+
+

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : प्रहरीले सिफारिस गरेका ५ जनालाई सरकारी वकिल कार्यालयबाट ‘उन्मुक्ति’

उन्मुक्ति पाउनेहरूमा माया राई, सुजल श्रेष्ठ, मीरा बम्जन, यामकुमार नाल्बो र पुनमकुमार चालिसे छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २१ गते २१:२३

२१ पुस, काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनबारेमा मुद्दा चलाउन सिफारिस गरिएका मध्ये पाँच जनालाई ‘उन्मुक्ति’ दिएर मुद्दा दायर भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लगाएर गरेको अनुसन्धानमा ४४ जनालाई मुद्दा चलाउनु पर्ने राय दिएको थियो । अनुसन्धानका क्रममा अदालतबाट प्रहरीले ४४ जनाविरुद्ध पक्राउ पुर्जी समेत लिएको थियो ।

तर, ती मध्ये ३९ जनालाई मात्रै प्रतिवादी बनाउँदै सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ ।

प्रहरीले गरेको सिफारिस अनुसार उन्मुक्ति पाउनेहरूमा माया राई, सुजल श्रेष्ठ, मीरा बम्जन, यामकुमार नाल्बो र पुनमकुमार चालिसे छन् । उनीहरूलाई उन्मुक्ति दिएर ३९ जनाविरुद्ध १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ बिगो मागदाबी गरिएको छ । उनीहरूले ६९० बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।

यता सरकारी वकिल कार्यालयले भने पाँच जनालाई उन्मुक्ति नदिएको दाबी गरेको छ । सरकारी वकिल कार्यालयका काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेले उनीहरूको वतन नखुलेकाले तत्काललाई प्रतिवादी नबनाइएको बताए ।

‘प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख भएका पाँच जनाविरुद्ध पूरा ठेगाना नखुलेकाले अहिले मुद्दा दायर नभएको हो । यद्यपि उहाँहरूको हकमा अनुसन्धान जारी नै छ । पछि वतन खुलेपछि उहाँविरुद्ध मुद्दा दायर हुन्छ,’ काफ्लेले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?