+
+

‘क्रेटा ईभी’ कहिले आउँछ नेपाल ?

हुन्डाई मोटर इन्डियाका अनुसार ४ माघमा भारतमा हुने ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मार्फत सार्वजनिक हुन लागेको हो ।

अमृत चिमरिया अमृत चिमरिया
२०८१ पुष २४ गते २०:४४

२४ पुस, काठमाडौं । अटोमोबाइल क्षेत्रमा चर्चित ब्रान्ड हुन्डाईको क्रेटाले विद्युतीय गाडी (ईभी) ल्याउने भएपछि नेपाली बजारमा पनि चासोसाथ हेर्न थालिएको छ ।

हुन्डाई मोटर इन्डियाका अनुसार १७ जनवरी अर्थात् ४ माघमा भारतमा हुने ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो’ मार्फत सार्वजनिक हुन लागेको हो ।

पेट्रोलियम पदार्थबाट नेपालमा चल्ने क्रेटाको बजार ठूलो हुँदा यसको ईभी क्याटागोरी पनि नेपाली अटो क्षेत्रमा रुचाउने देखिन्छ ।

कहिले आउँछ नेपाल ?

नेपालमा हुन्डाई गाडी भित्र्याउने आधिकारिक विक्रेता लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार श्रेष्ठका अनुसार नेपालमा फेब्रुअरी तेस्रो साता (२० देखि २५ फागुन) सम्म आउने सम्भावना छ ।

‘हामीले फेब्रुअरी तेस्रोदेखि चौथो सातासम्म नेपाल ल्याउने प्रयास गरिरहेका छौं । तर, भारतमा कुन मात्रामा आपूर्ति हुन्छ, त्यसका आधारमा आउने समय तलमाथि हुनसक्छ,’ श्रेष्ठ अनलाइनखबरसँग भने ।

उनका अनुसार क्रेटा ईभी पाँच भेरिएन्टमा उपलब्ध हुने भए पनि नेपालमा सबै भेरिएन्ट आउने सम्भावना कम छ ।

‘हामी सबै भेरिएन्ट ल्याउने छैनौं । तीनदेखि चार भेरिएन्ट ल्याउने छौं । त्यसमध्ये इन्ट्री लेभलको एउटा, मध्य स्तरको एउटा र टप भेरिएन्ट एउटा हुन सक्छ,’ उनी भन्छन्, ‘भारतमा उपलब्ध सबै फिचर नेपालमा काम लाग्ने नहुन सक्छन् । त्यसो हुँदा नेपालमा आवश्यक फिचर भएका गाडी ल्याउने छौं ।’

नेपालमा क्रेटा बेचिरहेको लक्ष्मी ग्रुपले क्रेटा ईभी मूल्य कति हुन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको जनाएको छ ।

‘५५ देखि ६० लाख रुपैयाँको बीचमा इन्ट्री लेभलको गाडी आउला भन्ने अपेक्षा छ,’ ग्रुपका कार्यकारी निर्देशक श्रेष्ठ भन्छन् ।

उनले क्रेटा ईभीको नेपालमा प्रतिस्पर्धा पनि त्यही रेन्जका गाडीसँग हुने बताए । श्रेष्ठका अनुसार नेपालमा आउने ईभीमध्ये बीवाईडीको एटो थ्री, टाटाको कर्भ, एमजीको जेडएस, महिन्द्राको एक्सयूभी ४०० लगायतसँग क्रेटा ईभीको प्रतिस्पर्धा हुने अनुमान छ ।

४७३ किलोमिटर रेन्ज, ग्राउन्ड क्लियरेन्स १७५ एमएम

हुन्डाई इन्डियाका अनुसार क्रेटा ईभीमा ५१.४ किलोवाट आवरको ब्याट्री हुनेछ । हुन्डाई इन्डियाले आफ्नो वेबसाइटमा राखे अनुसार क्रेटा ईभीको रेन्ज फुलचार्जमा ४ सय ७३ किलोमिटर हुने दाबी छ ।

हुन्डाईको यसअघिको ईभी कोना गाडीमा प्रयोग भएको १ सय किलोवाटको मोटर रहने छ भने क्रेटा ईभीले ७.९ सेकेन्डमा शून्यबाट १ सय किलोमिटर प्रतिघण्टाको गति भेट्न सक्छ ।

हुन्डाई इन्डियाका अनुसार यसमा १०.२५ इन्चको डुअल स्क्रिन, प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, डिजिटल की, इलेक्ट्रिक टेलगेट जस्ता फिचर छन् ।

हुन्डाईका अनुसार यो ईभीमा गियर सेलेक्टर पनि स्टेयरिङमै हुन्छ । यस्तै यसको अटोमेटिक फिचर अन्तर्गत भ्वाइस एक्टिभेटेड पानारोमिक सनरुफ पनि छ । क्रेटा ईभीमा भेहिकल टु लोड (भीटूएल) सुविधा पनि उपलब्ध हुनेछ । यसको इन्टेरियरमा लक्जरी फिचर देखिएको छ ।

हुन्डाईको क्रेटा ईभीको अन्य धेरै फिचर यसको ‘लन्च’ पछि पनि सार्वजनिक हुने देखिएको छ ।

हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी ग्रुप यसअघि हुन्डाईको प्रिमियम ईभी ‘आयोनिक ५’ को दुई वटा भर्सन र कोनाको दुई वटा भर्सन नेपाल भित्र्याइसकेको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?