
२३ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई गरिएको निलम्बन फिर्ता नहुने बताएका छन् ।
केन्द्रीय समिति बैठकमा केही नेताहरूले निलम्बन फिर्ताको माग गरेका थिए । तर बैठक समापनका क्रममा अध्यक्ष ओलीले माफी नमागेसम्म निलम्बन फिर्ता नहुने बताएका हुन् ।
‘सच्चिन तयार हुनुपर्यो । गल्ती महशुस हुनु पर्यो । त्यतिकै फिर्ता भन्ने हुँदैन’ ओलीको जवाफ थियो । पहिलेदेखि सार्वजनिक रुपमा बोल्दै आएको र निलम्बनको निर्णयपछि पनि मिडियाहरूमा बोल्न नछोडेकाले फिर्ता लिन नमिल्ने ओलीले बताएका थिए ।
स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले ब्यापारी मीनबहादुर गुरूङबाट दानमा जग्गासहित केन्द्रीय कार्यालय भवन लिने निर्णयको विरोध गरेका थिए । पार्टी निर्णयप्रति सार्वजनिक रुपमा विरोध गरेको भन्दै गत ६ कात्तिकमा रावल सहित पाण्डे र तिमल्सेनालाई स्पष्टीकरण सोधिएको थियो ।
पाण्डे र तिम्सेनाले १२ कात्तिकमै स्पष्टीकरण बुझाएकी थिइन् । तर चित्तबुझ्दो जवाफ नआएको भन्दै १० पुसको सचिवालय बैठकले निलम्बनको निर्णय गरेको छ ।
प्रतिक्रिया 4