
२०८१ पुष २१ गते ९:००

‘हतपतको काम लतपत’- उहिलेका बुढाबुढीले त्यसै भनेको होइन रहेछ । कतिपय काममा औधी हतार गर्ने अनि काम बिग्रिएपछि पछिसम्म पछुताएर टाउको ठोक्ने नानीदेखि लागेको मेरो बानी कहिल्यै गएन । कुनै पनि कुरामा औधी छिटो प्वाक्क बोलिदिंदा कुइरेका टाउकामा ट्वाक्क भइरहेको छ मलाई । विचारै नगरी, प्वाक्क बोलिहाल्ने बानीले मसित रिसाएका आफन्तहरू गन्ती नै गर्ने हो भने हातगोडाका औंलाले नपुग्न सक्छन्, खनिउँले नजान्दा फेदमा फल त्यसै भनेको होइन रहेछ ।

आज म मेरो स्वर्गवासी आमालाई सम्झिरहेको छु । आमा मलाई बारम्बार भन्नुहुन्थ्यो– “तँ अलि विचार नगरी छुच्चो बोल्छस् है !” यति भनेर आमा विगत सम्झँदै भन्नुहुन्थ्यो– “तँ सानै छँदा म निकै बिरामी भएकी थिएँ । त्यसबेला मैले तँलाई दूध चुसाउन सकेकी थिइनँ । छिमेकी माइली खुलाल्नी पनि त्यहीबेला सुत्केरी भएकी थिइन् । अनि उनैले तँलाई निकै समयसम्म दूध चुसाएकी थिइन् । ती खुलाल्नीलाई बाउँठी खुलाल्नी भन्थे । तेरै जस्ता बाउँठा कुरा मात्र गर्थिन् । दूध गुन बुद्धि, कुल गुन ज्ञान । बाउँठी खुलाल्नी अगाडि पछाडि केही नहेरी मनमा जे आउँछ त्यही प्वाक्क बोलिहाल्ने स्वभावकी थिइन् । पहिले दायाँ–बायाँ केही नविचारी बोल्थिन् पछि पछुताउँथिन् । त्यसैले तँ पनि सोचविचार गरेर मात्र बोल्ने गर है छोरा !” मलाई आमा उपदेश दिनुहुन्थ्यो– “कसैलाई कहिल्यै पनि नराम्रो लाग्ने कुरा बोल्दै नबोल्नु । मुखबाट छुटेको बोली र बन्दुकको नालबाट छुटेको गोली कहिल्यै पनि फिर्ता हुँदैन बाबै !” आमाको यो अमृत वाणी बिर्सन नसके पनि व्यवहारमा उतार्न मैले पहिले कहिल्यै सकिनँ । मेरो बोलीले गर्दा रिसाएकाहरू आज एक–एक गरी सम्झिंदैछु ।

एक मन त मलाई लाग्छ– आ ! रिसाए पनि रिसाउन् । कोही मसित खुसाएर मेरा भाँडामा चामल हालिदिने होइनन्, रिसाएर त्यो चामल खोसेर लैजाने पनि होइनन् । जो रिसाउँछन् उनीहरूकै मुख कालो । रिस खा आफू बुद्धि खा अर्को भन्ने भनाइ जुन दिन बुझ्लान् त्यस दिनदेखि रिसाउन पनि छाड्लान् ।

के गर्नु बेलैमा आमाको बोली राम्ररी खान सकेको भए आज यसरी पछुताउनुपर्ने थियो र ? जन्मदिने आमाका अमृत जस्तो भनाइ एउटा कानले सुनेर अर्काले नउडाएको भए यत्रो समयसम्म मैले अनेक कुराको भाउँतो खेप्नुपर्ने थियो त ? थिएन नि !

