+
+

लोक्याप कम्पनीका सेयरमा ‘पम्पिङ एन्ड डम्पिङ’

यतिबेला बजारमा लोक्याप कम्पनीका सेयरमा पम्पिङ एन्ड डम्पिङ चलिरहेको छ । खराब वित्तीय स्थिति भएका कम्पनीलाई माथिल्लो मूल्यमा लैजाने र उच्च मूल्यमा पुगेपछि सर्वसाधारणलाई भिडाएर बाहिरिने ।

कमल नेपाल कमल नेपाल
२०८१ पुष २६ गते १०:०१

२६ पुस, काठमाडौं । सेयर बजारमा विश्वभरि चल्ने गरेको शब्द हो– ‘पम्पिङ एन्ड डम्पिङ’ । यसको अर्थ हो– कुनै कम्पनीको सेयर मूल्यलाई माथि लैजाने (पम्पिङ) र माथि पुगिसकेपछि आम सर्वसाधारणलाई महँगोमा भिडाएर बाहिरिने (डम्पिङ) ।

यतिबेला बजारमा लोक्याप कम्पनीका सेयरमा यस्तै चलिरहेको छ । खराब वित्तीय स्थिति भएका कम्पनीलाई माथिल्लो मूल्यमा लैजाने र उच्च मूल्यमा पुगेपछि सर्वसाधारणलाई भिडाएर बाहिरिने ।

नेपाल फाइनान्सको सेयर मूल्य गत २८ साउनमा २ हजार ४ सय १८ रुपैयाँ पुग्यो । जतिबेला विभिन्न क्लब हाउसमा यस कम्पनीको मूल्य ५ हजार रुपैयाँ पुर्‍याइने भन्दै लगानीकर्ता दीपेन्द्र अग्रवालले खुलेआम अन्यलाई उक्साइरहेका थिए ।

एक वर्षअघि जम्मा ३ सय हाराहारी मूल्य रहेको कम्पनी २४ सयसम्म पुर्‍याइएको थियो । जसले गर्दा सर्वसाधारण धेरै ५ हजार पुग्ने प्रलोभनमा परे ।

सेयर बजारका एउटा ठूलै खेलाडी रहेकाले अग्रवालको भनाइलाई धेरैले विश्वास पनि गर्छन् । मूल्य विगतमा दैनिक १० प्रतिशतका दरले बढिरहेको नेपाल फाइनान्स फेरि १० प्रतिशतका दरले बढ्ने भन्दै खुलेयाम क्लब हाउसमा चर्चा भएपछि बजारभरि हल्ला फैलाइयो ।

कम्पनीको डिमान्ड पक्ष पनि बलियो बनाइयो, धेरै सेयर बेचियो, तर मूल्य बढ्न सकेन । मूल्य घट्दा पनि ‘करेक्सन’ भनेर अल्मल्याइयो र कतिपयले करेक्सनकै रूपमा बुझेर एभरेजिङ गरे । कम्पनीलाई ३ सय मूल्यबाट ‘पम्पिङ’ गरेर २४ सयसम्म जसरी पुर्‍याइएको थियो । त्यसैगरी साउन अन्तिमदेखि झार्न थालियो ।

मूल्य निरन्तरजसो घट्दै गएर अहिले १ हजार हाराहारीमा झरेको छ । मूल्य २४ पुग्दा बजारमा हल्ला गरेर ‘डम्पिङ’ तिर लैजान खोजिएको विषय सर्वसाधारणले पाएनन् । हल्लाका भरमा लगानी गर्नेको सम्पत्ति मूल्य अहिले आधाभन्दा थोरै छ ।

‘पम्पिङ एन्ड डम्पिङ’ मा नेपाल फाइनान्स मात्र होइन, थुप्रै कम्पनी

नेपाल राष्ट्र बैंकले ११ मंंसिरमा कर्णाली विकास बैंकलाई समस्याउन्मुख रहेको भन्दै निक्षेप संकलन तथा कर्जा प्रवाहमा रोक लगायो ।

