२४ पुस, काठमाडौं । जय ट्रफी मेन्स एलिट कप २०८१ अन्तर्गत बुधबार तेस्रो खेलअन्तर्गत नेपाल पुलिस र मधेश प्रदेशबीच पहिलो दिनको खेल सकिएको छ ।
पर्सामा भइरहेको पहिलो दिनको समाप्तिमा पुलिसले ४० ओभर खेलेर ३ विकेटको क्षतिमा १७४ रन बनाउँदै ४५ रनको अग्रता कायम गरेको छ । पुलिसका आरिफ शेख र अमित श्रेष्ठ अविजित रहँदै खेलिरहेका छन् ।
त्यसअघि ओपनर कुशल भुर्तेल ६३ तथा दिलिप नाथ ४० रनमा आउट भएका थिए । मधेशका कप्तान हरिशंकर साहले २ तथा अभिषेक तिवारीले १ विकेट लिएका छन् ।
टस हारेर ब्याटिङ गरेको मधेशले पहिलो इनिङमा अलआउट हुँदै १२९ रन बनाएपछि पुलिसले आफ्नो पहिलो इनिङ सुरू गरेको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ५९ रन बनाउँदा निरज यादवले २९ रन बनाए ।
पुलिसका गुल्शन झाले १३ ओभरमा ४० रन दिएर ५ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिँदा सर्वन यादव र ललित राजवंशीले एक-एक विकेट लिए ।
पहिलो खेलमा मधेशले बागमतीसँग ड्र खेलेको थियो भने पुलिसले आर्मीसँग ड्र खेलेको थियो ।
प्रतिक्रिया 4