+
+

लण्डनको ओटु एरिनामा गुञ्जिंदै कन्दराले थाल्यो अन्तर्राष्ट्रिय टुर (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १६:३०

काठमाडौं । लोकप्रिय लोकपप ब्याण्ड कन्दराले लण्डनको ओटु एरिनामा प्रस्तुति दिंदै अन्तर्राष्ट्रिय सांगीतिक यात्राको थालनी गरेको छ । दुई हजार ७०० भन्दा बढी दर्शक क्षमताको उक्त एरिनामा कन्दराले लोकप्रिय गीतमार्फत दर्शक झुमायो ।

कन्दरालाई सुन्न ओटु एरिना खचाखच रह्यो । विगतमा थुप्रै विश्वचर्चित कलाकार र ब्याण्डले प्रस्तुति दिएको एरिनामा नेपाली सांगीतिक समूह कन्दरा गुञ्जिएको हो । हिउँले पुरिएको लण्डनको चिसोमाझ दर्शकले ९० को दशकमा स्थापित प्रिय ब्याण्डको संगीतमा न्यानोपन महसुस गरे ।

स्वप्न सुमन र उनको ब्याण्डको प्रस्तुतिसँगै सुरु भएको कन्सर्टमा साँझ पर्दै गएपछि कन्दराले दर्शकलाई भरपुर मनोरञ्जन दियो । ब्याण्डका चर्चित गीतमा दर्शकले नाचगान गरे । दर्शकको ‘वान्स मोर’ हुटिङसँगै कन्दराका अगुवा विवेक श्रेष्ठले एकपछि अर्को हिट गीतमा मनोरञ्जन दिए ।

कन्दरालाई सुन्न अन्य युरोपेली मुलुकबाट समेत दर्शक ओटु एरिनामा पुगेका थिए । थुप्रै दर्शकले कन्दराको पहिलो विदेश कन्सर्टलाई सामाजिक सञ्जालमा लाइभ गरिरहेका थिए । विमल तिमल्सिना संस्थापक रहेको मामाघर इन्टरटेनमेन्ट बेलायतले कन्सर्ट आयोजना गरेको हो ।

कन्दरामा भोकलमा विवेकसहित ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक र किबोर्डमा उमेश थापा छन् ।

के भन्छन् लिड भोकलिस्ट विवेक ?

ब्याण्डका अगुवा गायक विवेक श्रेष्ठले कन्सर्ट अभूतपूर्वरुपमा सफल रहेको बताए । ‘जुनरुपमा नेपाली समुदाय एक हुनुभयो, यो अभूतपूर्व हो,’ उनले भने, ‘प्रत्येक गीतमा चियर्स, लगाव र माया छताछुल्ल भयो ।’

आफू बेलायतमा लामो समय बसेर त्यहाँको समुदायलाई छिद्र-छिद्र रुपमा केलाएको अनुभव साट्दै उनले ओटु एरिनाजस्तो सपनाको थलोमा यसरी प्रस्तुति दिन पाउँदा खुसी लागेको बताए ।

‘ओटु एरिनामा दिग्ग्ज कलाकारले प्रस्तुति दिएको देख्थ्यौं हामीले । हाम्रो आफ्नै नेपाली कलाकारले प्रस्तुति दिएर आफूहरुको सपना पूरा गरेकोमा दर्शकले आयोजक र कन्दरालाई धन्यवाद दिनुभयो,’ विवेकले भने ।

नेपाली संगीतले अन्तर्राष्ट्रिय बजारलाई हाँक्न सक्ने महसुस आफूले लण्डन कन्सर्टमा देखेको उनले बताए । ‘मैले यसअघि २००१ मा लण्डनमा प्रस्तुति दिंदा २००-३०० दर्शक आउनुहुन्थ्यो । ओटुमा भएको कन्सर्टले नेपाली संगीतको इभोलुसन देखिएको छ । हेर्ने र सुन्ने परिवर्तन स्पष्ट देखियो,’ उनले भने ।

‘म अत्यन्तै हर्षित छु । मेरो जीवनकै यो महत्वपूर्ण सांगीतिक उपलब्धि हो भन्ने लागेको छ,’ उनले अगाडि भने, ‘म आफैं बेलायतमा बस्दाको भोगाइ र ३२ वर्षको इतिहासलाई केलाउँदा यो तहको साथले अघि बढ्न प्रेरणा र माया दिन्छ ।’

यस्तो छ विश्व भ्रमणको तालिका

कन्दराले ३२ वर्षे साङ्गीतिक यात्राको उत्सव वर्षको रूपमा सन् २०२४–०२५ लाई ‘पहिला घरदेश अनि परदेश’को नारा दिएर देशभर र विश्व भ्रमणको तालिका सार्वजनिक गरिसकेको छ ।

जुनमा दुबई, कतार र हङकङमा प्रस्तुति दिने तय भएको छ । मार्च–अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र जुलाई-अगस्टमा युरोपका विभिन्न देशपछि अगस्ट-सेप्टेम्बरमा जापानमा टुर हुने जनाइएको छ ।

नेपाली मेलो–लोकपपसँग ३२ वर्षे उमेर पूरा गरेको ब्याण्डले नेपाली युवामाझ पप र आधुनिक संगीतको फ्युजन गर्दै साङ्गीतिक विरासतलाई निरन्तरता दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?