आफ्नो गल्ती हुँदा रिसाउनु त स्वाभाविकै हो, तर कहिलेकाहीं त राम्रा कुरा बोलेका बेला पनि सुन्नेले नराम्रो बुझिदिंदा वृत्तिविकासमै प्रतिकूल असर परेको घटना सम्झिंदा निकै पीर लाग्छ । ज्योतिष हेर्नेले भन्थे– “तपाईंको कुण्डलीमा तुलाको शुक्रले गर्दा राम्रो बोल्दा पनि नराम्रो अर्थ लाग्छ ।”

कुरैकुरामा म गोरखापत्र संस्थानमा काम गर्दाको अवस्थामा पुगें । त्यसबेला म गोरखापत्रमा सातौं तहको उप–सम्पादक थिएँ । आठौं तहको सह–सम्पादक पदमा बढुवाको सूचना टाँस भएको थियो । आफ्ना हाकिमले कार्य सम्पादन मूल्यांकनमा चित्तबुझ्दो गरी राम्रो नम्बर दिनुभएको थियो । काम पनि ज्यान छाडेर गरेको थिएँ । म राम्रै श्रेणीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनाले र हाकिमको मूल्यांकन पनि निकै राम्रो भएको हुँदा मेरो बढुवा होला भनी मनको मझेरीमा आशाको मधुरो दियो बालेर बसेको थिएँ । अब अवश्य तपाईंको बढुवा हुन्छ भनेर कतिपय साथीहरू मलाई अग्रिम बधाई दिइटोपल्थे । नाम ननिस्केसम्म बधाई स्वीकार नगरौं भनेर म पन्छिन्थें ।

एक दिनको कुरा हो मुनाका सल्लाहकार प्राध्यापक दैवज्ञराज न्यौपाने, प्रबन्धक विनोद अर्याल, वरिष्ठ अधिकृत भीम खरेलसित बसेर लैनसिं बाङ्देलको उपन्यासकारिताका विषयमा छलफल हुँदैथियो । मैले भने बाङ्देलका मुलुक बाहिर, माइतीघर र लँगडाको … मात्र भनेको थिएँ साथी भन्न बाँकी नै थियो, त्यहीबेला महाप्रबन्धक खुट्टो खोच्याउँदै टुप्लुक्क त्यहीं आइपुगे । उनले मेरो मुखबाट निस्केको ‘लँगडाको’ मात्र भनेको सुन्दा ज्यादै नमिठो मानेको कुरा उनको शारीरिक भाषाले बताउँथ्यो । उनले आँखा तरेर हेरे । उनी त्यहाँबाट एकशब्द नबोली फनक्क फर्केर हिंडे । हाम्रा दैवज्ञ सरले भन्नुभयो, “कुरा अलि बिग्रेला जस्तो पो भयो त लक्ष्मीजी ।”

त्यसको केही वर्ष अगाडि दुई जना परीक्षणकालमा रहेका उपसम्पादकहरूले लँगडेले के गर्छ भनेको कुरा सुनेर उनीहरूलाई परीक्षणकाल नै नथपिदिएको हल्ला संस्थानमा सनसनी फैलिएको थियो ।

कस्तो भाउँतो ? मैले तपाईंलाई भनेको होइन, बाङ्देलको प्रसिद्ध उपन्यासको पो कुरा गरेको थिएँ भन्न पनि मिलेन । धत्तेरिका, बाङ्देलले पनि कुन दिनमा लेखेछन् त्यो उपन्यास ! शारीरिक अपाङ्गता भएका मानिस र उनका साथी भनी उपन्यास लेखेका भए पनि त यो भाउँतो खनिने थिएन नि भन्ने लाग्यो ।

मैले नै बाङ्देलकै प्रसिद्ध उपन्यासको नाम किन लिनुपर्ने ? लिनै पर्दा पनि सबैभन्दा पहिले त्यस उपन्यासको नाम लिएको भए ती महाप्रबन्धकले सुन्ने त थिएनन् । महाप्रबन्धक फनक्क फर्केर जानेबित्तिकै मेरा मित्रहरूमध्ये भीम खरेलले हाँस्दै भन्नुभयो “कुरा गम्भीर बन्यो है, बढुवाका बेला महाप्रबन्धकले रिसाए जस्तो गरे । बाङ्देलको लँगडाको साथीले काम बिगार्ला जस्तो छ ।” विनोद अर्यालजीले जिब्रो टोक्नुभयो । मैले सम्झिएँ– मुखकी थुतुरी चुँहुदी कुटुरी !

