+
+

कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ : कृषिमन्त्री

मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २३ गते १९:३०

२३ पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

कृषि र पर्यटन क्षेत्रको विकासमा चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण हुने अधिकारीले बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज (फाउन्टेन्स) ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘बीआरआई ढाँचामार्फत् नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी’ नामक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने लक्ष्य राखेका छौं,’ अधिकारीले बताए ।

चीन र नेपाल सरकारबीच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारी–पत्रमा सन् २०२३ मा हस्ताक्षर भएको थियो । त्यस्तै, नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ ।

त्यस्तै, नेपालबाट सुन्तला जातका फलफूल निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो । नेपालबाट चीनमा हाइलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?