+
+

२०२४ मा सुनको लगानीले दियो २७ प्रतिशत प्रतिफल, २०२५ मा कति ?

एजेन्सी एजेन्सी
२०८१ पुष २१ गते १०:२६

२१ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताले सुनमा गरेको लगानीमा एकै वर्ष २७ प्रतिशत प्रतिफल पाएका छन् । सन् २०२४ मा सुनको मूल्य २७ प्रतिशतले बढेको छ ।

यो प्रतिफल अन्य क्षेत्रको तुलनामा ज्यादा र सन् २०१० यता वार्षिक मूल्यवृद्धि सबैभन्दा उच्च रहेको इन्भेस्टिङ डटकमले उल्लेख गरेको छ । सन् २०२३ मा १४ र २०२२ मा १२ प्रतिशत प्रतिफल सुनले दिएको थियो ।

‘सुरक्षाको हिसावले मात्रै नभई प्रतिफलका आधारमा पनि २०२४ सुनौलो वर्ष रह्यो, लगानी विविधिकरणका लागि पनि सुन जरुरत देखिन्छ’ भारतका लागि वर्ल्ड गोल्ड काउन्सिलका क्षेत्रीय सीईओ सचिन जैनले इकोनोमिक टाइम्ससँग भनेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिअनुसार नेपाली बजारमा पनि मूल्य समायोजन हुन्छ । नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशत बढेको छ ।

सन् २०२४ जनवरी १ (१६ पुस २०८०)मा सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँ थियो । ठीक एक वर्षपछि २०२५ जनवरी १ मा (पुस १७)मा यो मूल्य १ लाख ५१ हजार रुपैयाँ पुग्यो । गत शुक्रबारको मूल्य १ लाख ५३ हजार ५ सयसँग तुलना गर्ने हो भने २७ प्रतिशतले नै सुनको मूल्य बढेको छ ।

अझ गत कात्तिक १५ गतेको मूल्यलाई हेर्ने हो भने सुनको मूल्य ४१.९ प्रतिशतले बढेको थियो । सो दिन नेपाली बजारमा प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

गत बजेटमार्फत भन्सार दर १५ बाट २० प्रतिशत पुर्‍याइँदा यस्तो प्रभाव परेको थियो । तर सरकारले मंसिर ९ देखि भन्सार दर १० प्रतिशतमा झारेसँगै सोअनुसार समायोजन हुँदा मूल्य प्रतितोला करिब १६ हजार सस्तियो ।

के सन् २०२५ मा २०२४ कै जति प्रतिफल आउला ?
आर्थिक गतिविधिमा आएको सुस्तता, अन्तर्राष्ट्रिय द्वन्द्वका कारण ठूला लगानीकर्ता र विश्वका केन्द्रीय बैंकहरुले सुनमा लगानी बढाउँदा सन् २०२४ मा मूल्य पनि उच्च दरले बढेको इन्भेस्टिङ डटकमले जनाएको छ । सन् २०२५ मा सुनको मूल्यवृद्धि लय जारी रहने विज्ञहरुको अनुमान छ ।

जब अर्थतन्त्रलाई चलायमान बनाउँदै आएका क्षेत्रमा थप जोखिमको सम्भावना देखिन्छ, त्यसपछि सुनमा लगानीको आकर्षण बढ्ने गरेको छ । उत्पादनको मागमा आएको संकुचनले विश्वमै औद्योगिक क्षेत्रमा लगानी बढ्न सकेको छैन ।

यो अवस्था सन् २०२५ मा पनि रहने अनुमान छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जिम्मेवारी सम्हाल्दा सुनको मूल्य केही घट्न सक्ने अनुमान गरिए पनि त्यो छोटो अवधिमै हट्ने विज्ञहरुको भनाइ छ । अमेरिकामा घट्दो ब्याजदरले पनि सुनको मूल्यवृद्धिमा टेवा पुग्ने छ ।

