+
+

ओलीसँग नेताहरूको आग्रह : एमालेको काँधमा दुर्गा प्रसाईंहरू अब नबोकाइयोस्

केन्द्रीय कमिटी बैठकको अन्तिम दिन मंगलबार बोल्दै नेताहरूले विगतमा गलत व्यक्तिलाई नेता बनाउँदाको परिणाम अहिले भोग्नु परेको उदाहरण दिएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १९:०४

२३ पुस, काठमाडौं । नेकपा एमालेका नेताहरूले पार्टीमा मनोनीत गरिने व्यक्तिहरूबारे विशेष ध्यान पुर्‍याउन नेतृत्वसँग आग्रह गरेका छन् ।

केन्द्रीय कमिटी बैठकको अन्तिम दिन मंगलबार बोल्दै नेताहरूले विगतमा गलत व्यक्तिलाई नेता बनाउँदाको परिणाम अहिले भोग्नु परेको उदाहरण दिएका थिए ।

गलत व्यक्तिलाई नेता बनाइएको उदाहरण दिन दुर्गा प्रसाईं, सर्वेन्द्र खनाल, गंगा चौधरी, एकनाथ ढकालहरूको नाम उनीहरूले लिए । ‘हामी मिसन ०८४ भनिरहेका छौं । यो अभियानमा विगतका गल्ती नहोस्,’ पोलिटब्यूरो सदस्य मोहन बानियाँले, ‘दुर्गा प्रसाईहरूलाई नेता बनाएर अगाडि बढ्दा हाम्रो मिसनमा समस्या आउँछ ।’

पार्टीमा कसैलाई प्रवेश गराउँदा र जिम्मेवारी दिँदा त्यो व्यक्तिको पृष्ठभूमिमा विशेष ध्यान दिनुपर्ने उनको तर्क थियो । ‘कुनै सैद्धान्तिक प्रतिबद्धता बिना प्रवेश गराउने र महत्वपूर्ण जिम्मेवारी दिँदा अहिलेको समस्या आयो,’ बानियाँले भने, ‘आगामी दिनमा कसैलाई नेता बनाउँदा यसप्रति ध्यान दिइनुपर्छ र निकाल्दा पनि विचार गर्नुपर्छ ।’

केन्द्रीय सदस्य निर्मल भट्टराईले पनि बानियाँसँग मिल्दो सुझाव दिए । आफूले पाएको तीन मिनेटको समयमा भट्टराईले दुर्गा प्रसाईँहरूलाई नेता बनाएर विगतमा गल्ती भएको बताएका थिए ।

‘दुर्गा प्रसाईंलाई एमालेले नेता नबनाएको भए अहिले बबण्डर हुने नै थिएन,’ उनको तर्क थियो, ‘दुर्गा प्रसाईं हुर्काउने काम पार्टीबाटै भयो ।’ सर्वेन्द्र खनाललाई पनि ठूलो अवसर दिने गल्ती भएको भट्टराईले बताएका थिए ।

‘अब दुर्गा प्रसाईं, सर्वेन्द्र खनालहरू जस्तालाई काँध थाप्नुपर्ने अवस्था आउँछ कि आउँदैन ? त्यसैले नेतृत्वले प्रष्ट पार्नुपर्छ, कसकसलाई काँध थाप्नुपर्ने हो’, उनको सुझाव थियो ।

यी नेताहरूले आपत्ति जनाएका दुर्गा प्रसाईंलाई दशौं राष्ट्रिय महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य मनोनीत गरेका थिए । पार्टी सदस्यसमेत नरहेका प्रसाईंलाई केन्द्रीय सदस्यसहित उद्योग विभागको उपप्रमुखको जिम्मेवारी दिइएको थियो ।

पार्टीमा लामो समय योगदान गरेका कयौं नेतालाई बेवास्ता गर्दै विवादित पृष्ठभूमिका प्रसाईंलाई यस्तो महत्वपूर्ण जिम्मेवारी दिदा ओलीको चर्को विरोध भएको थियो ।

तर, पार्टीभित्र उनको निर्णयविरुद्ध बोल्ने सामर्थ्य कुनै पनि नेतासँग थिएन । अहिले एमाले र ओलीविरुद्ध प्रसाईंले अभियान चलाइरहेका छन् । र, एमालेले भने मुलुकको मुख्य समस्याका रूपमा एमाले नेतृत्वविरुद्धको भ्रामक प्रचार भन्ने निष्कर्ष निकालेको छ ।

पूर्वप्रहरी प्रमुख खनाल पनि विवादित घटनाबाटै एमाले नेतृत्वसँग जोडिएका व्यक्ति हुन् । २०७७ वैशाखमा दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदै तत्कालीन जसपा विभाजन गर्ने ओलीको योजनालाई सफल पार्न खनाल खटिएका थिए । त्यही सहयोगको बदला खनालले ०७९ मंसिरको चुनावमा काठमाडौं– ६ बाट प्रतिनिधिसभाको टिकट पाए । तर, रास्वपाका शिशिर खनालसँग पराजित भए ।

फेरि ०८० वैशाखको उपनिर्वाचनमा तनहुँ– १ मा एमालेको उम्मेदवार बने । त्यहाँ पनि रास्वपाकै स्वर्णिम वाग्लेसँग पराजित भए । अहिले सर्वेन्द्र खनालले एमाले त्यागेको घोषणा गरेका छन् ।

गंगा चौधरी र एकनाथ ढकाल भने एमालेले समानुपातिक सांसद बनाएका व्यक्ति हुन् ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?