
२१ पुस, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्व उपाध्यक्ष भीम रावललाई पार्टीबाट निष्कासन गर्ने निर्णय पुनर्विचार गर्न माग गरिएको छ ।
केन्द्रीयद्वय झपट रावल र प्रकाशबहादुर शाहले भीम रावलमाथि गरिएको कारबाहीमा पुनर्विचार गर्न माग गरेका हुन् । ‘कांग्रेसमा सभापतिसँग चुनाव हार्नेले राष्ट्रपति पाएका छन्, कोही मन्त्री छन् । हाम्रो यस्तो नगरौं भन्ने उहाँहरू दुवै जनाको माग थियो’, बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार भीम रावलमाथि गरिएको निर्णय पुनर्विचार नगर्दा पार्टीलाई क्षति हुने तर्क रावल र शाहले गरेका थिए । ‘यो निर्णय नसच्याउँदा पार्टीलाई क्षति हुन्छ । अझै पनि समय छ, पुनर्विचार गरौं’, उनीहरूको माग थियो ।
गत १० पुसमा बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाट समेत निष्कासन गर्ने निर्णय गरेको थियो । त्यो निर्णयपछि रावल आफ्नै पार्टी बनाउन कस्सिएका छन् । तर रावल निकट मानिने नेताहरू झपट रावल र प्रकाशबहादुर शाहले कारबाही पुनर्विचार गर्न एमाले बैठकमा माग गरेका हुन् ।
आइतबार सुरु भएको एमाले केन्द्रीय कमिटीमा पहिलो दिन २७ जनाले बोलेका छन् । नेताहरूले पार्टी अनुशासन, नेतृत्वको रक्षा, जनतासँगको सम्बन्ध सुधार लगायतमा बोलेका थिए । हरेक केन्द्रीय सदस्यलाई बोल्न ३ मिनेटको समय दिइएको छ ।
प्रतिक्रिया 4