काठमाडौं । काठमाडौंमा ‘हेल्थ एआई फर अल कन्फ्रेन्स (हाइकन) २०२५’ सुरु भएको छ । नेपाल र भारतजस्ता विकासशील देशहरुमा स्वास्थ्य एआईको क्षेत्रमा ज्ञान उत्पादन, आदानप्रदान र सहकार्य गर्न स्थापना भएको हेल्थ एआई फर अल नेटवर्कले (हाइनेट) सम्मेलन आयोजना गरेको हो ।
हाइनेट नेटवर्कको सञ्चालक समितिमा तीन चौथाइ सदस्य विकासशील र विकासोन्मुख देशका रहने व्यवस्था छ । सम्मेलनमा स्वास्थ्य सेवा समस्या पहिचान गरी त्यसलाई हेल्थ एआईको माध्यमबाट समाधान गर्ने विषयमा विकासशील देशका प्रतिनिधिहरुबीच छलफल हुनेछ ।
नेपालको अग्रसरतामा स्वास्थ्य क्षेत्रमा भएको एआई प्रविधि विकासको फाइदा सीमित स्रोत र साधन भएका देशमा बसोबास गर्ने मानिसमा पनि पुगोस् भन्ने अभिप्रायले सन् २०२४ को अन्त्यतिर हाइनेट सुरु गरिएको नेटवर्कका संस्थापक सदस्य डा. किरणराज पाण्डेले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य सेवा वितरणमा महत्वपूर्ण परिवर्तन ल्याउन, मानव स्वास्थ्य सुधार गर्न र स्वास्थ्यमा सबैको पहुँच पुर्याउन हेल्थ एआईले कसरी भूमिका खेल्छ भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ । नेपालजस्ता विकासशील देशहरुले सहकार्य गरेर स्वास्थ्यमा भएका आफ्ना समस्या पहिचान र हेल्थ एआई विकासमा सहकार्य गर्ने विषयमा विचार आदानप्रदान हुने डा. पाण्डेले बताए ।
नेटवर्कका सदस्य तथा युनिभर्सिटी अफ एभर्डिनका सहप्राध्यापक विनोद भट्टराईले पछिल्लो समय विकसित देशहरुमा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग व्यापक भइरहेको बताए । तर पनि नेपालजस्ता स्वास्थ्य सेवाको सीमित स्रोतसाधन भएका देशका बिरामीलाई एआई प्रविधिको लाभ नपाउने जोखिम पनि उस्तै रहेको उनले बताए ।
हाइनेटले नेपालजस्ता विकासशील देशले आफ्नो स्वास्थ्य समस्याको प्राथमिकता निर्धारण गरेर त्यसको समाधानमा हेल्थ एआईको विकास गर्न स्वामित्व लिन सम्मेलन महत्वपूर्ण हुने भट्टराईले बताए ।
प्रतिक्रिया 4