
काठमाडौं । यस वर्षको अस्कर अवार्डमा ३२३ फिल्म प्रतिस्पर्धाका लागि योग्य ठहरिएका छन् । एकेडेमी अफ मोसन पिक्चर्स एन्ड साइन्सेजले मुख्य विधाको प्रतिस्पर्धामा रहेका सबै फिल्मको सूची सार्वजनिक गरेको छ ।
जसमा सर्वोत्कृष्ट फिल्म विधाको सूचीमा २०७ फिल्म प्रतिस्पर्धाका लागि योग्य ठहरिएका छन् । जसमा भारतबाट यसपटक सूर्या र बबी देओल स्टारर एक्सन फिल्म ‘कंगुवा’ पनि समेटिएको छ । आमिर खानको ‘लापता लेडिज’लाई सम्बन्धित देशको छनोट समितिले सिफारिस गरेको हो भने ‘कंगुवा’लाई चाहिं अमेरिकी वितरकमार्फत पठाइएको हो ।
अस्करको नियमानुसार लस एन्जलस, न्युयोर्क, सिकागो, टेक्सास, एटलान्टा र जर्जियामध्ये कुनै एक अमेरिकी सहरको हलमा व्यावसायिक प्रदर्शनमा आएमा सो फिल्म अस्करको मुख्य विधाको प्रतिस्पर्धामा योग्य ठहरिन्छ । ‘कंगुवा’ले यसैको फाइदा उठाउँदै अस्करमा भाग लिएको हो । यसअघि भारतीय फिल्म ‘आरआरआर’ पनि यसैगरी छनोट भएको थियो ।
अर्कोतर्फ फिचर फिल्मको रनटाइम ४० मिनेटभन्दा धेरै हुनु जरुरी छ । अस्कर मनोनयनका लागि मतदान बुधबारदेखि सुरु हुँदैछ । १२ जनवरीसम्म मतदान निरन्तर चल्नेछ । मनोनयन घोषणा १७ जनवरीमा हुनेछ भने अवार्ड वितरण २ मार्चमा हुनेछ ।
प्रतिक्रिया 4