
२१ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्दाको खुसी राजनीतिक प्रतिवेदनमा समेटेका छन् ।
नेताहरूका अनुसार केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले एमालेले सरकारको नेतृत्व गर्ने अवसर पाउनु आफैंमा जित भएको निष्कर्ष प्रस्तुत गरेका छन् । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री ओलीको त्यस्तो बोलीलाई प्रेसनोटमै उल्लेख गरेका छन् ।
‘नेकपा (एमाले)लाई सिध्यायौं, कहिल्यै सरकारमा फर्कदैन भन्ने राष्ट्रिय/अन्तर्राष्ट्रिय शक्तिहरूलाई पराजित गरेर अहिले पार्टी सबल राष्ट्रिय शक्ति शक्तिका रूपमा स्थापित भई सरकारमा रहेको बताउँदै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले भन्नुभयो– एमालेलाई २०८४ को निर्वाचनमा निर्णायक शक्ति बनाउने ठूलो अभिभारा पार्टीका सबै नेताहरूले बुझ्नुपर्छ,’ गौतमको वक्तव्यमा भनिएको छ ।
अध्यक्ष ओलीले यो प्रशंग आफ्नो राजनीतिक प्रतिवेदनमा पनि लेखेका छन् । ‘… विगत तीन वर्षदेखि हाम्रो पार्टीका विरुद्ध निर्माण गरिएको घेराबन्दी, भ्रम प्रचार र ‘अब यो पार्टी कहिल्यै सरकारको नेतृत्वमा पुग्न सक्दैन’ भनेर निर्माण गरिएको नकारात्मक भाष्यलाई त खण्डित गरेको छ नै’ ओलीले आफ्नो प्रतिवेदनमा लेखेका छन्, ‘यसले नेकपा (एमाले)लाई राष्ट्रिय राजनीतिको केन्द्रमा पुनस्र्थापित गर्ने काम पनि गरेको छ ।’
अर्थात्, ओलीले एमाले नेताहरूलाई प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि उत्पन्न राजनीतिक परिवेश सम्झाएका छन् । ५ पुस २०७७ र ७ जेठ २०७८ मा ओलीले प्रधानमन्त्रीको हैसियतमा प्रतिनिधिसभा विघटन गरेका थिए ।
ओलीको निर्णयपछि तत्कालीन नेकपा विभिन्न टुक्रामा विभाजित भएको थियो । पार्टी फुटेर अलग भएका प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित कम्युनिष्ट र कतिपय गैरकम्युनिष्ट नेताहरूले अब ओली फेरि सत्तामा नफर्कने दाबी गरेका थिए । त्यही दाबी सम्झेर ओलीले आफू नेतृत्वको सत्ताको व्याख्या गरेका हुन् ।
प्रतिक्रिया 4