
२३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग बनाउने प्रस्ताव राखेका छन् । मंगलबार केन्द्रीय समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।
‘पार्टीले सुशासनको अभियान सञ्चालन गरिरहेको सन्दर्भमा राजनैतिक नेताहरू प्रति उठिरहेका प्रश्न/आशंकाबारे सत्य तथ्य जनतासामु स्पष्ट गर्न पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गरौं’ उपमहासचिव शर्माले भनेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत आर्थिक पारदर्शिताको विषयलाई प्राथमिकता दिएका छन् । आर्थिक पारदर्शिता अपनाए पार्टीप्रति जनविश्वास बढाउन सकिने प्रतिवेदनमै उल्लेख गरेका थिए ।
यस अन्तर्गत माओवादीले केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने भनेको छ ।
राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘केन्द्रीय पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिनेछ ।’
प्रत्येक वर्ष पार्टी केन्द्रीय समितिका सदस्यहरूले सम्पत्ति विवरण अद्यावधिक गरी केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने प्रस्ताव पनि कार्ययोजनामा उल्लेख छ ।
जनप्रतिनिधि र राजनीतिक नियुक्ति लिएका व्यक्तिले पनि सम्पत्ति विवरण बुझाउनुपर्ने भनिएको छ ।
‘तीनै तहमा सरकारमा सहभागी भएका, संघीय सांसद तथा प्रदेश सभाका सदस्य रहेका उच्च तहको राजनीतिक नियुक्तिको जिम्मेवारीमा रहेका कमरेडहरूले जिम्मेवारी पाएका एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने छ र सेवा अवधिभर हरेक वर्ष अद्यावधिक गर्नुपर्नेछ’ प्रतिवेदनमा उल्लेख छ ।
प्रचण्डको प्रतिवेदनउपर धारणा राख्दै उपमहासचिव शर्माले पार्टीले सुशासनको अभियान सञ्चालन गरिरहेका तर, राजनैतिक नेताहरूप्रति प्रश्न/आशंका उठिरहेको बताएका हुन् ।
प्रश्न/आशंकाबारे सत्य तथ्य जनतासामु स्पष्ट गर्न पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने उनको प्रस्ताव छ ।
प्रतिक्रिया 4