त्यसको केही दिनपछिको साँझमा पदपूर्ति समितिको बैठक बस्नेवाला थियो । महाप्रबन्धकले हाम्रा प्रधानसम्पादकलाई आफ्नो कार्यकक्षमा बोलाएका थिए । फर्केर आएपछि प्रधानसम्पादकले मसित भन्नुभयो, “तपाईंको बढुवा यसपालि नहुने भयो है । माइन्ड मेकअप गर्नुहोला । मेरो केही लागेन ।”

“मेरो श्रीमान् जस्तै जस्तै लागेर चढेकी, मान्छे पनि उस्तै उस्तै पो हुनुहुँदोरहेछ । उहाँले पनि यस्तै रेनकोट, यस्तै कालो हेल्मेट लगाउनुभएको, यस्तै होण्डा साइन बाइक छ । म झुक्किएर चढेंछु, माफ गर्नुहोला”, उनले कामेको स्वरमा भनिन् । मैले म्याडम र कार्यालय सहयोगी उस्तै उस्तै देखेर पाएको पीडा झलक्क सम्झिएँ ।

त्यसै साँझ बढुवाको लिष्ट टाँसियो । बाङ्देलको लँगडाको साथी उपन्यासले त मलाई गर्नसम्मै गर्‍यो नि ! मेरो वृत्तिविकासमै तगारो लाग्यो । हुन त ती महाप्रबन्धक कवि पनि थिए । कवि त कोमल मनमस्तिष्कको हुनुपर्ने होइन ? उनमा संवेदनशीलता कहिल्यै देखिएन । त्यसपछि पनि उनी महाप्रबन्धक भएर बसुन्जेल मेरो पदोन्नति भएन । लामै समयसम्म उनीबाट पीडित र प्रताडित बन्नुपरेको थियो । म गर्छु आग्राका कुरा उनले सम्झे गाग्राका कुरा । कुन विषयमा कुराकानी भएको थियो, त्यसलाई उनले आफ्नो शारीरिक कमजोरीलाई उपहास गरेको ठान्नु मेरो कि उनकै समस्या थियो ? मानिसहरू भन्छन् खाएको विष मात्र लाग्छ, मलाई त खाँदै नखाएको विष लाग्यो ।

अर्कोदिन त ती महाप्रबन्धकले मलाई स्पष्टीकरण सोधेर पत्र पठाए । त्यसमा लेखिएको थियो– “तपाईं गोरखापत्र संस्थानमा बाहेक अन्यत्र कहाँ–कहाँ के काम गर्नुहुन्छ ?” यसको जवाफ चौबीस घण्टाभित्र मागिएको थियो । उनले मलाई जागिरबाट हटाउने जाल बुन्न थालेको बुझ्न मलाई गाह्रो थिएन ।

मैले जवाफ दिएँ, “गोरखापत्र संस्थानको काममा प्रतिकूल असर नपर्ने गरी बिहानको समयमा एउटा आंगिक क्याम्पसमा पार्टटाइम पढाउँछु ।” मैले गोरखापत्र संस्थानको व्यवस्थापनबाट धेरै पहिले नै क्याम्पस पढाउन अनुमति स्वीकृति लिइसकेको हुनाले उनले त्यसलाई कारबाहीको विषय बनाउन सकेनन् । अनि म जागिर जानबाट वालवाल जोगिएँ ।

त्यसको केही समयपछि मुलुकमा सरकार फेरियो । सरकार फेरिएसँगै महाप्रबन्धकलाई पनि सरकारले अवकाश दियो । त्यसपछि मात्र उकुसमुकुसको अवस्थाबाट मैले सन्तोषको सास फेर्न पाएँ ।

तीन किसिमका मानिसलाई हामी जीवनमा कहिल्यै पनि नबिर्सने रहेछौं । जो मानिसले जीवनमा अनाहक धेरै दुःख दिन्छ, उसलाई; जो मानिसले सुखका बेला त साथ दिन्थ्यो तर ज्यादै दुःख–पीडामा परेको बेला चटक्क छाडेर हिंड्छ, त्यसलाई; अनि जो मानिस अरू बेला केही वास्ता गर्दैन तर दुःख–पीडा परेको बेला बलबुता लगाएर सहयोग गर्दछ, उसलाई ।

जीवनमा जे–जस्ता क्षुद्रहरूको संगत भए पनि दरिलो आत्मविश्वास, सकारात्मक सोच राखेर जीवनपथमा अगाडि बढ्ने मानिसहरू सफलताको चुली चुम्छन्, अरू सफल हुँदैनन् ।

