
२३ पुस, काठमाडौं । सप्तरी छिन्नमस्ता गाउँपालिकाले किसानहरूको विद्युत् बिल तिरिदिने भएको छ ।
गाउँपालिकाले किसानले कृषि कार्यका लागि प्रयोग गर्ने बिजुलीको बिल तिरेर सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
छिन्नमस्ता गाउँपालिकाको चालु आवको स्वीकृत कार्यक्रम अनुसार गाउँपालिका किसानको कृषि कार्यका लागि सिँचाइ विद्युत् महसुल बेहोर्ने निर्णय भएको हो ।
पालिका अन्तर्गतको सम्पूर्ण सिँचाइ मिटर प्रयोगकर्ताले २०८१ पुस मसान्तसम्मको सिँचाइ मिटर विद्युत् महसुल किसान स्वंयले तिरी आ–आफ्नो कृषि मिटर २२ माघसम्म गाउँपालिकामा कागजातसहित दर्ता गराउन पालिकाले भनेको छ ।
‘किसानको हितमा ऐतिहासिक निर्णय गर्दै अब कृषिसम्बन्धी विद्युत् बिल पालिकाले बजेट विनियोजन गरी बेहोर्ने भएको छ । यस निर्णयले किसानको आर्थिक भार घटाउने मात्र होइन, कृषि व्यवसायमा आत्मनिर्भरता र उत्पादनशीलता बढाउन पनि महत्त्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएका छौं,’ पालिका अध्यक्ष चौधरीले भने ।
प्रतिक्रिया 4