+
+
सुप्रिम सहकारी ठगी प्रकरण :

रविविरुद्ध बुटवलमा पनि मुद्दा दायर हुँदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

रवि लामिछानेको नाममा २ करोड कर्जा

पूरक अभियोजनमा रविसहित कतिजना प्रतिवादी बनाइने र बिगो कति भन्ने विषयमा प्रहरीले केही पनि खुलाएको छैन ।

नारायण अधिकारी नारायण अधिकारी
२०८१ पुष २६ गते १४:१७

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुटवल प्रहरीले बुझाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो । रुपन्देहीका एसपी रन्जितसिंह राठौरले प्रतिवेदन बुझाएको पुष्टि गरे ।

‘हामीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएका छौं । बाँकी काम अब उतैबाट हुन्छ,’ एसपी राठौरले अनलाइखबरसँग भने ।

लामिछाने जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार छुटेका थिए । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।

उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रहरी स्रोतका अनुसार रुपन्देही प्रहरीले आज शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

कास्की प्रहरीमा अनुसन्धान भइरहेका बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।

यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

अहिले पूरक अभियोजनमा रविसहित कतिजना प्रतिवादी बनाइने र बिगो कति र जाहेरकर्ता कति भन्ने विषय प्रहरीले केही पनि खुलाएको छैन ।

प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर आइतबार सोमबारतिर सरकारी वकिल कार्यालय रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको पहिलो चरणको अनुसन्धानबाटै खुलेको थियो । जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको उल्लेख थियो ।

गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो । गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यसबेला राई र जोशीको समान दुई लाख ५० हजार कित्ता शेयर थियो ।

टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने एक लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो ।

गितेन्द्रबाबु र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगन्जलगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौं रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको छ ।

त्यस्तै, दुई करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख थियो । यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र चार लाख सेवा शुल्क कटाएर एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचरमार्फत जम्मा भएको खुलेको थियो ।

‘संस्थाको बचत सदस्य रवि लामिछानेको नाममा कुनै प्रक्रिया पूरा नगरी ऋण लगानी गरेको’ पहिलो चरणमा अदालतमा दायर अभियोगपत्रमा भनिएको छ, ‘भौचर सदर गर्ने सागर केसी, रकम जम्मा गर्ने रोसनी गुरुङ ।’ सागर केसी सहकारीका व्यवस्थापक हुन् भने रोशनी लेखा शाखामा काम गर्ने कर्मचारी हुन् ।

यता, पोखरामा धरौटी बुझाएर छुटेका रवि आज काठमाडौं जिल्ला अदालतमा हाजिर हुँदैछन् । ‘उहाँ जहाजमार्फत काठमाडौं आउँदै हुनुहुन्छ । त्यसपछि आजै अदालत उपस्थित हुने तयारी छ’ रास्वपाका एक नेताले भने । लामिछाने आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले उनलाई छाडेको थियो । बिहीबार राति उनी पोखरा नै बसेका थिए ।

लामिछानेविरुद्ध काठमाडौंमा भने कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि मुद्दा दायर भएको छ । गत आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर गत मंगलबार नै रिहा भइसकेका छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?