२४ पुस, बुटवल। बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्।
मंगलबार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलको बाटो तय गरेका हुन् ।
आज बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।
पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो। पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो।
बिहीबार गुजरात र मणिमुकुन्दबिच तेस्रो स्थानको खेल हुनेछ । बिहान १० बजे तेस्रो स्थानकालागि प्रतिस्पर्धा हुनेछ। लगत्तै दिउसो १ बजे उपाधिका लागि प्रतिश्पर्धा हुने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए।
प्रतियोगितामा विजेताले ७ लाख रुपैयाँसहित रनिड शिल्ड प्राप्त गर्नेछ। दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ नगद पाउनेछ ।
प्रतिक्रिया 4