+
+
सूर्यदर्शन सहकारी प्रकरण :

७८ वर्षीय कृष्णको बयान- पेन्सनबाट १/२ लाख सहयोग गर्न तयार छु

अमृत सुवेदी अमृत सुवेदी
२०८१ पुष २५ गते १३:३८

२५ पुस, पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादी बनाइएका ७८ वर्षीय कृष्णबहादुर गुरुङले सामूहिक जिम्मेवारीमा पर्ने रकम आफ्नो पेन्सन रकमबाट तिर्न तयार रहेको बयान दिएका छन् ।

आफ्नो शेयर रकम पनि निकालेर बेलायत गएको, सञ्चालक समिति सदस्य रहेकोसमेत पक्राउ परेपछि मात्र जानकारी पाएको भन्दै उनले १/२ लाख रुपैयाँ तिर्न तयार रहेको बयान दिएका हुन् ।

कास्की जिल्ला अदालतमा दायर भएको पुरक अभियोजनको आधारमा बेलायत उड्न लाग्दैगर्दा २० मंसिरमा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको थियो ।

सहकारीको २७ भदौ ०६५ मा बसेको पहिलो वार्षिक साधारण सभाबाट १७ मंसिरसम्म सञ्चालक समिति सदस्य निर्वाचित भएकोबारे पनि आफूलाई पक्राउ परेपछि मात्रै जानकारी पाएको उनले बयानका क्रममा भनेका छन् ।

२५ हजार रुपैयाँ हालेको शेयर पनि सन् २०१३ मा नेपाल फर्किएपछि सहकारीको रकम हिनामिना भएको जानकारी पाएपछि फिर्ता गरेको र त्यसपछि कहिल्यै सहकारीमा नफर्किएको गुरुङले बयानमा भनेका छन् ।

ज्ञानबहादुर बम्जन संस्थापक अध्यक्ष रहेर उनकै छोरी मीनाकुमारी गुरुङ उपाध्यक्ष र कृष्णबहादुर सञ्चालक समिति रहेका बखत ५३ लाख ७६ हजार ३०८ रुपैयाँ लगानी भएको रकम अहिलेसम्म पनि नउठेको भन्दै उनीहरूसहित ११ जनालाई सामूहिक बिगो दाबी गरिएको छ ।

बेलायती गोर्खा सैनिकबाट अवकाशप्राप्त पोखरा–११ रानीपौवाका कृष्णबहादुरले आफू सहकारीको अपचलनमा संलग्न नरहेको बताएका छन् ।

‘मलाई ५३ लाख ७६ हजार ३ सय ८ रुपैयाँ २२ पैसाको बारेमा केही पनि जानकारी छैन । मैले कुनै पनि सहकारीको रकम अपचलन गरेको छैन । तर सामूहिक जिम्मेवारीको हिसाबले मेरो पेन्सनबाट आउने रकमबाट एक दुई लाख सहयोग गर्ने हो भने त्यसको लागी तयार छु,’ कृष्णबहादुरले बयानमा भनेका छन्, ‘तर मैले सहकारी संस्थाका बचतकर्ताहरूको कुनै पनि रकम हिनामिना तथा ठगी गरेको छैन ।’

कृष्णबहादुरलाई मुटुको समस्या भएका कारण पोखराको फिस्टेल अस्पतालमा उपचारका लागि राखेर त्यहीँबाट बयानका लागि अदालत लगिएको थियो । मुटुको चालको समस्या भएका कारण शरीरमा पेसमेकर राखिएको र नियमित उपचारको प्रबन्ध मिलाउन पनि उनले अनुरोध गरेका छन् ।

कृष्णले ब्रिटिस आर्मीबाट सन् १९७२ मा अवकाश लिएको बताएका छन् । उनले आफ्ना पहिलो र दोस्रो श्रमतीको मृत्यु भइसकेको र कान्छी श्रीमती बेलायत भएकाले बेलायत आउजाउ गरिरहने गरेको बताएका छन् ।

पल्टनमै खुट्टा भाँचिएका कारण अवकास लिएको र मुटुमा समस्या भएका कारण ४ महिनाअघि पेसमेकर राखिएको उनले बताएका छन् ।

१५/१६ वर्ष अगाडि सहकारीमा शेयर हालेको भए पनि त्यतिबेला कोको थिए भन्ने आफूले नचिन्ने कृष्णको बयान छ ।

‘म भूपू ब्रिटिस आर्मी रहेकोमा नेपाल आएको बेला एकजना टोलकै राजेश गुरुङ भन्ने व्यक्तिले सहकारीमा रकम लगानी गर्नुस्, तपाईंहरूको रकम सुरक्षित हुन्छ भनेकाले कम्तिमा पनि २५ हजार राख्नुस् भनि अनुरोध गरेकोले मैले उनै गुरुङलाई दिएको थिएँ,’ कृष्णले बयानमा भनेका छन्, ‘राजेश गुरुङले मैले दिएको २५ हजार राखी पैसा बुझाएको सुर्यदर्शन सहकारीको एउटा स्लिप दिएका थिए ।’

त्यसपछि सूर्यदर्शनमा रकम राख्दा आफूलाई दुई तीन ठाउँमा हस्ताक्षर गराइएको उनले बयानमा भनेका छन् ।

सन् २०१० को मे महिनामा बेलायत गएको र सन् २०१३ को जुन महिनाको पहिलो हप्ता नेपाल आएको उनको बयान छ ।

‘उक्त सहकारीको रकम उठाउने राजेश गुरुङलाई खोज्दा नभेटेपछि मैले सहकारीमा राखेको रकम के भयो भनी म सूर्यदर्शन सहकारीमा नै बुझ्न गएँ । बूझ्न जाँदा त्यहाँ भएका कर्मचारीले तपाईंले बचत गरेको भए रसिद लिएर आउनुस् भनेकोले मैले भोलिपल्ट राजेश गुरुङले दिएको रसिद लिएर मेरो रकम २५ हजार फिर्ता लिएको हुँ । त्यसपछि म उक्त सहकारीमा कहिले पनि गएको छैन । कुनै पनि सम्बन्ध छैन,’ उनले बयानमा भनेका छन् ।

उनले सहकारीको रकम झिक्ने प्रयोजनका लागि मात्रै हस्ताक्षर गरेको बयानमा भनेका छन् ।

सहकारीको कुनै पनि बैठकमा आफू सहभागी नभएको र कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको उनको बयान छ । गुरुङले आफ्नो हस्ताक्षर जाँच गराउन समेत बताएका छन् ।
उनले जेठी श्रीमती क्यान्सर रोगी रहेको कारण बचतकर्ता भएको केही महिनापछि लगभग ३ लाख ऋण लिएको र उक्त ऋण चुक्तासमेत गरेर आफूले रोखेको २५ हजार रुपैयाँ फिर्ता पाएको उनको बयान छ ।

बयानमा क्रममा फिस्टेल अस्पतालमा चिकित्सकले गरेको कागजात र शरीरमा पेसमेकर राखिएको विवरण पनि अदालतमा पेश गरो थिए ।

सूर्यदर्शन सहकारी प्रकरणमा कृष्णसहित ६३ जनालाई प्रतिवादी बनाउँदै गत ५ गते थप र ७ गते १ अर्ब ५१ करोड बिगो माग दाबी गर्दै पुरक अभियोजन पत्र दायर भएको हो । अहिले अदालतमा सात जना प्रतिवादीको थुनछेक बहस सकिएर जवाफी बहस हुँदै फैसलाको चरणमा छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?