राजधानीको एउटा नाम चलेको क्याम्पसमा मैले झण्डै तीस वर्षसम्म लगातार पढाएँ । सुरुका केही वर्ष नेपाली विषय पढाएको थिएँ, नेपाली पढाउँदा पनि विषयवस्तुको गहिरो अध्ययन गरेर रमाइलो तरिकाले विद्यार्थीलाई मनोरञ्जन दिंदै पढाउँथें । त्यसैले मेरा विद्यार्थीसित मेरो सम्बन्ध निकै घनिष्ट हुन्थ्यो । तीनवर्षे बीए सुरु भएपछि मैले नेपाली साहित्य र व्याकरण पढाउन छाडेर बीए तेस्रो वर्षको कार्यमूलक नेपाली पत्रकारिता विषय पढाउन थालें । म पढाउने मात्र गर्दिनथें, पत्रकारिताका जीवन्त कुरा सिकाउँथें । उनीहरू नै भन्थे मैले सिकाएपछि समाचार संकलन, सम्पादन र प्रकाशनका विविध कुरा उनीहरूलाई सजिलो लाग्यो रे ! त्यसैले होला, विद्यार्थीहरू हम्मेसी मेरो कक्षा छुटाउन चाहँदैनथे । म कुनै दिन पनि आफ्नो कक्षा छाड्दिनथें ।

एकदिन म क्याम्पस जान घरको मूल ढोकामा पुग्दा अचानक हाच्छिउँ आयो । मेरी पत्नीले भनिन् “ए बुढा, एकैछिन बसेर जानुहोस्, हाच्छिउँ आउनेबित्तिकै हिंड्न हुँदैन, साइत बिग्रन्छ !” त्यसबेला म त्यस्ता अन्धविश्वास मान्दिनथें । उनका कुरालाई हाँसोमा उडाएर बाइक स्टार्ट गरेर हिंडिहालें । आकाशको राहु पातालको केतु एकपटक नपरी कसरी चेतु भन्छन् । अचेल त थुप्रै कुरा मान्ने भएको छु । अगुल्टाले हानेको कुकुर बिजुली चम्किंदा तर्सिन्छ ।

क्याम्पसको हातामा आफ्नो बाइक पार्किङ गरी म सरासर स्टाफ रुममा पसें । त्यहाँ भएको पत्रिकाको हेडलाइन हेर्दै थिएँ । त्यहाँ ढोकाका छेउमा जहिले पनि एउटा मेचमा कार्यालय सहयोगी बहिनी बसेकी हुन्थिन् । आज पनि उनलाई त्यहीं बसिरहेकी देखें । त्यो ठाउँमा दोछायाँ पर्दथ्यो । मैले घडी हेरें घण्टी लगाउनुपर्ने पाँच मिनेट बितिपो सकेछ, तर घण्टी लागेको थिएन ।

मैले ढोकाको छेउमा बसिरहेकी ती बहिनीतिर फर्केर प्वाक्क भनिहालें “बहिनी, समयमा घण्टी बजाउनुपर्दैनथ्यो ? पाँच मिनेट बितिसक्यो त !”

“मेरो काम घण्टी बजाउने होइन सर, म पनि तपाईं जस्तै यहाँकी प्राध्यापक हँु, कति सारो हेपेर बोल्न सक्नुभएको !” मेरो भनाइ भुइँमा खस्न नपाउँदै तीखो जवाफ आयो । राम्ररी हेरें, मान्छे उस्तैउस्तै लागे पनि अर्कै पो परिछन् !

ला, छिटो बोल्ने बानीले फेरि पर्‍यो बित्याँस । उनको जवाफले म त त्यहीं खङ्ग्रङ्ग भएँ । मेरी पत्नीले एकछिन बसेर जानु भनेको कुरा झलक्क सम्झें ।

मैले त्यसैबेला आफ्ना दुवै हात जोडेर ती मेडमसित भनें “मेडम, मलाई माफ गर्नुहोस्, मैले तपाईंको अपमान गर्न खोजेको होइन, सधैं यही कुर्सीमा कार्यालय सहयोगी बहिनी बस्थिन्, आज पनि यहाँ तिनै बहिनी बसेकी होलिन् भनेर बोलिहालेंछु । आई एम सरी म्याम ।”

मेडम मसित निकै आगो भइन् । उनले मलाई रिसाउँदै, मुर्मुरिएर हेरिरहिन् । मैले फेरि भने “घण्टी त म बजाइहाल्छु नि म्याम !” यति भनेर मैले ढोकाको कुनामा भएको स्विच बटम थिचेर घण्टी बजाइदिएँ । मेडम जुरुक्क उठेर रिसाउँदै भुतभुतेमा पानी परेजस्तो गरेर बाहिर निस्किन् । मैले उनलाई गरेको अनुनय–विनय भैंसीका अगाडि बिन बजाए जस्तो निरर्थक भयो ।

त्यहीबेला त्यहाँ एक जना कर्मचारी भाइ बुद्धिनारायण आइपुगे । उनी बडो मजाका, ठट्टेउला, तार्किक र फरासिला थिए । उनलाई मैले सोधें, “अहिले भर्खर बाहिर निस्कने मेडमको नाम के हो ?”

