
२२ पुस, झापा । घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो । एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय, झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय, झापाले अदालतमा मुलुकी अपराध संहिताअन्तरगतको जबरजस्ती करणीसम्बन्धी कसुर र बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो ।
अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय, झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनले भनिन्, ‘त्यही अनुसार स्वास्थ्य उपचारका लागि उहाँलाई बी एन्ड सी अस्पताल पठाइएको छ ।’
पक्राउ परेदेखि पूर्वमेयर शिवाकोटी अस्पतालमा छन् ।
पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सीमा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।
त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन् ।
कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो ।
बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रुपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो ।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया 4