+
+

गौरको बानेश्वरनाथ मन्दिर उत्खनन गर्दा भेटियो बुद्धकालीन अवशेष

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते २०:२९

२२ पुस, जनकपुरधाम । रौतहटको गौरमा बुद्धकालीन अवशेषहरू फेला परेका छन् ।

प्राचीन बानेश्वरनाथ मन्दिर भनिएको स्थानमा उत्खनन गर्दा बुद्धकालीन अवशेषहरू फेला परेको पुरातत्वविद् देवेन्द्रनाथ तिवारीले जानकारी दिए ।

गौर नगरपालिका-२ मा रहेको उक्त मन्दिर क्षेत्रमा नगरपालिकाको पहलमा पुरातत्व विभागको टोलीले १२ दिनदेखि उत्खनन गरिरहेको छ ।

उत्खननको क्रममा सोमबार देशमा अहिलेसम्म नपाइएको औंलाको छाप भएको इँटा भेटिएको तिवारीले जानकारी दिए ।

‘मैले धेरै ठाउँमा उत्खनन गरेको छु । धेरै अवशेषहरू भेटिएका छन् । तर, यहाँ पाइएको औंलाको छाप भएको इँटा पहिलो पटक भेटिएको हो । त्यस्ता इँटाहरू अनुमानित १५/२० प्रतिशत भेटिने गरिएको छ,’ पुरातत्वविद् तिवारीले अनलाइनखबरसँग भने ।

उत्खननको क्रममा दुईवटा बुद्धकालीन इँटा, बुट्टा काटेको इँटाहरू पनि भेटिएको उनले बताए ।

उत्खननको क्रममा भेटिएका इँटाहरू सिम्रोनगढ दरबार तथा छेउछाउ भेटिएका इँटा जस्तै रहेकोले यो अवशेष धेरै पुरानो भएको उनले बताए ।

झन्डै एक महिना अघि बाराको सिम्रौनगढ नगरपालिका-४ हरिहरपुर स्थित बलकिया माई मन्दिरको उत्खनन क्रममा भेटिएका इँटाको आकार जस्तै इँटा यहाँ पनि फेला परेको उनले बताए  ।

बानेश्वरनाथ मन्दिर छेउमा चार ठाउँमा उत्खनन भइरहेको छ । त्यस क्रममा केही प्राचीनकालीन माटोको भाँडो कुरुवाको टुक्रा, बच्चाले खेल्ने घोडाको टुक्राको अवशेष पाइएको तिवारीले बताए ।

‘चार ठाउँमा उत्खनन गर्दा भेटिएको इँटासहितको अवशेषको प्रमाणको आधारमा भन्न सक्छौं यो सयौं वर्षअघि यो समृद्ध पर्यटकीय स्थल थियो,’ उनले भने ।

‘मैले चुनावताका नै यो मन्दिरलाई उत्खनन गराएर पुरातात्विक संरचना संरक्षण गर्ने उद्देश्य थियो । सोही उद्देश्य अनुसार समन्वय गरेर पुरातत्व विभागको टोली आएर उत्खननको काम अघि बढिरहेको छ’ गौर नगरपालिकाका मेयर शम्भु साहले भने ।

उत्खनन भइ प्राप्त भएको संरचना संरक्षण गर्दै यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न स्थानीयको चाहना अनुसार अघि बढ्ने मेयर साहको भनाइ छ ।

पुरातत्वविद् तिवारी नेतृत्वमा आएको तीन सदस्य टोलीले अझै आठ दिन उत्खनन गरेर १५ दिनभित्र नगरपालिकालाई प्रतिवेदन पेस गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?