
२१ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रले स्कुलिङ र विचार मिल्ने पार्टी र समूहहरूसँग एकता गर्न उच्च स्तरीय एकता संवाद समिति बनाउने भएको छ ।
काठमाडौंमा आइतबार सुरु भएको केन्द्रीय समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टी अध्यक्ष प्रचण्डले एकता संवाद समिति बनाउने प्रस्ताव गरेका हुन् ।
‘अध्यक्षले विप्लवसँगको एकतालाई अलि धेरै प्राथमिकता दिनुभएको छ र खासगरी स्कुलिङ र विचार मिल्ने पार्टी र समूहसँग एकता गर्न एक उच्च स्तरीय एकता संवाद समिति बनाउने प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले भने ।
विगतमा स्कुलिङ नमिल्ने पार्टीसँग पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम नआएको र पार्टी जीवन सहज नभएको प्रचण्डको निष्कर्ष छ । ‘स्कुलिङ र विचार मिल्ने र जनयुद्धमा भाग लिएका वा जनयुद्धप्रति सकारात्मक दृष्टिकोण राख्नेसँग पार्टीहरूसँग प्राथमिकतापूर्वक एकता अगाडि बढाउने प्रस्ताव उहाँले गर्नुभएकव छ’ ती नेताले भने, ‘विप्लवसँगै नेपाल समाजवादी पार्टी र नेकपा बहुमतसँगको एकतालाई बढी प्राथमिकता दिनुभएको देखिन्छ ।’
सुरुमा विचार र पृष्ठभूमि मिल्नेसँग प्राथमिकताका साथ एकता प्रक्रिया अगाडि बढाउनुका साथै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग पनि एकताको पहल गर्ने प्रस्ताव प्रचण्डले राखेका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तिकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमा आएको छ ।
‘वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भन्ने आएको छ’ सापकोटाले भनेका छन्, ‘यस अन्तर्गत नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीसँग एकताको लागि पहल गर्ने कुरा भएको छ ।’
बैठकमा आइतबार भौगोलिक र गैरभौगोलिक गरी १२ प्रदेश संरचनाका अध्यक्ष वा प्रतिनिधिले संगठनात्मक रिपोर्टिङ गरेका छन् ।
प्रतिक्रिया 4