+
+

सरकारका प्रवक्ता भन्छन्- संविधान संशोधन हुन्छ, गर्छ, गर्ने हो

प्रतिनिधि सभामा दुई दलको बहुमत पुगे पनि राष्ट्रिय सभाबाट अड्किने सम्भावनालाई हेर्दै प्रधानमन्त्रीले त्यस्तो भनेको हुनसक्ने सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको भनाइ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २६ गते १३:०१

२६ पुस, काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन हुने दाबी गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय समिति बैठकमा ०८७ सालमा मात्रै संविधान संशोधन हुने भनेर दिएको अभिव्यक्तिको बचाउ गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘संविधान संशोधन हुन्छ, गर्छ, गर्ने हो । किनभने, हाम्रो ७ बुँदे राजनीतिक सहमतिमा पनि यही कुरा थियो,’ शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले भने ।

प्रतिनिधि सभामा दुई दलको बहुमत पुगे पनि राष्ट्रिय सभाबाट अड्किने सम्भावनालाई हेर्दै प्रधानमन्त्रीले त्यस्तो भनेको हुनसक्ने उनको भनाइ थियो ।

‘अहिलेको सिनारियो भनेको प्रतिनिधिसभामा दुई वटा दलको मात्रै बहुमत पुग्छ । तर, राष्ट्रिय सभामा समस्या भइरहेको छ,’ गुरुङले भने, ‘त्यहाँबाट पनि पास हुनुपर्ने हुन्छ । राष्ट्रिय सभाबाट रोकिने स्थिति बन्यो भने त्यो प्रक्रिया टुंगिँदैन भन्ने भन्नुभएको होला भन्ने लाग्छ ।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपाली कांग्रेसका नेताहरूले विरोध जनाइरहेका छन् ।

तर, प्रधानमन्त्रीको भनाइको आशय संविधान संशोधन नै नगर्ने भन्ने नभएको प्रवक्ता गुरुङले स्पष्ट पारेका छन् ।

‘उहाँले भन्नुभएको कुरा चाहीँ के हो जस्तो लाग्छ भने, हरेक १०/१० वर्षमा संविधानको सबल र दुर्बल पक्ष के के रहे भनेर हेर्ने भन्ने हो । त्यो चिजलाई हामीले तयारी गर्नुपर्‍यो  । त्यो सबैको आधारमा समीक्षा गर्ने र संशोधन गर्ने भनिएको हो,’ उनले भने, ‘पहिलो त दुई दलको बीचमा सहमति हुन्छ । त्यसपछि हामीले सम्बोधन गर्ने र अनय दलहरूसँग छलफल हुन्छ । विपक्षी दलसँग छलफल हुन्छ । प्रक्रिया यो हो । उक्त प्रक्रियामा जाँदा अहिलेको सिनारियोबारे उहाँले भन्नुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?