+
+

मकवानपुर उद्योग वाणिज्य संघमा अग्रवाल र रानाभाट प्यानलसहित प्रतिस्पर्धामा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २४ गते ७:२१

२४ पुस, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं साधारणसभा तथा अधिवेशनमा आजदेखि हेटौंडामा सुरु हुँदैछ । २४ देखि २७ पुससम्म हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

संघको ३ वर्षे कार्यकालको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।

संघको निर्वाचनका लागि ५७ औं साधारणसभाबाट विधान संशोधन गरेर प्रत्येक पदमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कायम गरिएको छ । विगतमा अध्यक्षले निर्वाचित सदस्यमध्येबाट महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मनोनीत गर्ने व्यवस्था थियो । प्रत्येक पदमा प्रत्यक्ष निर्वाचनको व्यवस्थाले निर्वाचनलाई थप रोचक बनाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघमा २८ जनाको कार्यसमिति हुनेछ । अध्यक्ष, ४ उपाध्यक्ष (एशोसिएसन, वाणिज्य, उद्योग र वस्तुगत), १ महासचिव, १ कोषाध्यक्ष, ४ सचिव र एक सहकोषाध्यक्ष पद छ ।

एशोसिएटतर्फ ४ सदस्य, वाणिज्यतर्फ ७ सदस्य, उद्योगमा ४ सदस्य र वस्तुगतमा १ सदस्य पद हुने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए ।

रानाभाटको प्यानलमा को-को छन् ?

अध्यक्ष उम्मेदवार प्रमोद सिंह रानाभाटले प्यानल घोषणासँगै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

रानाभाट प्यानलबाट महासचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा श्रीकृष्ण कर्माचार्य (भाई), सह–कोषाध्यक्षमा निलम वैद्य उम्मेद्वार बन्नेछन् । एसोसिएटतर्फ उपाध्यक्षमा उज्वल चौलागाईं, सचिवमा माधव ज्ञवाली, सदस्यमा अंकिता सुमार्गी, नवराज खतिवडा र सुकृत पराजुलीको उम्मेदवारी घोषणा भएको छ ।

उद्योगतर्फ उपाध्यक्षमा दीपक उप्रेती, सचिवमा रुपकराज दहाल, सदस्यहरु जगदिश दहाल, कृष्णराज कोइराला, भुपेन्द्र अधिकारी, महिला आरक्षणमा सीतादेवी भेटवाल तथा वस्तुगततर्फ उपाध्यक्षमा प्रदीप अर्याल, सचिवमा राजाराम कार्की र सदस्य कृष्ण अर्याल छन् ।

वाणिज्यतर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपाने, सचिवमा कुलप्रसाद चौलागाई, सदस्यहरु राजेन्द्र लामिछाने (राजेश), सन्तोष घिमिरे, राजदेव बनियाँ, होमनाथ खनाल (रोशन), महिला आरक्षणमा निलम बजगाई देवकोटा छन् ।

यी हुन् अग्रवाल प्यानलका उम्मेदवार ?

अग्रवालको प्यानलबाट महासचिवमा विकेशलाल श्रेष्ठ, कोषाध्यक्षमा तेजराज अधिकारी, सह–कोषाध्यक्षमा राधिका सामरी पाण्डे उम्मेद्वार छन् । एसोसिएटतर्फ उपाध्यक्षमा विष्णु खनालको मात्रै उम्मदवारी रहेको छ ।

वाणिज्यतर्फको उपाध्यक्षमा राजु अधिकारी, सचिवमा दिवस पराजुली र सदस्यमा रविन ढकाल, विष्णुप्रसाद दाहाल, बालकृष्ण बजगाई, यज्ञ बहादुर राई र महिला आरक्षणमा निलम पाण्डे रहेका छन् ।

उद्योगतर्फ उपाध्यक्षमा रविन्द्र प्रसाद घिमिरे, सदस्यमा कृष्णगोपाल महर्जन, दीपक शिवाकोटी, गंगाकुमारी श्रेष्ठ, महिला आरक्षणमा मेनका श्रेष्ठ उम्मेदवार छन् । वस्तुगततर्फ उपाध्यक्षमा काव्यमणि अधिकारी, सचिवमा नेत्रप्रसाद खतिवडा र सदस्यमा शम्भु पुडासैनी छन् ।

३ वर्षमा ८ सय ६१ मतदाता घटे, कहिले हुन्छ मतदान ?

अधिवेशनअन्तर्गत् २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले साधारणसभा समारोहलाई उद्घाटन गर्ने तय भएको संघले जनाएको छ । सोही दिन बन्द सत्र सुरु हुनेछ ।

२५ पुस बिहान ८ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने संघका कार्यकारी सचिव पवन कार्कीले जानकारी दिए । सोही दिन साढे १० बजेबाट १२ बजेभित्र उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारहरु डेढ घण्टाभित्र मनोनयन दर्ता स्थलमा प्रवेश गरिसक्नुपर्ने नियम छ ।

उम्मेदवारको नामावली प्रकाशन लगत्तै दाबी विरोधको समय हुनेछ । २७ गते मतदान कार्य हुनेछ । मतदान सकिए लगत्तै मतगणना सुरु गर्ने कार्यतालिका छ ।

यस वर्षको निर्वाचनमा २ हजार ४६ जना सदस्यले मतदान गर्न पाउने छन् । अघिल्लो अधिवेशनमा २ हजार ९ सय ७ जना सदस्य थिए । ३ वर्षमा ८ सय ६१ जना सदस्य घटेका छन् । मउवा संघको सदस्यता नवीकरण नगर्ने हालसम्मकै यो ठूलो संख्या रहेको सचिव कार्कीले बताए ।

विधान संशोधनपछि सदस्यता नवीकरणमा फर्मको करचुक्ता प्रमाणपत्र अनिवार्य गरेपछि ठूलो संख्या घटेको हुन सक्ने उनले बताए । ‘धेरै प्रभाव करचुक्ता प्रमाण पत्र पेश गर्नुपर्नेको नियमले हो । तर विदेशिने क्रम बढेकाले व्यवसाय छोड्नेहरु पनि छन्,’ सचिव कार्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?