२२ पुस, काठमाडौं । मुलुककै एकमात्र संघीय बाल अस्पताल कान्ति बाल अस्पताल ६३ वर्षमा प्रवेश गरेको छ । अस्पतालका निर्देशक डा. पंकज रायले वार्षिक समीक्षा प्रतिवेदनमा सार्वजनिक गर्दै विभिन्न १० वटा समस्याहरू औंल्याएका छन् । जसमा पहिलो समस्याका रुपमा जनशक्ति र भौतिक पूर्वाधारको अपुगलाई देखाइएको छ ।
उनका अनुसार अस्पतालले अहिले भौतिक पूर्वाधार अपुगदेखि, जनशक्ति र बजेट अभावसम्मका समस्या भोगिरहेको छ ।
‘बढ्दो बिरामीको चापलाई थेग्न विद्यमान भौतिक संरचनाको अभाव, जनशक्ति अन्यत्र जाने र जनशक्ति अपुग भएको,’ प्रतिवेदनको पहिलो समस्यामा छ ।
यसैगरी, शल्यक्रिया कक्ष विस्तार गर्न नसकेकाले पालो कुर्नुपर्ने समस्या रहेको, आईसीयू कक्षमा बिरामी चाप भएकाले अन्यत्र पठाउनु परेको, अस्पतालका विकास कार्य गर्न बजेट अभाव हुने गरेको लगायतका समस्या औंल्याएका छन् ।
रुस सरकारले ०१९ सालमा स्थापना र सञ्चालन गरेर ०२६ मा नेपाल सरकारलाई सुम्पिएको कान्ति बाल अस्पतालको विगत उज्वल थियो ।
उसबेला राजा, रैती सबैले आफ्ना बालबालिकालाई उपचार गर्न कान्ति लैजान्थे । कान्तिको सेवाको वाहवाही थियो । समयक्रममा काठमाडौंमा अन्य बाल उपचार केन्द्रहरू बढ्दै गएसँगै कान्तिको दुर्दशा सुरु भयो ।
कान्तिको दुर्दशाको मुख्य कारण सरकारी बेवास्ता नै हो ।
कान्तिमा अहिले बिरामीको चाप र जनशक्तिबीच ठूलो खाडल छ । ध्वस्त संरचना र थोत्रिन लागेका उपकरणहरू यो अस्पतालको विशेषता बन्न पुगेको छ । राजनीतिक भागबण्डाबाट आएका कर्मचारीहरूको प्रशासनिक काम कमजोर छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार एकजना चिकित्सकले एक घण्टामा बढीमा चार जना बिरामी हेर्नुपर्छ । तर, कान्तिका चिकित्सकहरू घण्टामा २५ देखि ३० जनासम्म बिरामी जाँच्न बाध्य छन् ।
बाल अस्पतालमा एक वर्षमा २ लाखभन्दा बढी बिरामीले सेवा लिएका छन् । सोमबार कान्तिका ६३ औं वार्षिकोत्सव अवसरका निर्देशक डा. रायले गत आर्थिक वर्ष २०८०/०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिए ।
अस्पतालमा ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिएका छन् । यसैगरी, भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना, हस्पिटल डेज ७२ हजार ८९ जनाले सेवा लिएका छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ ।
जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । यस्तै, १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले डाइग्नोष्टिक सेवाअन्तर्गत ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्सरे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ इइजी सेवा लिएका छन् ।
अस्पतालले आर्थिक वर्षभरमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपैयाँको निःशुल्क सेवा दिएको डा. रायले जानकारी दिए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अघिल्लो वर्ष झन्डै ८०/८१ करोड बजेट कान्ति बाल अस्पतालको लागि छुट्याइए पनि एआईए हुन नसकेर प्रक्रिया अगाडि नबढेको बताए । ‘अब छिट्टै काम अघि बढ्छ,’ उनले भने ।
उनले सातै प्रदेशमा बाल उपचारलाई विस्तार गर्ने नेतृत्वदायी भूमिका गर्ने संस्थाको रूपमा कान्ति अस्पताललाई विकास गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4