“उहाँ पनि यही क्याम्पसको म्याम हो सर, सबैको नाम जानेर पनि लिनुहुँदैन, त्यो नाम दिमागमा बस्यो भने फेरि खराब विचार आउँछ । नाम लिंदा असल मानिसको लिनुपर्छ । हुन त सरलाई म के भनौं ! सरले विद्यार्थी सम्झेर गाली त गर्दिनुभएन ? त्यो त धेरै कडा छ है ।” एकै पटकमा उनले निकै कुरा सुनाए ।

बुद्धिले खुलासा गरे जस्तै मेडम कडै रहिछन् । मबाट पनि गल्ती भएकै हो, फेरि सोचें उनीभन्दा पाँच–दश वर्षले म जेठै थिएँ । उनका उमेरका थुप्रै मेरा विद्यार्थी छन् । झुक्किएर दाजुसमानका मानिसले केही भनिहाल्यो भन्ने ठानी मलाई उनले क्षमा दिएकी भए पनि त हुने । तर त्यस कुरालाई सधैं आफ्नो प्रतिष्ठाको विषय बनाइन् । लाग्यो, अर्काले लेखिदिएका किताब घोकेर डिग्री, विद्यावारिधि गर्दैमा मानिस महान् नहुने रहेछ । मानिसमा मानवता, दया, करुणा र क्षमाभाव छैन भने डिग्री र विद्यावारिधिका खोस्टाले पनि केही नलछार्ने रहेछ । त्यसैबेलादेखि मलाई लाग्यो विद्या र ज्ञान नितान्त फरक कुरा रहेछन् । शायद त्यसैले होला मेरी आमा कहिलेकाहीं भन्नुहुन्थ्यो– दूध गुन बुद्धि, कुल गुन ज्ञान ।

त्यसको केही वर्षपछि विश्वविद्यालयले उच्च मूल्याङ्कन गरेरै तिनै मेडमलाई पो क्याम्पस प्रमुख बनाइदिएछ । क्याम्पस प्रमुख भएपछि पहिले त मैले सोचें “अब मेरा त सुरु भए होलान् क्याम्पसमा दिनगन्ती ।”

आखिर म पार्ट टाइम प्राध्यापक न थिएँ, कुन दौलतको चैन गरेको थिएँ र ? मलाई निकाल्न उनले पापड बेल्न पर्दैनथ्यो, कर्कलालाई किन चाहिन्थ्यो र बन्चरो ? चिमटे भइहाल्थ्यो ।

तर मलाई कसैले क्याम्पसमा छिसिक्क छुन खोजे भने त्यहाँका सबै संघ–संगठनका विद्यार्थी पदाधिकारीदेखि आम विद्यार्थीहरू मेरा पक्षमा लागेर आगो फुक्थे । त्यसैले उनले मलाई चाहेर पनि क्याम्पसबाट निकालिहाल्न सकिनन् ।

म क्याम्पस पुगेर आफ्नो हाजिरीलाई भन्दा पढाउनमा जोड दिन्थें । पढाइसकेर फर्केपछि हाजिर गर्न खाता पल्टाउँदा त तिनै क्याम्पस प्रमुखले ढुकेर हाजिर खातामा यति लामो धर्सो दिएर गयल ठोकिदिएकी हुन्थिन् । मैले सहायक क्याम्पस प्रमुखसित त्यस विषयमा प्रश्न गर्दा “यसमा आफ्नो कुनै दोष नभएर क्याम्पस प्रमुखलाई सोध्नु सर” भन्ने जवाफ आउँथ्यो । पार्टटाइम पढाउँदा एउटा पिरियडको आखिर पैसा कति नै आउँथ्यो र, मैले त्यसको पनि उनीहरूका अगाडि गएर कहिल्यै प्रतिवाद गरिनँ । किनकि म क्याम्पसमा पैसाका लागि भन्दा पनि सोखका लागि पढाउन जान्थें । यति भन्थें, “हाजिर खातामा चिह्न लगाउने उनको भलो होस् !”

