
२३ पुस, काठमाडौं । सूचीकृत कम्पनीहरूले दिने गरेको लाभांश दर बर्सेनि घट्दो क्रममा छ । ब्याजदर घटेर न्यूनतम विन्दुमा आएका बेला समेत धेरै कम्पनीको लाभांशले ब्याजदर पनि धान्दैन ।
यो वर्ष १० प्रतिशतभन्दा धेरै लाभांश दिनेमा वाणिज्य बैंकहरुमा ५ कम्पनी मात्रै छन् । विकास बैंकमा २ कम्पनी छन् भने फाइनान्समा कुनै पनि छैनन् ।
त्यस्तै ९ हाइड्रोपावर, २ होटल, ३ इन्भेस्टमेन्ट कम्पनी र ६ उत्पादनमूलक कम्पनी छन् । १० प्रतिशतमाथि लाभांश दिनेमा धेरैजसो माइक्रोफाइनान्स कम्पनीहरू छन् । १५ माइक्रोफाइनान्स कम्पनीको लाभांश १० प्रतिशतमाथि छ ।
धेरै लगानीकर्ता आफूले पाउने लाभांशमा पनि झुक्किने गरेका छन् । कम्पनीहरूले दिने सेयर बोनस आफूसँग भएको सेयर संख्याका आधारमा हो भने नगद लाभांश अंकित मूल्यमा हो ।
अंकित मूल्य १० रुपैयाँको कम्पनीले १५ प्रतिशत नगद लाभांश दिनु र १०० रुपैयाँको कम्पनिले त्यति नै नगद लाभांश दिनुमा फरक हुन्छ । अंकित मूल्य १० रुपैयाँको कम्पनीका हकमा १५ प्रतिशत नगद लाभांश प्रतिकित्ता जम्मा १ रुपैयाँ ५० पैसा (१० × १५÷१००) हुन्छ । यदि सोही कम्पनीको अंकित मूल्य १०० रुपैयाँ भएको खण्डमा प्रतिकित्ता नगद लाभांश १५ रुपैयाँ हुन्छ ।
हाल कम्पनीहरू धमाधम घोषित लाभांश पारित गर्नका लागि साधारणसभा गरिरहेका छन् । पुस मसान्तसम्म अधिकांश कम्पनीको साधारणसभा सम्पन्न हुनेछ ।
साधारणसभाबाट लाभांश पारित भएपछि लगानीकर्ताले नगद लाभांश बैंक खातामै तुरुन्तै पाउने गरेका छन् । डिम्याट खातामा सेयर बोनस पाउनका लागि साधारणसभाले पारित गरेपछि पनि केही साता लाग्ने गरेको छ ।
धितोपत्र बोर्डमा सेयर बोनस दर्ता गर्नुपर्ने र चुक्ता पूँजी वृद्धिको लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गरी कम्पनी रजिस्टार कार्यालयमा पेश गर्नुपर्ने भएकाले सेयर बोनस प्रदान गर्न समय लाग्ने गरेको हो ।
साधारणसभा सम्पन्न गरिसकेका केही कम्पनीले भने लगानीकर्तालाई डिम्याट खातामा बोनस सेयर प्रदान गरिसकेका छन् । ती सेयर बजारमा सूचीकृत भइ कारोबारमा आइसकेका छन् ।
एभरेष्ट बैंक, हाथवे इन्भेस्टमेन्ट, आशा लघुवित्त, भगवती हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त, सीईडीबी होल्डिङस्, कामना सेवा विकास बैंक, नेपाल ल्युब आयल लगायत कम्पनीको बोनस सेयर सूचीकृत भइ कारोबारमा आइसकेको छ ।
यी हुन् यो वर्ष १०% माथि लाभांश दिएका ४२ कम्पनी ।
कम्पनी | सेयर बोनस % | नगद लाभांश % | कुल लाभांश % |
स्टान्डर्ड चार्टर्ड | ६.५ | १९ | २५.५ |
कृषि विकास बैंक | ३ | ७.५३ | १०.५३ |
एसबीआई बैंक | ३.८ | ६.८५ | १०.६५ |
नबिल बैंक | १० | १० | |
एभरेष्ट बैंक | १० | ५.५३ | १५.५३ |
कामना सेवा विकास बैंक | ७ | ५ | १२ |
मितेरी विकास बैंक | ९.५ | ०.५ | १० |
ग्रीन भेन्चर | १० | ०.५२ | १०.५२ |
चिलिमे हाइड्रोपावर | १० | २ | १२ |
सानिमा माइ हाइड्रोपावर | १० | ०.५२ | १०.५२ |
माउन्टेन इनर्जी | १५ | ०.७८ | १५.७८ |
कुथेली बुखरी हाइड्रोपावर | १० | ०.५२ | १०.५२ |
रुरु हाइड्रोपावर | १५ | ०.७८ | १५.७८ |
भगवती हाइड्रोपावर | ४ | १०.७३ | १४.७३ |
माण्डु हाइड्रोपावर | १२ | १२ | |
सुपरमाइ हाइड्रोपावर | ७ | ५.६३ | १२.६३ |
तारागाउँ रिजेन्सी होटल | ० | ११ | ११ |
सोल्टी होटल | १० | २६.८ (१० को) | ३६.८ |
नागरिक लगानी कोष | ७ | ६ | १३ |
सीईडीबी होल्डिङ | ११ | ११ | |
हाथवे इन्भेस्टमेन्ट | १० | ०.५२ | १०.५२ |
सर्वोत्तम सिमेन्ट | ७ | ३ | १० |
हिमालयन डिस्टिलरी | १५ | ५ | २० |
बोटलर्स नेपाल तराई | ० | ५० | ५० |
युनिलिभर नेपाल | ० | १७१४ | १७१४ |
नेपाल ल्युब आयल | २० | ५ | २५ |
नेपाल टेलिकम | ० | ३० | ३० |
आत्मनिर्भर | १४.२५ | ०.७५ | १५ |
नेस्डो समृद्ध | १४.२५ | ०.७५ | १५ |
डिप्रोक्स | ९.५ | ०.५ | १० |
कालिका | ९.५ | ०.५ | १० |
मिथिला | १४.२५ | ०.७५ | १५ |
छिमेक | ८ | ७ | १५ |
साना किसान | १३.३ | ०.७ | १४ |
जीवन विकास | १४ | ०.७३ | १४.७३ |
नेसनल | १४.२५ | ०.७५ | १५ |
सपोर्ट | १३.७७ | ०.७२ | १४.५ |
आरएसडीसी | ९.५ | ०.५ | १० |
फरवार्ड | १३.३ | ०.७ | १४ |
स्वाबलम्बन | १४.२५ | ०.७५ | १५ |
आशा | १४.२५ | ०.७५ | १५ |
गुराँस | १४.२५ | ०.७५ | १५ |
प्रतिक्रिया 4