+

प्रिमियर लिगमा सिटीको सहज जित, चेल्सी र आर्सनल बराबरीमा रोकिए

२०८१ पुष  २१ गते ८:०७ २०८१ पुष २१ गते ८:०७
प्रिमियर लिगमा सिटीको सहज जित, चेल्सी र आर्सनल बराबरीमा रोकिए

२१ पुस, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले सहज जित हासिल गरेको छ । सिटीले वेस्टह्‍याम युनाइटेडलाई ४-१ गोलअन्तरले हराएको हो ।

सिटीको जितमा एर्लिङ हालान्डले दुई गोल गर्दा फिल फोडेनले एक गोल गरे भने एक गोल उपहारका रूपमा पायो । वेस्टह्‍यामका निकालास फुलक्रुगले एक गोल गरे ।

खेलको १०औं मिनेटमा भ्लादिमिर कोफलबाट आत्मघाती गोल भएपछि सिटीले खेलमा अग्रता लिएको थियो । ४२औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा २-० ले अगाडि राखे ।

दोस्रो हाफको ५५औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि फोडेनले गोल गर्दै सिटीको अग्रता अझ फराकिलो बनाए । ७१औं मिनेटमा फुलक्रुगले गरेको गोल वेस्टह्‍यामका लागि सान्त्वना बन्यो ।

जितसँगै २० खेलबाट ३४ अंक जोडेको सिटी छैटौं स्थानमा छ भने पराजित वेस्टह्‍याम २३ अंकसहित १३औं स्थानमा छ ।

अग्रता जोगाउन नसक्दा चेल्सी र आर्सनल रोकिए

गएराति नै भएका अन्य खेलहरूमा चेल्सी र आर्सनल बराबरीमा रोकिएका छन् । चेल्सी क्रिस्टल प्यालेससँग तथा आर्सनल ब्राइटनसँग समान १-१ को बराबरीमा रोकिएका हुन् ।

चेल्सीले कोल पाल्मरको गोलमार्फत पहिलो हाफमा अग्रता लिएको भएपनि अन्त्यसम्म जोगाउन सकेन । प्यालेसका जित माटेटाले खेलको अन्त्यतिर गोल गर्दै टोलीको हार टारेका हुन् ।

त्यस्तै आर्सनलका युवा विङ्गर इथान स्वानेरीले पहिलो हाफमै दिलाएको अग्रता आर्सनलले अन्तिमसम्म जोगाउन सकेन । ब्राइटनका जोआओ पेड्रोले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै आर्सनललाई रोके ।

बराबरीपछि चेल्सी २० खेलमा ३६ अंकसहित चौथो स्थानमा छ भने आर्सनल २० खेलमा ४० अंकसहित दोस्रो स्थानमा छ । प्यालेस २१ अंकसहित १५औं स्थानमा तथा ब्राइटन २८ अंकसहित १०औं स्थानमा छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग चेल्सी म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय