
काठमाडौं । विश्वचर्चित फिल्म ‘स्पाइडरम्यान’का कलाकार जोडी टम हल्याण्ड र जेन्डायाले इन्गेजमेन्ट गरेका छन् । परिवारलाई उध्दृत गर्दै हलिउड संचारमाध्यमले उनीहरूको इन्गेजमेन्टबारे पुष्टि गरेका छन् ।
पहिलोपटक यो खबर टीएमजेडले बाहिर ल्याएको थियो । क्रिसमस र न्यू इयरको बीचमा दुबैजनाले इन्गेजमेन्ट गरेका हुन् । दुबैजनाको उमेर पनि २८ छ ।
जेन्डायाको घरमा आयोजित रोमान्टिक र पारिवारिक समारोहमा इन्गेजमेन्ट भएको समाचारमा उल्लेख छ । अभिनेता हल्याण्डले घुँडाले भुइँमा टेकेर जेन्डायालाई प्रस्ताव राखेका थिए ।
नेपाली समयानुसार सोमबार बिहान आयोजित गोल्डेन ग्लोब्स समारोहमा पनि जेन्डायाले हीराको ठूलो इन्गेजमेन्ट औंठी लगाएको देखिएको थियो । त्यसपछि उनको इन्गेजमेन्टबारे चर्चा चलेको हो ।
उनीहरूले विवाह र बच्चाको योजना समेत बनाइरहेको विवरणमा जनाइएको छ । सन् २०२१ मा सार्वजनिक ठाउँमा चुम्बन गरिरहेको भेटिएपछि यी दुईले रोमान्टिक सम्बन्धलाई औपचारिकरुपमा स्वीकारेका थिए ।
जेन्डाया र टम ‘स्पाइडरम्यान’ श्रृंखलामा पनि जोडीको रुपमा छन् । चाँडै उनीहरू क्रिस्टोफर नोलनको नयाँ फिल्ममा पनि देखिनेछन् । नेपालमा समेत यी दुईलाई पछ्याउने युवा जमात ठूलै छ ।
प्रतिक्रिया 4