+

नवौं झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने, ‘वाक एण्ड टक’ पनि हुने

२०८१ पुष  २१ गते १७:४५ २०८१ पुष २१ गते १७:४५
नवौं झिल्टुङ्ग क्रस कन्ट्री दौड माघ ५ गते हुने, ‘वाक एण्ड टक’ पनि हुने

२१ पुस, काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा-५ को आयोजनामा नवौँ झिल्टुङ क्रस कन्ट्री दौड माघ पहिलो साता हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेन गर्दै नवौं संस्करण आगामी माघ ५ गते बेलकोटगढीको कोल्पुटारमा आयोजना  गते हुने जानकारी गराएको हो ।

एथलेटिक्स परिवार नेपालको संयोजन एवं प्राविधिक सहयोगमा  हुने  दौड प्रतियोगिता प्रतियोगितामा ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक वडाका अध्यक्ष मदन भुजेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

मुख्य दौडको दूरी १३.५ किमी रहेको छ । जसमा ४.५ किमी उकालो, २ किमी सम्म र ७ किमी ओरालो रहेको दौडका परिकल्पनाकार मोहन नेपालले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ सात इभेन्ट तथा महिलातर्फ चार इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ १३.५ किमि खुल्ला, १३.५ किमि खुल्ला स्थानिय, ४.५ किमि खुल्ला जुनियर १६ वर्षमूनि, ४.५ किमि स्थानिय १६ वर्षमूनि, ४.५ किमि स्थानीय ४५ वर्ष माथि, भेट्रान खुल्ला १३.५ किमि ४५ वर्ष माथि र स्थानिय वृद्ध पुरुष महिला वाक एण्ड टक हुनेछ ।

त्यसैगरी महिलातर्फ १३.५ किमि खुल्ला, ४.५ किमि खुल्ला जुनियर १६ वर्ष मुनि, ४.५ किमि स्थानिय १६ वर्ष मुनि र स्थानिय आमा ४.५ किमि दौड हुनेछ । ‘वाक एन्ड टक’ मा बाहेक सबैमा नगद पुरस्कार राखिएको छ ।

मुख्य विधाको विजेता महिला/पुरुषले नगद २० हजार पाउनेछन् भने आमा समूहको विजेताले १६ हजार पाउनेछन् । यस्तै १३.५ किमी स्थानिय तर्फको विजेताले १३ हजार ३३४ प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा दौडका परिकल्पनाकार मोहन नेपालले यो साहसिक दौड भएको भन्दै नवौँ संस्करणसम्म आइपुग्दा यसले समाजलाई जोड्ने काम गरेको र दौडलाई घरघरसम्म पुर्‍याएको बताए । ‘यो दौडले के होला त भनेर अझै पनि प्रश्न आइरहेको छ । तर आमा समूह घरबाट बाहिर आएर कति चुनौती पार गरेर दौडनु भनेको परिवार दौडनु हो । बा, हजुरबाहरु समेत दौडनुहुन्छ । यसपटक वाक एण्ड टक विधा पनि छ’ उनले भने ।

यस्तै नेपालले झिल्टुङ क्रस कन्ट्रीमा उकालो ओरालो गरी १३.५ किमी दौडमा ४ किमी त उकालो नै रहेकोले यो चानचुने नभएको बताए । ‘कुनै पनि धावकलाई ४ किमी उकालो दौडन सहज हुँदैन । यसले खेलाडीले दौडने मौका दिएको छ र ट्रेनिङको रुपमा पनि रहेको छ । झिल्टुङ दौडेका धावकले अन्य दौडमा राम्रो गरेको उदाहरण समेत छ । त्यसैले यो ट्रेनिङ जस्तो पनि भयो’ उनले भने ।

२०७३ साल चैतमा भएको पहिलो संस्करणकी विजेता तथा हाल ओलम्पियन बनिसकेकी सन्तोषी श्रेष्ठले आफ्नो करियरमा झिल्टुङ दौड कोशेढुंगा भएको भन्दै यसले आत्मविश्वास बढाएको र आफुलाई कलेजदेखि सबैतिर धावक भनेर चिनाएको बताइन् । उनले त्यो दौड जितेपछि त्यहाँको माहोलले थप ऊर्जा दिएको र पुरस्कार राशी थोरै भएपनि यस्तै सानो गेमबाट पछि गएर ठूलो खेलाडीको रूपमा उदय हुने विश्वास व्यक्त गरिन् ।

दौडका लागि नाम दर्ता गर्ने अन्तिम मिति माघ ३ गते बिहिबार दिनको १ बजे सम्म रहेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिए ।त्रिपुरेश्वरस्थित एथलेटिक्स परिवार नेपाल र बेलकोटगढी नगरपालिका वडा नं. ५ कार्यालय र टेकु रोडस्थित होटल जनकमा खेलाडीले नाम दर्ता गर्न सक्नेछन् ।

यसैगरी सहभागी खेलाडीहरुलाई त्रिपुरेश्वरबाट प्रतियोगिता स्थल सम्म जाने र आउने सवारी साधनको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

क्रस कन्ट्री दौड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय