‘नाम भन्नुहोस्’ निर्णायकमण्डलको प्रश्न ।
‘सुजन चापागाईं ।’
‘कहाँबाट आउनुभो ?’
‘यहीँ, चितवन भरतपुबाट ।’
‘हिँड्दै ?’
‘होइन, बाइकमा ।’
‘गाडी जित्न मन लाग्छ त ?’
यही प्रारम्भिक प्रश्नोत्तरपछि उनले निर्णायकलाई गीत सुनाउँछन्, ‘प्रिय तिम्रो मुहारमा हाँसो मैले….।’
धीरतापूर्वक गीत सुनिसकेपछि निर्णायक भन्छन्, ‘हतार भयो तिम्रो, कहीँ जानुछ ?’
गायन रियलिटी शो ‘नेपाल आइडल’को पहिलो संस्करणमा उनी मुस्किलले दोस्रो चरणमा प्रवेश गर्छन् । तर, परीक्षाको कारण सो चरणमा उनी सहभागी हुँदैनन् । दोस्रो संस्करणको लागि डिजिटल अडिसनबाट छनोट भएर केही चरणा पार गर्छन् । यद्यपि त्यो यात्रामा पनि ठेस लाग्छ । आखिर उनी प्रतियोगिताबाट बाहिरिन्छन् ।
त्यसको दुई वर्षपछि ।
उनै सुजन चापागाईंको स्वर र संगीत रचनामा एउटा मोहक गीत सार्वजनिक हुन्छ, ‘देखेर तिमीलाई, हेरेर तिमीलाई ।’ हर्क साउदले लेखेको र आर्टमान्डुले निर्माण गरेको यही गीतबाट उनको लोकप्रियताको ग्राफ ह्वात्तै आकासिन्छ । त्यसपछिका दिनहरुमा कुनै यस्तो गायन रियलिटी शो बाँकी रहँदैन, जहाँ यो गीत नगाइएको होस् ।
जुन प्लेटफर्ममा उनी असफल दरिए, त्यहीँ अन्य प्रतियोगीले सुजनकै गीत गाउँदै अपराजित यात्रा तय गर्छन् ।
त्यसपछि के हुन्छ ?
उनको आवाज र संगीतमा अविछिन्न गीत सार्वजनिक हुन्छ । ‘गाला पुक्क’, ‘लजाएर’, ‘घुमी घुमी’, ‘फूलथुँगे रानी’, ‘एक्लै भएनी’, ‘तिमी बिना तिमी हुनु’, ‘मखमली ।’ घतलाग्ने त के भने, यसमध्ये अधिकांश गीत युट्युबको शीर्ष ट्रेन्डिङमा पुग्छ । लाखौं–करोडौं पटक सुनिन्छ, हेरिन्छ ।
यसरी चार वर्षको अवधिमा चमत्कार गर्छन्, सुजन ।
भुईंफुट्टा गायक हुन् सुजन, जसले जन्मजात गाउने गुण बोकेर आए ।
सायद होइन । त्यसो हुँदो हो त उनले स्वर र धुनहरुसँग यतिविध्न घंर्षण गर्नुपर्ने थिएन । किनभने संगीतसँग उनको संगत र साधना पनि कम्ता छैन । सुजन सम्झन्छन्, ‘मलाई थाहा छैन तर आमाले भनेअनुसार दुई वर्षको छँदा पनि म गीत गुनगुनाउथें रे ।’
यो त ‘रे’को कुरा । तर, जब उनी हुर्किंदै गए हजुरबा र आमाको संगतमा परे । ती दुबै गीत गाइरहेका हुन्थे । खासगरी भजन मण्डलीमा उनीहरुको लगाव थियो । त्यसैमा मिसिएर सुजन भजनमा भाका हाल्थे, ढोलक र मादल बजाउथे ।
त्यही बेलादेखि हो, सुजनले शब्दहरुमा धुनहरु महसुस गर्न थालेको । कुनै हरफहरुलाई उनी दृश्यमा बदल्थे र त्यसमा मिल्दोजुल्दो धुन भर्ने यत्न गर्थे । सुजन सुनाउँछन्, ‘शब्दलाई हल्का तर अर्थपूर्ण लाग्ने संगीत कसरी दिन सकिएला त भनेर कल्पनामा डुब्थें ।’