यो सूचनापछि कम्पनी संकटमा रहेको र जुनसुकै बेला समस्याग्रस्त भई कारोबार रोकिने र सम्पत्ति बन्धक बन्ने प्रष्ट थियो । यति पनि नबुझ्ने लगानीकर्ता सायदै होलान् । तर, भोलिपल्ट यस बैंकको सेयर मूल्य १० प्रतिशत बढेर हालसम्मकै उच्च ८ सय ४६ रुपैयाँ पुग्यो । बाहिरिनका लागि निश्चित समूहले कम्पनीको मूल्यलाई केही पम्पिङ गर्‍यो । एकाएक मूल्य उचालिँदा यसमा पनि सर्वसाधारण झुम्मिए ।

अन्ततः त्यसको एक महिनापछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्‍यो, एक सेयर कारोबार रोकियो । पम्पिङ गरेर मूल्य बढाएकाले एक महिनासम्म बेच्ने मौका पाए । अन्ततः कारोबार रोकिँदा मूल्य ८ सय १० मै रोकियो । अहिले २४ लाख ६३ हजार सर्वसाधारणको सेयर बन्धक बनेको छ । अब मूल्य घटाएर बेच्न चाहनेले पनि मौका पाएनन् ।

एक मेगावाटभन्दा कम क्षमताको जलविद्युत् आयोजना सञ्चालन गर्ने कुथेली बुखरी स्मल हाइड्रोपावर अहिले बजारमा पम्पिङ भइरहेको छ । सेक्टरकै सबैभन्दा धेरै प्रतिकित्ता २ हजार ५ सय १० रुपैयाँ मूल्य पुगेको छ । ९ सय ९८ किलोवाटको आयोजनाको कुल लागत नै एक मेगावाटभन्दा बढी २५ करोड रुपैयाँ छ । जुनसुकै बेला वा संस्थापक सेयरमा तीन वर्षको लकइन अवधि सकिएपछि डम्पिङ जोखिम छ ।

बजार नियमन गर्ने प्रमुख जिम्मेवारी धितोपत्र बोर्ड भए पनि यसलाई खोक्रो बनाइएको छ । बजारलाई नियमन गर्ने संयन्त्र र क्षमता बोर्डको नरहेको र आम सर्वसाधारणलाई जोखिम बढेको सम्बद्ध जानकार बताउँछन् ।

‘बोर्डसँग नियमन गर्नका लागि सोही अनुसार प्रविधि छैन, जनशक्ति पनि छैन जसले गर्दा बजार नियमन नै भएको छैन,’ बजारका जानकार तथा प्राध्यापक भरतसिङ थापा भन्छन् ।

ब्रोकर कम्पनीसँग मिलेर नियमनका लागि बलियो संयन्त्र विकास गरिनुपर्नेमा उनले जोड दिए । ब्रोकर कम्पनीहरू, नेप्से, धितोपत्र बोर्ड र राष्ट्र बैंकबीच प्रभावकारी समन्वय हुनुपर्नेमा अहिले त्यो अभाव रहेको उनको भनाइ छ ।

‘अहिले बजारमा फलानो व्यक्तिले यो कम्पनीको सेयर किन्यो, अब बढ्छ भन्ने हल्लाका भरमा लगानी हुन थाल्यो,’ थापाले भने, ‘यसले गर्दा कम्पनीको वित्तीय स्थिति एकातिर छ, बजारमा चलाइएका कम्पनी अर्कातिर ।’

प्रभावकारी संयन्त्र नहुँदा नियमनमा प्रभावकारिता हुन नसकेको बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ स्वीकार्छन् । ‘नेपालमा पूँजीबजारको आकार जसरी बढ्दै गयो, सोही अनुसार बोर्डको संयन्त्र विकास हुन सकेन,’ अध्यक्ष श्रेष्ठले भने, ‘समय अनुसार प्रविधि अवलम्बन हुन नसकेको, जनशक्ति व्यवस्थापन नभएको पाएँ ।’

बजार नियमन आफ्नो प्राथमिकतामा रहेको उनले दाबी गरे । कम्पनीहरूमा भइरहने पम्पिङ एन्ड डम्पिङका विषयमा लगानीकर्ता आफैं सचेत हुनुपर्ने अवस्था छ ।

