२४ पुस, धनगढी । सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनको आयोजनामा धनगढी अटोर्याली र अटोक्रस आयोजना हुने भएको छ । आयोजकले मंगलबार धनगढीमा पत्रकार सम्मेलन गर्दै इभेन्ट आगामी फागुन १६ र १७ गते हुने जानकारी गराएको हो ।
सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनका अध्यक्ष पुस्कर राज ओझाले थ्रिल, एड्भेन्चर र प्यासनको संगम मोटरस्पोर्टसलाई सुदूरपश्चिममा धनगढी अटोर्यनली र अटोक्रसमार्फत सुरुआत गरिएको बताए ।
सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले युवाहरुमा लोकप्रिय बन्दै गएको मोटरस्पोर्टसले सुदूरसश्चिममा पनि नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गर्दै प्रदेश खेलकुद परिषद्ले आवश्यक सहयोग गर्ने बताए ।
धनगढीबाट सुरू गरिने अटोर्यालीमा न्यूनतम ५० वटा कार र जीप सहभागी हुनेछन् जसले समय, दूरी र गतिको सन्तुलन मिलाउँदै आयोजकले तोकेको रुटमा पर्शुराम धामसम्म टिएएसडी फर्म्याटको र्यालीमा सहभागी हुनेछन् ।
प्रत्येक गाडीमा ड्राइभर र न्याभिगेटर गरी २ जनाको टिम हुनेछ । टिम दर्ता शुल्क ५ हजार तोकिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमश: रु ८१ हजार, २७ हजार र ९ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै चाँदनी-दोधारा पुल क्षेत्रमा अटोक्रसको आयोजना गरिनेछ जसमा अटोर्यालीका सहभागीबाट २० ड्राइभरले अवसर पाउनेछन् । संसारकै सुन्दर पुलको वरिपरि हुने सो इभेन्टका विजेताहरुलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर तथा शिल्ड र सर्टिफिकेट पाउने छन् । इभेन्टमा मेकानिकल, मेडिकल, मिडिया र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको पनि अयोजकले जनाए ।
जुनसुकै क्षमता र डिजाइनका निजी कार र जीपलाई अटोर्यालीमा समावेश गराइनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी सम्मका कार मात्र सहभागी हुनेछन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइन अनुसार दक्ष प्राविधिक र मार्शलहरुका सुपरिवेक्षणमा संचालन हुने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए ।
सुदूरपश्चिम खेलकुद परिषदका मुख्य सहयोग रहने यस इभेन्टहरुमा पर्शुराम धाम नगरपालिका, स्थानिय उद्योग वाणिज्य संघहरु, अटोमोबाइल व्यवसायीलगायतका संघ-संस्थाको सहयोग हुनेछ ।
प्रतिक्रिया 4