संगीतको लौकिक दुनियाँमा शब्दहरु मधुर धुन बन्छन् । त्यो धुन प्रकृतिबाट आउनसक्छ, लोक परम्पराबाट आउन सक्छ, सुदूर स्मृतिहरुबाट आउन सक्छ । ‘त्यो हामीले छुटै आविष्कार गर्ने कुरा होइन’, सुजन भन्छन्, ‘कहीँ कतै सुनेका, अनुभूत गरेका कुराहरुबाट आउने हो ।’ बाल्यकालमा जसरी उनले भजनहरू सुन्दै हुर्किए, त्यही ध्वानी उनको स्मृतिमा संग्रहित भएर बस्यो । र, आज उनको संगीत सिर्जनामा त्यही ध्वनीको तरंग आउँछ ।
सानो छँदा उनले धेरैभन्दा धेरै भजन सुने । भजन गाए । यसले उनलाई गाइरहनका लागि अरु प्रेरित गर्थ्यो । त्यसमाथि आमा र हजुरबाको स्याबासी त छँदै थियो ।
‘आमा भान्सामा काम गरिरहेको बेला म नयाँ नयाँ धुन बनाएर सुनाइरहेको हुन्थें’, सुजन सम्झन्छन् । त्यसरी नै फुरेको थियो ‘गाला पुक्क’ भन्ने गीत र उसैगरी सुनाएका थिए आमालाई । किशोरवयमै तयार गरेको यो गीत उनले करियरको उत्कर्षमा पुगेपछि मात्र रेकर्ड गरे ।
विद्यालयका प्रारम्भिक दिनहरुमा उनी सबैको अघिल्तिर उभिएर गीत गाउने भइसकेका थिए । त्यसैले पढाइका अतिरिक्त उनी संगीतममा बढी रमाउन थाले । यस्तै अनुकुलताले गर्दा हुनसक्छ, उनले ‘भविष्यमा के बन्छस्’ भन्ने प्रश्नसँग त्यती जुध्नुपरेन । किनभने देख्ने–सुन्नेहरुले भेउ पाइसकेका थिए, ‘पछि गएर यो केटो संगीतमा लाग्नेछ ।’
बुवाआमाले यसमा छेकबार लगाउने कुरै भएन । यद्यपि हाम्रो सामाजिक परिपाटीको प्रभावबाट उनीहरु मुक्त थिएनन् । उनीहरु चाहन्थे, ‘गीत संगीतसँगै जिन्दगी चलाउन अरु केही गर्नुपर्छ ।’ ‘अरु केही’ खासगरी सरकारी जागिर ।
यही कारण सानो छँदा निजी विद्यालयमा पढेपनि एसएलसी सरकारी विद्यालयबाट दिए । संगीत रहर थियो, जागिर बाध्यता । रहर र बाध्यताको समीकरण मिलाएर जिन्दगीलाई अगाडि बढाउनुपर्ने थियो । तर, कसरी ?
*** ***
लकडाउनको बेला । शहरमा त्रासादी थियो । सर्बत्र ठप्प थियो । पढाइ थिएन, काम थिएन । दिनहरु फुर्सदिला थिए ।
विद्या तिवारीले उनलाई आर्टमान्डुमा पुर्याए र नवीन चौहानहरुसँग चिनापर्ची गराइदिए । त्यहाँ उनले ‘लजाएर’ गीतको डेमो सुनाए । आर्टमाण्डुका मित्र-मण्डली मख्ख परे ।
त्यसबेलासम्म आर्टमाण्डुका नवीन चौहान एउटा म्युजिकल भिडियो बनाउने मनासयमा थिए । कुनै प्लट सुनेर वा दृश्य हेरेरै त्यसमा शब्दहरु खेलाउन सक्ने हर्क साउद जो साथ छँदै थिए । उनले लेखिदिए, ‘देखेर तिमीलाई…।’
सुजनले यी हरफहरुमा धुन भरे । त्यसपछि स्वर पनि । गीत तयार भयो । लकडाउनकै बखत गीत सार्वजनिक गरियो ।
मान्छेहरु घरभित्रै थिए । बाहिर कोरोना सन्त्रास थियो । गीत सार्वजनिक भएपछि के–कसो होला ? यो प्रश्नले सुजनलाई वेचैन बनाइरह्यो । युट्युबमा गीतको भ्युज कति पुग्यो ? उनी गनेर बस्थे ।