तलब लिन तीन चार महिनामा एकपल्ट म क्याम्पसको लेखा शाखामा जान्थें, अरू आंशिक प्राध्यापक सबैका चेकमा क्याम्पस प्रमुखले पहिले नै सही गरेकी हुन्थिन् तर मेरो नाममा काटिएको चेकमा उनको सही हुँदैनथ्यो । त्यो देख्दा पनि म दुःखी भइनँ । चेक लिएर उनलाई खोज्न मैले यताउति हिंड्नुपर्दथ्यो । हिंडाइले स्वास्थ्यमा अवश्य राम्रो प्रभाव पार्छ भनेर पनि उनीसित प्रतिवाद गरिनँ ।

उनलाई भेटिहालें भने पनि उनी भन्थिन्, “आफ्नै अफिसमा आएर मात्र सही गर्छु, हतार नगर्नुहोस् न सर ।” मैले उनलाई पर्खिनुपर्दथ्यो । त्यो पर्खाइ पनि मेरा लागि राम्रै फलदायी बन्यो । नयाँ–नयाँ साथीहरू भेट्थें, नयाँ–नयाँ विद्यार्थी भेटेर चिनजान बढाउने राम्रो मौका हुन्थ्यो मलाई । ती मेडमको सौजन्यमा मैले निकै राम्रा र असल मित्रहरू कमाउने मौका पाएको थिएँ ।

छिटो प्वाक्क बोल्ने र उस्तै उस्तै देख्ने बानीले पाएको दुःख–पीडा कति हो कति ? भनेर साध्य नै छैन । यहाँहरूलाई पनि मलाई जस्तो भएको छ कि ?

एकदिन क्याम्पस प्रमुख मेडमले मसित भनिन्– “सर, यो नेपाली पत्रकारिता विषय अर्को वर्षदेखि म क्याम्पसबाट हटाइदिन्छु ।”

“भइहाल्छ नि मेडम, यसै वर्षदेखि हटाइदिए पनि हुन्छ । हटाइदिए मलाई पनि टन्टै साफ हुन्छ” मैले बिस्तारै भनें ।

उनले चाहँदैमा न मलाई हटाउन सक्ने रहिछन् न विषय नै, त्यो उनको पुरानो घण्टी बजाउने कुराको ह्याङ ओभरको एक कटु अभिव्यक्ति मात्र थियो भन्ने कुरा बुझिहालें ।
क्याम्पसमा क्लास सकिएपछि पनि म कहिलेकाहीं प्राध्यापक साथीहरूसित स्टाफ रुममा बसेर गफिन्थें । एकदिन एकजना प्राध्यापक मित्रले मतिर लक्षित गर्दै भन्नुभयो– “होइन, हाम्रा सरको क्याम्पस प्रमुखसित चाहिं ठ्याक छैन जस्तो छ, के भएको हो ?”

मैले त्यही घण्टी बजाउने कुराको कथा भनिदिएँ । उनीहरूलाई पनि ती कार्यालय सहयोगी र चिफ मेडम उस्तै उस्तै लाग्ने कुरा बताए । एक जना प्राध्यापकले भने “उनले त्यसलाई प्रतिष्ठाको विषय बनाउनु आवश्यक थिएन ।”

अर्को एकदिनको कुरा स्टाफ रुममा हामी निकै जना बसेर गफ गर्दै थियौं, मैले ठट्टा गर्दै भनें, “नमस्ते मेडम !”

“नमस्ते सर, हामी नाथे पियनको जागिर खानेलाई पनि प्रोफेसर साहेबहरूले यसरी नमस्ते गर्नुपर्छ र ? म नै हजुरहरूलाई गरिहाल्छु नि नमस्ते सर ! कि सर पनि झुक्किनुभयो ?” उनले एकैसासमा निकै कुरा भनिन् ।

त्यसबेला म निकै गम्भीर बनें । मेरा मनमा अनेक कुरा आए । यो संसारमा आठ अर्ब मानिस छन्, तर प्रत्येकको अनुहार किन फरक–फरक हुन्छ ? हुन त सबैका नाक हुने ठाउँमा नाक, मुख हुने ठाउँमा मुख, आँखा हुने ठाउँमा आँखा, निधार हुने ठाउँमा निधार, कान र गाला हुने ठाउँमा तिनै तिनै चिज भए पनि ती सबै फरक फरक हुन्छन् । कसैका कस्ता, कसैका कस्ता ।

