+
+

युवा पलायन भएपछि जन्मियो होम स्टे, मगर संस्कृतिको केन्द्र बन्दै

गाउँमा युवाहरू पलायन हुने क्रम बढेपछि सञ्चालन गरियो-मनकामना मगर होम स्टे । जसले युवा पलायन रोक्नुका साथै मगर समुदायको प्राचीन परम्परा, संस्कृति र खानपानको संरक्षण गर्ने विश्वास छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०८१ पुष २५ गते ९:२२
सांसकृतिक प्रस्तुतिका साथ पाहुनालाई स्वागत गर्दै ।

२५ पुस, गोरखा । सुन्तला उत्पादनमा ह्रास आउन थालेपछि आम्दानी घट्दै गयो । युवा विदेश पलायन हुने क्रम बढ्न थाल्यो । त्यसपछि स्थानीयवासी मिलेर गाउँमा होम स्टे संचालन गर्ने अठोट गरे । संचालनमा आयो-मनकामना मगर सामुदायिक होम स्टे ।

शहीद लखन गाउँपालिका–२ ढाँडबारीमा अवस्थित उक्त होम स्टे गत वर्षबाट संचालनमा आएको हो । मगर समुदायको प्राचीन परम्परा, संस्कृति र खानपानको संरक्षण एवं प्रवर्द्धन गर्ने उनीहरुको उद्देश्य छ । आयआर्जनको स्रोत बढाउँदै युवालाई गाउँमै टिकाउने वातावरण सिर्जना गर्ने लक्ष्यसमेत रहेको होम स्टे संचालक समिति अध्यक्ष शिव राना मगर बताउँछन् ।

अहिले १० घरधुरीमा हामेस्टे सेवा संचालनमा छ । स्थानीय परिकारको अर्गानिक स्वादमात्र होइन त्यहाँ आउने पर्यटकले मनासलु हिमाल लगायतका हिमश्रृंखलाको मनमोहक दृश्य अवलोकन गर्नसमेत पाउँछन् । लोकल कुखुराको मासु, ढिंडो, गुन्द्रुक अचारलगायतका परिकार त छदै छ । त्यसमाथि सुन्तलाको जुस र वाइनको स्वाद पनि लिन पाइन्छ । पाहुनाहरु मगर समुदायको संस्कृति कौरा, सोरठी, मारुनी, थाली र झ्याउरेमा रम्न पाउँछन् ।

समितिले होम स्टे आउने पर्यटकका लागि प्रति व्यक्ति एक हजार रुपैयाँको प्याकेज बनाएको छ । उक्त प्याकेजभित्र खाजा, बेलुकीको खाना (लोकल कुखुराको मासुसहित) र एक रातको बसाई पर्ने रानाले बताए । ‘होमस्टे संचालन भएका घरलाई हामीले नम्वरिङ गरेका छौं,’ उनले भने, ‘पहुना राख्न ती घरहरुलाई आलोपालो गर्छाैं ।’ आम्दानीको दश प्रतिशत रकम भने समितिमा राख्नुपर्ने व्यवस्था रहेको उनले बताए । उनका अनुसार कात्तिकदेखि माघ महिनासम्म आउने पाहुनाले बोटबाटै टिपेर ताजा सुन्तलाको स्वाद लिन पाउनेछन् । रसिलो र मिठो हुने भएकाले मनकामनाको सुन्तला ब्राण्ड बनिसकेको छ ।

होम स्टेका बेडहरू ।

होम स्टेमा हाल ४४ जना पाहुना अट्छन् । एउटा सामुदायिक हलसमेत बनाइएको छ । होमस्टे संचालनका लागि स्थानीयले ६५ दिने सिटिइभिटी सर्टिफाइड तालिमसमेत लिएका छन् । एलडब्लुआर, सहमति र पालिकाको समन्वयमा उनीहरुलाई तालिम दिइएको हो ।

विपद् उत्थानशील युवा महिला उद्यमी परियोजना अन्तरगत दिइएको तालिममा होम स्टे संचालन गर्ने सीप सिकाइएको परियोजना संयोजक शिव सुवेदीले बताए । ‘पाहुनालाई स्वागत सत्कार कसरी गर्ने, सुत्ने कोठाका बेडहरु कसरी मिलाउने, किचेन गार्डेनिङलगायतका कुराहरु तालिममा सिकायौं,’ उनले भने । सुन्तलाको पकेट क्षेत्र भएकाले सुन्तलाको जुस बनाउने तरिका पनि सिकाइएको उनले जानकारी दिए ।

होम स्टेमा आएका पाहुनाका लागि आयोजित मगर सांस्कृतिक कार्यक्रम ।

सुवेदीका अनुसार स्थानीयलाई कौरा र थाली नाँचको प्रशिक्षण समेत दिइएको थियो । तनहुँको घिरिङबाट मगर समुदायको टोली बोलाएर सात दिनसम्म कौरा नाँचको प्रशिक्षण दिइएको छ । थाली नाँचसम्बन्धी प्रशिक्षण म्याग्दीकी पविता पुनले दिएकी थिइन् ।

होम स्टे संचालनले तरकारी खेतीलाई बजारको समस्या नभएको संचालक समिति सदस्य तुलसी थापा मगरले बताइन् । ‘सिस्नोको पाउडर, जिम्बु पनि उत्पादन गर्छाैं,’ उनले भनिन्, ‘तरकारी होस् वा फलफुल हामीले गर्ने उत्पादन सबै पाहुनाका लागि खपत हुन्छ, बजारमा बेच्न लानुपर्ने झन्झट छैन ।’ यसको आयआर्जनमा समेत वृद्धि गरेको उनले सुनाइन् ।

होम स्टेमा पाइने खानाका परिकार ।

मगर समुदायको संस्कृति जर्गेनामा समेत होम स्टे ले सहयोग पुर्‍याउने स्थानीयको अपेक्षा छ । सो क्षेत्रमा रहेका अन्य घरधुरीमा पनि होम स्टे विस्तार गर्ने योजना रहेको अध्यक्ष रानाले बताए । ‘सडक छेउमा भएकालाई होटलको रुपमा लाने र बाँकी घरलाई होम स्टे मा जोड्ने योजना छ,’ उनले भने ।

पारिवारिक वातावरण रहेको उक्त होम स्टेबाट प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्न पैदल करिब दश मिनेटमात्र लाग्ने समितिले जनाएको छ । मनकामनाको दर्शनसँगै होम स्टेको मज्जा लिन समितिले भक्तजन तथा पर्यटकहरुलाई आग्रह समेत गरेको छ ।

कसरी पुग्न सकिन्छ होम स्टे

होम स्टे सञ्चालित एक घर ।

तनहुँको आँवुखैरेनी र गोरखा जोड्ने मस्र्याङदी नदीमाथिको पुल तरेर दायाँतर्फ लागेपछि करिब ८ किलोमिटरको दूरीमा यो होम स्टे रहेको छ । सडक सञ्जाल जोडिएका कारण चार वा दुई पाङग्रे सवारीमा सजिलै पुग्न सकिन्छ । मनकामना केबुलकारबाट पनि पुग्न सकिन्छ । मनकामना मन्दिर पुगेर करिब दश मिनेटको पैदल दूरी तय गरेपछि यो गाउँ पुग्न सकिने स्थानीय बताउँछन् ।

पाहुनालाई स्वागत गर्न तयारी अवस्थामा होम स्टेका सञ्चालकहरू ।
हो स्टे सञ्चालक समिति ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?