+
+

मुस्ताङको सौन्दर्य झल्काउने फोटो प्रदर्शनी सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २२ गते २०:२५

काठमाडौं । यस्तो लाग्छ हिमालपारिको जिल्ला मुस्ताङको पठार क्यानभासमा पोतिएका कुनै तैलीय चित्र हुन् । त्यहाँको सदियौं पुरानो समृद्ध परम्परा अहिले पनि विश्वका लागि लोभलाग्दो छ ।

पछिल्लो २० वर्षमा मुस्ताङको हिमाली भूगोल विकास र जलवायु परिवर्तनको दोहोरो चपेटामा पर्‍यो । तरपनि, यहाँको हिमाली सौन्दर्य धेरैका लागि आजपनि उत्तिकै चाखलाग्दो विषय बनिरहेको छ । यिनै आयामलाई चर्चित फोटोग्राफर किशोर कायस्थले लेन्समा कैद गरेका छन् ।

कायस्थले सन् २००४ देखि सन् २०२४ सम्म खिचेका आकर्षक र मनोहर मुस्ताङका पानोरमा तस्वीरको प्रदर्शनी राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा सोमबारदेखि सुरु भएको छ । कायस्थले खिचेका ३० तस्वीर र अमेरिकी राजदूतावासको राजदूत कोषमार्फत जिर्णोद्वार गरिएका गुम्बासहितका सांस्कृतिक सम्पदाका फोटो पनि प्रदर्शनमा राखिएको छ ।

अमेरिकी दूतावासका डेप्युटी चिफ अफ मिसन जेसन पी. मिक्सले प्रदर्शनीको शुभारम्भ गरे । बौद्ध लामाहरूले मन्त्रोच्चारण र प्रार्थना गरेसँगै प्रदर्शनी सुरु भयो । अमेरिकन हिमालय फाउण्डेसनमार्फत संयुक्त राज्य अमेरिकाले दशकदेखि मुस्ताङमा सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आएको जेसनले उल्लेख गरे ।

मुस्ताङका सांस्कृतिक संरक्षणका लागि अमेरिकी राजदूत कोष (एएफसीपी) परियोजनाअन्तर्गतका सांस्कृतिक सम्पदा पुनस्र्थापनाका १५ फोटो पनि राखिएको छ । दूतावासका अनुसार नेपालमा २८ सांस्कृतिक सम्पदा पुनस्र्थापना परियोजनामा अमेरिकाले अहिलेसम्म ४.५४ मिलियन डलर सहयोग गरेको छ ।

फोटोग्राफर कायस्थले मुस्ताङमा आफूले देखेको र भोगेको दृश्य र संवेदनालाई फोटोमा उतारेको बताए । उनले मुस्ताङ भगवान बस्ने थलो रहेको बताउँदै प्राकृतिक सौन्दर्यमा धनी ठाउँलाई फोटोमा उतार्न पाउँदा आफूलाई खुसी लागेको बताए । कायस्थले लामो समयदेखि स्वतन्त्ररुपमा फोटोग्राफी पेशा अँगाल्दै आएका छन् ।

उनको फोटो प्रदर्शनी हेर्न मुस्ताङका स्थानीय बासिन्दा पनि आर्ट काउन्सिलमा उपस्थित थिए ।

गेहेन्द्र धिमाल फाउण्डेसनले अमेरिकी दूतावाससँग मिलेर फोटो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीको नाम ‘मुस्ताङ नोस्टाल्जिया ः अ टु डिकेड ओडिसी’ राखिएको छ । फाउण्डेसनका अध्यक्ष गौतम धिमालले जलवायु परिवर्तन र सांस्कृतिक संरक्षण सम्बन्धी चेतना अभिवृद्धि गर्न प्रदर्शनीको व्यापक महत्व रहेको बताए ।

फाउण्डेसनका सचिव सविन बस्नेतले सहरीकरण र जलवायु परिवर्तनले कसरी मुस्ताङको सौन्दर्यलाई असर पारेको छ भन्ने सन्देश दिन पनि फोटो प्रदर्शनी आयोजना गरिएको बताए । प्रदर्शनी ७ देखि १४ जनवरीसम्म बिहान ११ देखि ४ बजेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?