
काठमाडौं । हास्य कलाकार घनश्याम गौतम (नक्कली प्रचण्ड)लाई स्वास्थ्यमा जटिलता देखिएपछि बुधबार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा भर्ना गरिएको छ ।
उनलाई राति नै अस्पतालमा लगेपनि बिहान ५ बजे मात्र भर्ना गरिएको गौतमकी पत्नी युगज्योतिले जनाएकी छन् । अहिले उनी केएमसीको मेडिसिन हाइ केयर वार्डमा उपचाररत छन् । युगज्योतिका अनुसार गौतमलाई यसअघि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना गरिएको थियो ।
गौतमको किड्नीमा समस्या नभएको भन्दै अस्पतालले डिस्चार्ज गरिदियो । त्यसपछि बुधबार राति नै केएमसीमा भर्ना गर्न लगिएको हो । त्यसक्रममा युगज्योतिले सामाजिक सञ्जालमार्फत सुरुमा अस्पतालले भर्ना लिन नमानेको र पछि अनुरोधमा भर्ना गरिएको बताएकी छन् ।
अहिले पनि उनको अवस्था नाजुक छ भने चिकित्सकले उनको उपचार गरिरहेका छन् । कलाकार गौतमलाई डेढ वर्षअघि आन्द्राको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसयता उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आइरहेका थिए भने केही महिनाअघि थप उपचारका लागि भारतको नयाँ दिल्लीसम्म पुगेका थिए ।
विभिन्न टेलिश्रृंखलामा अभिनय गरेका गौतम ‘नक्कली प्रचण्ड’ नामक पात्रको कारण दर्शकमाझ चर्चित छन् । केही समयअघि उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि उपचारमा सघाउन आग्रह गरेका थिए ।
प्रतिक्रिया 4