ट्रम्प प्रशासन नीतिले अनिश्चितताको बढ्दो जोखिम देखिएको र यसले सुनको माग नै बढाउने अनुमान गरिएको छ । तर मूल्यवृद्धि सन् २०२४ कै हाराहारीमा नहुन सक्छ । सन् २०२५ मा १० देखि १५ प्रतिशतसम्मको प्रतिफल सुनले दिन सक्ने अनुमान गरिएको छ ।

नेपालमा भने सुनलाई लगानी क्षेत्र नै बनाइएन
लगानीकर्ता तथा कारोबारीले विश्वभरि सुन कारोबार गरेर नाफा लिइरहेका छन् । दुर्भाग्य, नेपालमा कमोडिटी बजार नै छैन । केही वर्षअघि सञ्चालनमा रहेका कमोडिटी बजार समेत बन्द गरिएको छ ।

नीतिगत व्यवस्था गरी व्यवस्थित रूपमा कमोडिटी बजार सञ्चालन गर्ने भनेर यो बन्द गरिएको हो । तर, कमोडिटी बजार सञ्चालन तथा नियमनको जिम्मेवारी पाएको धितोपत्र बोर्डले ठोस काम गर्न सकेको छैन ।

‘कमोडिटी बजार भएको भए सुनमा लगानीको अवसर हुन्थ्यो, त्यसबाट हुने नाफारघाटा लगानीकर्ताले नै बेहोर्थे, राज्यले पनि धेरैथोरै कर पाउँथ्यो,’ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्ट भन्छन्, ‘तर, यहाँ कमोडिटी बजार सञ्चालनको संयन्त्र नै बनेको छैन ।’

भित्रीरूपमा भने बाहिरका कमोडिटी बजारमा नेपालीले एजेन्टमार्फत कारोबार गरिरहेका छन् । कयौ कारोबारी छन्, जसले नेपालमै बसेर अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको मूल्य तथा सूचकमा अवैधानिक कारोबार गरिरहेका छन् ।

राज्यले कमोडिटी बजार सञ्चालन नगर्ने, ढिक्का सुन खरिदलाई अवैध मान्ने जस्ता नियन्त्रित अभ्यासले नै यस्ता अवैध कारोबार फस्टाउँदै जाने जोखिम बढेको छ ।

नेपालमा काँचो वा ढिक्का सुन खरिद गर्न पनि पाइँदैन । यदि त्यस्तो सुन खरिदबिक्री भए अवैधानिक मानिन्छ । ‘काँचो/ढिक्का सुन किनबेच गर्न वा खरिद गर्न पाइँदैन, यो अवैधानिक छ तर गहनाका रूपमा कसैले भौतिक रूपमा भने खरिद गरेर राख्न सक्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य भन्छन् ।

तर, गहना लगानीका लागि उपयुक्त हुँदैन । गहना नै खरिद गरेर राख्दा जर्ती तथा ज्याला शुल्क, सुरक्षणका लागि अनावश्यक खर्च बढ्न जान्छ । गहनाका रूपमा सुन खरिद गर्दा व्यवसायीले कुल मूल्यको थप १२ प्रतिशतसम्म ज्याला तथा जर्ती शुल्क लिने गरेका छन् ।

तर, त्यही गहना पछि बेच्दा बेचिएको दिनकै बजार मूल्य मात्रै पाइने हो । अर्थात्, मूल्य स्थिर रहे जर्ती तथा ज्यालामा लागेको थप १२ प्रतिशत रकम नोक्सानी नै बेहोर्नुपर्छ ।

अर्कातर्फ, भौतिक रूपमा गरगहना किनिसकेपछि त्यसलाई घरमै राख्नु पनि जोखिम मानिन्छ । जुनसुकै बेला चोरिने वा अन्य आपराधिक घटना समेत निम्तिन सक्ने जोखिम हुन्छ । बैंक लकरमा राख्दा थप लागत पर्ने हुँदा गहना खरिदले सर्वसाधारणलाई खर्च बढाउने जोखिम छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?