+

कीर्तिपुरमा शनिबारदेखि पुष्पसदन बुद्धिचाल प्रतियोगिता हुँदै

२०८१ पुष  २६ गते २२:१६ २०८१ पुष २६ गते २२:१६
कीर्तिपुरमा शनिबारदेखि पुष्पसदन बुद्धिचाल प्रतियोगिता हुँदै

२६ पुस, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा अवस्थित पुष्पसदन आवासीय माध्यमिक विद्यालयको आयोजनामा शनिबारबाट पुष्पसदन बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा स्वदेशी र विदेशी गरी २ सय ५० जना सहभागी हुने भएका छन् ।

विद्यालय परिसरमै पुस २९ गतेसम्म चल्ने पुष्पसदन अन्तर्राष्ट्रिय अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५ मा भारतका ९ जना विद्यार्थीसहित देशभरका गरी २ सय ५० विद्यार्थीले प्रतिस्पर्धा गर्ने पुष्पसदन विद्यालयका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा पोखराका ८ जना पनि सहभागी छन् । ३ दिन चल्ने प्रतियोगिता शनिबार विहान १० बजेबाट सुरु हुनेछ । शनिबार २ राउण्डमा तथा आइतबार ३ राउण्डमा प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन सोमबार २ राउण्डमै प्रतिस्पर्धा हुनेछ ।

उनका अनुसार बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरिएको थियो ।

प्रतियोगितामा काठमाडौं उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको उनले बताए ।

नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लिग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिने प्रतियोगितामा ११ वर्ष मुनि, १३ वर्ष मुनि , १५ वर्ष मुनिका उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् ।

१०औं स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा कास्य पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने विद्यालयका खेलकुद संयोजक एवं प्रतियोगिता संयोजक राजु लामाले जानकारी दिए ।

पुष्पसदनले टेबल टेनिस, बास्केटबल, बुद्धिचाल लगायतका खेलको कीर्तिपुर नगरस्तरीयदेखि लिएर उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मको अन्तरविद्यालय तथा खुल्ला प्रतियोगिता सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल आरडि राईले जानकारी दिए ।

यस्तै आगामी माघ २४ देखि २६ गतेसम्म विभिन्न उमेर समूहमा काठमाडौं उपत्यकाव्यापी अन्तरविद्यालय टेबुल–टेनिस प्रतियोगिता पनि आयोजना गर्ने उनले बताए ।

पुष्पसदन बुद्धिचाल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय