
काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’का कलाकारको लाइनअप सार्वजनिक भएको छ ।
फिल्मको शीर्ष भूमिकामा बालगायक अशोक दर्जी छन् । अशोक उनै हुन् जसको सांगीतिक करिअरमा संगीतकार बुढाथोकीले सहयोग गर्दै आएका छन् । निर्माताले सार्वजनिक गरेको लाइनअप रोचक देखिन्छ ।
फिल्ममा नीता ढुंगाना, सरोज खनाल, रमेश विश्वकर्मा, बुद्धि तामाङ, रवीन्द्र झा, एआर बुढाथोकी, शंकर श्रेष्ठ र साम्राज्ञी थापाको अभिनय हुने जनाइएको छ । थप कलाकार तय हुन बाँकी रहेको बुढाथोकीले बताए ।
फिल्मको पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको छायाकारमा सौरभ लामा हुनेछन् । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई बैंकटेस इन्टरटेनमेन्टले वितरणको जिम्मा लिएको छ ।
टंक बुढाथोकी र अशोक दर्जीले हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा सहकार्य गरेका थिए । यो गीतपछि अशोक एकाएक चर्चामा आए । उनी अहिले काठमाडौंको एक स्कुलमा कक्षा ८ मा अध्ययनरत छन् । यो फिल्ममा पनि टंकको स्वर हुनेछ ।
प्रतिक्रिया 4