यस्तै हालत थियो बुवाको पनि । उनी छोरोको गीत कति पटक हेरियो ? युट्युबमा पटक पटक हेरिरहन्थे ।
त्यसबेला सुजनलाई कस्तो लाग्यो भने, ‘बगिरहेको खेला अचानक हाम फाल्दा तैरिने हो वा डुब्ने होला’ । उनलाई छटपटी भयो । गीत रिलिजको तर्खर भइरहँदा ‘अझै केही मिलाउनुपर्छ कि’ भन्ने लागिरह्यो । उनले पटक पटक गीत सुनिरहे ।
जसै गीत सार्वजनिक भयो युट्युबमा क्रमस त्यसको संख्या बढ्दै गयो र साथसाथै उनलाई आउने फोन र म्यासेज पनि ।
‘जताततै यो गीत सुन्न, हेर्न थालियो । टिकटकमा छ्यापछ्याप्ती भयो’, सुजन सुनाउँछन्, ‘सुरुमा एक-एक भ्युज गनेर बस्ने म त्यसपछि त एकदमै उत्साहित भएँ ।’ आर्टमान्डुका साथीहरु मख्ख परे । उनको परिवारमा उत्साह छायो ।
*** ***
अनलाइनखबरसँग साक्षातकार गरिरहँदा सुजनलाई समयहरु फारु गरेर खर्चनुपर्ने अवस्था छ । किनभने यतिबेला उनी करियरको उत्कर्षमा छन् । लाक्षणिक भाषामा, ‘उनका सरस्वती दाहिना छन् ।’
संगीत संयोजन, गीत रेकर्डिङ, कन्सर्टका तालिकाले उनलाई व्यस्त बनाएकै छ । यद्यपि उनी हतारोमा छै्रनन् । आफ्नै गति र लयमा छन् । त्यसैले त उनी कहिले पाँचथरका एकलासे पाखाहरुमा डुलिहिँड्छन्, कहिले काठमाडौंका काँठ क्षेत्रहरुमा बरालिन्छन् ।
गाउँलेहरुसँग भेट्छन्, बुढापाकाहरुसँग गीत गाउँछन् । ‘त्यसो गर्दा धेरै कुरा सिक्न पाइन्छ’, सुजन भन्छन्, ‘अनन्द त छँदैछ ।’
उनलाई लाग्छ, गीतमा आत्मा हुनुपर्छ । त्यसमा कथा हुनुपर्छ । ‘मैले ल्याएका गीतहरुमा कसै न कसैका जीवनकालका कथाहरु जेडिन्छ’, सुजन भन्छन्, ‘शब्द र त्यसका पृष्टभूमि अनि संगीत र स्वर आपसमा मिल्दो भएपछि त्यसले श्रोताको हृदय स्पर्श गर्छ ।’
सुजनलाई भर्चुअल माध्याममा मात्र होइन, प्रत्यक्ष सुन्न चाहनेहरुको संख्या पनि कम्ता छैन । त्यही संख्याको घनत्व बढ्दै जाँदा उनी ठाउँ-ठाउँ पुगे कन्सर्टका लागि । अन्तर्राष्ट्रिय कन्सर्टका लागि अष्ट्रेलिया पुगे । त्यसपछि उनले विश्राम लिए । सन् २०२५ मार्चबाट भने आफ्नै सांगीतिक समूह लिएर उनी अमेरिका टूरमा जानेछन् ।
स्टेजमा पनि उनको फरक अन्दाज छ । उनले गीत सुनाइरहँदा दर्शकहरु उफ्रिने, नाच्नेभन्दा पनि मग्न भएर सुनिरहन्छन् । उनलाई थाहा छ, ‘कन्सर्टमा दर्शकहरु गीतको शब्द र लयमा बढी आनन्दाभूत गर्छन् ।’
कुराकानीको अन्त्यतिर हामी उनको व्यक्तिगत जीवन र जीवनशैलीतर्फ मोडियौं । उनले भन्नै परेन, सुजन सहज र सरल छन् । नजिकबाट चिन्नेहरुले उनलाई ‘मिजासिलो’ भन्छन् र कतिपयले ‘चाहिनेभन्दा बढी सकारात्मक ।’
दैनिकी सामान्य छ । बिहान उठ्छन्, संगीत अभ्यास गर्छन् । साथीभाइ भेटघाट, रेकर्डिङमा केही समय बित्छ । फुर्सद मिले यात्रामा निस्कन्छन् ।
प्रतिक्रिया 4