
२३ पुस, काठमाडौं । त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो ।
‘१५ मिनेट परीक्षाको समय थप गरेका छौँ। समय थप गर्न सबै केन्द्रमा सर्कुलर गरेका छौँ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने । भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ ।
बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गे काउन्टीमा थियो ।
५५ हजार विद्यार्थी परीक्षामा थिए
त्रिविको स्नातक तहको परीक्षा बिहान ७ बजेदेखि थियो । परीक्षाका लागि विद्यार्थी कक्षा कोठामा छिर्दै थिए । १५ मिनेट अघि नै परीक्षा केन्द्रमा विद्यार्थी पुग्नु पर्छ । ६:५० मा भूकम्प आएको थियो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीको बानेश्वरस्थित घर नजिकै थियो, के एन्ड के कलेज । उक्त कलेजमा पाटन क्याम्पसका विद्यार्थीले परीक्षा दिँदै थिए ।
कलजेको हल्ला जोशीको घरमै सुनियो । ‘मेरै घर अगाडि विद्यार्थीहरू बाहिर निस्किएको देखेँ । भूकम्प रोकिएपछि फोन गरेँ । रौतहटसम्म धक्का पुगेको रहेछ । अरु ठाउँमा पनि विद्यार्थी बाहिर निस्केका रहेछन् । ५-१० मिनेट प्रभावित भयो भनेपछि समय थपिएको हो,’ जोशीले भने । समय थप गरेर तीन घण्टा नै परीक्षा सञ्चालन गर्न सूचना निकालिएको उनले बताए ।
भूकम्पका कारण कुनै पनि क्षति नभएको र शान्त वातावरणमा परीक्षा चलेको नियन्त्रक जोशीले बताए ।
के एन्ड के कलेजका सहायक प्रधानाध्यापक दीपक पौडेलका अनुसार भूकम्पको धक्का रोकिएपछि शान्त वातावरणमा परीक्षामा चलेको थियो ।
नियन्त्रक जोशीका अनुसार स्नातक पहिलो वर्षको परीक्षामा बिहान ५५ हजार विद्यार्थीले परीक्षा दिँदै थिए ।
त्यसैगरी दिउँसो परीक्षा दिने विद्यार्थीको संख्या ४५ हजार छ । बिहान व्यवस्थापनको र दिउँसो विज्ञान, शिक्षा र मानविकीको परीक्षा चलिरहेको छ ।
प्रतिक्रिया 4