+
+

एमाले बैठक : नेतृत्वविरूद्ध घेराबन्दी र पार्टीभित्र गुटबन्दी छ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते १९:५५

२२ पुस, काठमाडौं । केन्द्रीय मुख्यालय च्यासलमा आइतबारदेखि जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक एक दिन लम्बिएको छ ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भोलि, मंगलबार बैठक सकिनेछ । ‘बाँकी रहेको पोलिटब्यूरो र स्थायी कमिटीका नेताहरूले कुरा राख्ने र त्यसको जवाफ अध्यक्षले दिएपछि भोलि बैठक सकिन्छ’, गौतमले भने ।

उनका अनुसार आजसम्म बोल्ने अधिकांश नेताहरूको साझा मत छ ।

‘पार्टी अध्यक्षको राजनीतिक प्रतिवेदनमा गरिएको विश्लेषणलाई सबैले सकारात्मक नै मानेका छन्,’ गौतमले भने, ‘त्यसैले प्रतिवेदनमाथिको टिप्पणी भनेपनि नेताहरूको चिन्ता अरू नै छन् ।’

पार्टीभित्र गुटबन्दी मौलाएको चिन्ता अधिकांश नेताहरूले गरेको उनले बताए । ‘गुटबन्दीको विषाक्त बिरुवा हुर्काउने काम माथिकै नेताहरुबाट भएको निष्कर्ष धेरैले गर्नु भएको छ’, उनले भने ।

गुटबन्दी गर्नेहरूलाई शीर्ष नेताहरूले संरक्षण गर्ने काम गरिरहेको चिन्ता गरेका छन् । ‘स्थानीय चुनाव हुन्छ, प्रदेश र प्रतिनिधि सभाको चुनाव हुन्छ । तलका नेताहरु चुनावमा टिकट पाउने आशमा गुटबन्दीमा लाग्ने गर्छन्’ बैठकमा सहभागी अर्का एक नताले भने, ‘त्यस्तो गुटबन्दीलाई जोगाउने काम गर्नु भएन ।’

यद्यपि नेताहरूले गुटबन्दी हुर्काउने शीर्ष नेताहरुको नाम भने लिएका छैनन् । ‘बोल्नलाई जम्मा तीन मिनेट पाइन्छ । त्यसमा धेरै कुरा राख्नै सकिँदैन, खाली गुटबन्दी रोक्नुपर्छ भन्ने छ’, उनी भन्छन् ।

बोल्न समय लिएकामध्ये धेरैले अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनको प्रशंसामा समय खर्चिएका छन् । ‘बैठकमा पेश भएको प्रतिवेदनलाई प्रशिक्षणकै सामग्री बनाउनुपर्छ भन्ने धेरैले सुझाव दिनुभएको छ । फरक टिप्पणी छैन’, केन्द्रीय सदस्य निरज आचार्यले भने ।

कतिपयले भने पार्टी नेतृत्वविरुद्ध घेराबन्दी रहेको तर्क गरेका छन् ।

राजनीतिक प्रतिवेदनमा पेश भएको र शीर्ष नेताहरूले सार्वजनिक रुपमा भन्दै आएको घेराबन्दी रहेको तर्क बैठकमा नेताहरूले पनि राखेका छन् ।

‘घेराबन्दी छ, त्यसलाई तोड्न एकताबद्ध हुनुपर्छ भन्ने कुरा नेताहरुले राख्नुभएको छ’, गौतमले भने । नेतृत्वविरुद्ध भएको घेराबन्दी तोड्न र मिसन ०८४ सफल पार्न पनि नेताहरू गाउँ जानुपर्ने मत बैठकमा उठेको छ ।

‘जिम्मेवारी गाउँको लिने अनि शहरमा बस्ने प्रवृत्ति बढ्यो । जनताको समस्या बुझ्न, पार्टीलाई जनतासँगै जोड्न र हाम्रो लक्ष्य पूरा गर्न गाउँ जानुपर्छ भन्ने अभिमत धेरै छ’, प्रचार प्रमुख गौतमले भने ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आजसम्म ९८ जनाले कुरा राखेका छन् । पहिलो दिन आइतबार २७ जनाले बोलेका थिए । बाँकी २२ जनाले बोल्न नाम टिपाएका छन् । उनीहरूले कुरा राखेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । त्यसपछि अनुशासन आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद र लेखा आयोगको प्रतिवेदन पाारित गर्दै भोलि एमाले बैठक सक्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?