+
+

टीआरसीलाई एमालेले दाउपेचको विषय बनायो : प्रचण्ड

एमालेले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई गठबन्धन सरकारको ६ महिनाको प्रमुख आठ कामको सूचीमा समेटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते १६:५३

२१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिक दाउपेचको विषय बनाएको आरोप लगाएका छन् ।

माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संक्रमणकालीन न्यायको कामलाई एमालेले राजनीतिक दाउपेचको विषय बनाउँदा आयोग गठनमा ढिलाइ भइरहेको बताएका हुन् ।

‘एमाले सरकारमा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्कै कुरा गर्दै आएको छ’ प्रचण्डले भने, ‘हामीसँग सहकार्यमा हुँदा अलि नरम र सहकार्य टुटेपछि धेरै गरम हुँदा टीआरसी अगाडि बढाउन पूरै ढिलासुस्ती भएको छ ।’

नेकपा एमालेले भने संक्रमणकालीन न्यायसम्बन्धी कामलाई गठबन्धन सरकारको ६ महिनाको प्रमुख आठ कामको सूचीमा समेटेको छ ।

‘लामो समयदेखि उपेक्षामा परेको र राजनीतिक दाउपेचको विषय बनेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई संसद्बाट सर्वसम्मत रूपमा पारित गरिएको छ । यसले ऐनको रूप लिइसकेको छ,’ राजधानीमै आइतबारबाट सुरु भएको एमाले केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन् ।

‘पीडितलाई न्याय र पीडकलाई सजाय दिँदै शान्ति प्रक्रियाको यो अन्तिम कामलाई टुंगोमा पुर्‍याउन यो महत्वपूर्ण उपलब्धी हो । आयोग गठनमा केही ढिलाइ भएको छ । यसले केही अन्यौल पनि सिर्जना गरेको छ,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘ऐनको भावनाअनुरूप छिट्टै दुई आयोग गठन होऊन् र लामो समयदेखि न्याय र परिपूरणको पर्खाइमा रहेका पीडितहरूको घाउमा मल्हम लगाउँदै समाजमा दिगो मेलमिलाप, दण्डहीनताको अन्त्य र दिगो शान्तिको आधार तयार गरियोस् भन्ने चाहना एमालेको रहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?