‘नियमन राम्रो नभएको बजारमा लगानीकर्ता धेरै चनाखो हुनुपर्छ, होहल्ला या कसैले भनेका भरमा किनबेच गर्नु भनेको पूर्णरूपमा जोखिम मोल्नु हो,’ थापाले भने ।

बोर्ड अध्यक्ष श्रेष्ठले बजारमा केही विकृति रहेको स्वीकार्छन् । ती विकृतिलाई निर्मुल पारी लगानीकर्तालाई विश्वास दिलाउने गरी आफूले काम गर्ने उनले प्रतिबद्धता जनाए ।

‘बजारमा हुन सक्ने गलत क्रियाकलाप नियन्त्रणका लागि नियामक कडाइसाथ प्रस्तुत हुन केही कानुनमा परिमार्जन गर्नुपर्ने आवश्यकता पनि छ,’ उनले भने, ‘केही प्रविधि पनि भित्र्याउनुपर्ने छ ।’

लगानीकर्ता सुवासचन्द्र ढुंगाना लोक्याप कम्पनीलाई केही अपरेटरले सहज चलाउन सक्ने भएकाले मूल्य उचालिने गरेको बताउँछन् ।

‘उनीहरू केही कम्पनीको मूल्यलाई माथि लैजाने क्षमता राख्छन्, मूल्य घट्न नदिने क्षमता पनि राख्छन् र जरुरत परेको खण्डमा मूल्य घटाउने पनि क्षमता राख्छन्,’ उनले भने ।

लोक्याप कम्पनीलाई एउटा समूहले सहजै पम्पिङ गरेर मूल्यलाई काबुमा राख्न सक्ने स्थिति छ ।

जब मूल्य बढ्दै जान्छ, त्यसपछि मात्रै सर्वसाधारण लगानीकर्ता कम्पनीमा झुम्मिन थाल्छन्, त्यतिबेलै अपरेटरले सेयर बिक्री गर्न थाल्छन् । जब ठूलो परिमाणमा बिक्री हुन्छ, त्यसपछि मूल्य पनि स्वाभाविक घट्न जान्छ । यही चक्र अहिले धेरै लोक्याप कम्पनीमा चलिरहेको छ ।

जतिसुकै कमजोर वित्तीय स्थिति भए पनि त्यस्ता कम्पनीलाई निश्चित समूहले चलाउन सक्ने भएकाले मूल्य पनि उच्च छ ।

यस्ता कम्पनीमा नै पम्पिङ एन्ड डम्पिङ भइरहेको छ । वित्तीय स्थिति समेत मजबुत नरहेका यस्ता कम्पनीप्रति लगानीकर्ता सधैं सचेत रहनुपर्ने थापा बताउँछन् ।

बजारको फ्रन्टलाइनमा ब्रोकर कम्पनी रहने भएकाले बोर्डले प्रभावकारी नियमनका लागि ब्रोकर कम्पनीहसँग समन्वय गर्नैपर्ने उनको भनाइ छ । हरेक कारोबार विवरण बोर्डलाई स्पष्ट थाहा हुने गरेको ब्रोकर सञ्चालक बताउँछन् ।

‘कारोबारको सबै विवरण नेप्सेको सिस्टममा हुन्छ, बजारको नियामक भएकाले यो बोर्डलाई सहजै उपलब्ध छ,’ ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने ।

बजारलाई निष्पक्ष र पारदर्शी बनाउन अरू जिम्मेवार पक्ष पनि गम्भीर हुनुपर्ने बोर्ड अध्यक्ष श्रेष्ठको भनाइ छ । ‘कम्पनीका अडिटर, बिक्री प्रबन्धक वा मर्चेन्ट बैंकर, रेटिङ कम्पनी, स्टक एक्स्चेन्ज पनि आफ्नो कार्यप्रति जिम्मेवार हुनुपर्छ,’ श्रेष्ठले भने ।

कम्पनीको सम्पत्ति तथा दायित्व अवस्था, नाफा नोक्सान हिसाब, लगानीपछिको रिटर्न, पेब्याक पिरियड जस्ता सम्बन्धमा अडिटरले गरेको मूल्यांकनलाई सबैले मान्ने गरिएको उनले बताए । रेटिङ कम्पनीले पनि वास्तविकताका आधारमा रेटिङ गर्नुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा
कमल नेपाल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?