मेरो मनले सोच्यो सबै मानिसको अनुहार काटीकुटी उस्तै भइदिएको भए के हुनेथियो होला । दुरुस्त उस्तै नहुँदा त आफूले खाएको गोता बिर्सिनसक्नुको छ, सबै उस्तै, एउटै खोरमा पालेका बोइलर कुखुरा जस्ता, एउटै बट्टाबाट झिकेका चुरोटका खिली जस्ता सबै उस्तै उस्तै भएका भए के हुनेथियो होला ? लाग्यो समस्यै पर्दथ्यो, कार्यालयको हाकिम हो कि पाले दाइ हो छुट्याउन हम्मेहम्मे नै हुनेथियो । बा हुन् कि घरका सहयोगी खुट्याउन कति गाह्रो हुनेथियो होला । आमा हुन् कि घरको काम गर्ने कान्छी, कसरी खुट्याउन सकिंदो हो । फिल्म हेर्न हलमा गयो हिरो हो कि भिलेन ? अझ रमाइलो कुरा त आफ्नी पत्नी हुन् कि छिमेकीकी ! जता पनि कति समस्या पर्नेथियो होला !

मैले आफ्ना शिरको टोपी खोलेर टेबलमाथि राखें । एउटा प्रश्न राखे जस्तो लाग्यो, यसरी प्रत्येक मानिसका अनुहारको फरक फरक डिजाइन गर्ने ग्राफिक्स आर्टिस्ट चाहिं को होला ? लाग्यो, ती भगवान् नै हुन् । उनले हाम्रो कल्याणका लागि फरक–फरक अनुहार हालिदिएर मानव मात्रलाई कहिल्यै नबिर्सने ठूलो गुन लगाएका रहेछन् । तर उस्तै–उस्तै लाग्नेचाहिं नबनाइदिएको भए पनि त हुनेथियो ।

मान्छे उस्तै लागेर भएको अर्को घटना पनि एउटा बिर्सिनसक्नुको छ । एकदिनको कुरा हो । म र मेरी पत्नी सपना काठमाडौंको रणमुक्तेश्वर भन्ने ठाउँमा थियौं । सिमसिम पानी पर्दैथियो, त्यसैले दुवै जनाले रेनकोट लगाएका थियौं । म बाइकलाई सडक किनारामा रोकेर सागसब्जी किन्न गएकी आफ्नी सपनाको प्रतीक्षामा थिएँ । एकैछिन पछि उनी आएर बाइकमा बसिन्, मैले बाइक स्टार्ट गरेर चलाउन थालेंं । उनले मलाईं घ्वाप्पै अँगालो मारिन्, अनि आफ्नो शरीर नै आधाउधी मलाई बोकाइन् । सोचें “पानी परिरहेको हुनाले चिप्लिन्छ कि भनेर यसरी अँठ्याएर टाँसिएकी होलिन् ।” बाइक गुड्दै गयो, जुद्धशमशेरको सालिक घुमेर विशालबजार, न्युरोड गेट हँुदै वीरअस्पताल, रत्नपार्क काटेर रानीपोखरीको उत्तरतिर विश्वज्योति अगाडि पुगेका मात्र थियौं । मैले भनें, “होइन प्यारी, आज बिहानैदेखि पानी पनि कति परेको हो ? कहिलेसम्म पर्छ होला यो पानी ?” एक्लै हुँदा म आफ्नी सपनालाई प्यारी शब्दले सम्बोधन गर्दथें ।

मेरो बोली भुइँमा झर्न नपाउँदै पछाडिबाट अर्कै सुरिलो आवाज आयो “आम्मै अर्कै बाइक पो परेछ कि के हो ? रोक्नुहोस्, रोकिहाल्नुहोस् !”

त्यसबेला मेरो आङ नै सिरिङ्ग भयो, शरीरमा हजार भोल्टको करेन्ट लागे जस्तो भयो, जीउ एक्कासि ढक्क फुलेर आयो । मलाई के गर्नु, कसो गर्नु भयो । त्यहाँ अति भीड हुनाले बाइक रोक्न मिलेन । अलि पर लगेर मैले घ्याच्च बाइक रोकें । उनी उत्रेर मेरो बाइकका अगाडि आइन् । मैले उनलाई पाउदेखि शिरसम्म एक टकले हेरें, लामो कपाल, गोरो पहेंलो अनुहार, सुन्तलाका केस्रा जस्ता ओठ, पुष्ट छाती, बान्की परेको शरीर– सोचें निकै राम्री मान्छे रहिछन् । हुन पनि बालो राम्रो आफ्नो बाली राम्रो अर्काको भन्छन् । उनी साँच्चै राम्री लागिन्, कुनै कुशल शिल्पीले कुँदेर बनाएको स्वर्ण मूर्ति जस्ती । अर्थात् ब्रह्माजीले फुर्सदमा गरेको अमर सिर्जना जस्ती । रम्भा, तिलोत्तमा अर्थात् मेनका नै जस्ती । उनलाई हेरेर म त त्यहीं पानी पानी भएँ । पहिले त एक शब्द मेरा मुखबाट निस्केन । उनी आत्तिएर मलाई एक टकले हेरिरहेकी थिइन् ।

एकछिन पछि मेरा मुखबाट बल्ल निस्कियो, “किन चढ्नुभएको त तपाईं मेरो बाइकमा ?”

“मेरो श्रीमान् जस्तै जस्तै लागेर चढेकी, मान्छे पनि उस्तै उस्तै पो हुनुहुँदोरहेछ । उहाँले पनि यस्तै रेनकोट, यस्तै कालो हेल्मेट लगाउनुभएको, यस्तै होण्डा साइन बाइक छ । म झुक्किएर चढेंछु, माफ गर्नुहोला”, उनले कामेको स्वरमा भनिन् । मैले म्याडम र कार्यालय सहयोगी उस्तै उस्तै देखेर पाएको पीडा झलक्क सम्झिएँ ।

“आफ्नो नाम के हो नि ?” पाँडे बोलीमा सोधें ।

“अनुपमा”, जवाफ आयो ।

सोचें, “नाम पनि कति मीठो जुरेको रहेछ मान्छे जस्तै ।”

“लु बस्नुहोस् अनुपमाजी, मेरी पत्नी र तपाइँका श्रीमान् हामीलाई पर्खिएर उहीं बसिरहनुभएको होला ।” यति भनेर मैले बाइक स्टार्ट गरें, अनुपमा पछाडि मलाई छोइएला कि भने जस्तो गरेर अलग्गै बसिन् ।

“सर, हजुरको शुभनाम के हो नि ? घर कता हो ?” उनले पछाडिबाट सोधिन् ।

मैले आफ्नो नाम र घर बताएँ । यतिकैमा हामी दुवै रणमुक्तेश्वर पुग्यौं । त्यहाँ मेरी सपना र उनका रामचन्द्र हाम्रै बाटो हेरेर कुरिरहेका रहेछन् । एकछिन हँस्यौली, ठट्टा भयो । मान्छे उस्तै उस्तै लागेर अनुपमाले पनि मजैले धोका पाइन् कि आनन्द पाइन् त्यो त उनै जानुन् । मलाई भने एकछिन भए पनि रमाइलै अनुभव भयो । एउटा पृथक् खालको अनुभूति !

त्यस दिनदेखि मैले बाहिरतिर रोकेको बाइकमा मेरी सपना आएर चढिन् भने पनि सधैं एउटै प्रश्न गर्ने गरेको छु– “पछाडि बस्ने तिमी नै त हौ नि !”

“हो हो मै हुँ जाउँ, अब बारम्बार राफल चिट्ठा पर्नेवाला पनि छैन”, उनी भन्छिन् ।

मेरो निजी अनुभव छ, मानव जीवनमा न गुमाउनुपर्ने केही कुरा हुन्छ न त पछुताउनुपर्ने नै, यस जीवनमा त मात्र सिक्नुपर्ने कुरा मात्र हुँदोरहेछ । प्रत्येक चोट, हरेक घात र प्रतिघातले ज्यादै तिलस्मी पाठ सिकाएर जाँदो रहेछ ।

छिटो प्वाक्क बोल्ने र उस्तै उस्तै देख्ने बानीले पाएको दुःख–पीडा कति हो कति ? भनेर साध्य नै छैन । यहाँहरूलाई पनि मलाई जस्तो भएको छ कि ?

(लेखक गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?