
अधिकांश टर्किस सिनेमाहरू उदास हुन्छन्, कम्तीमा मलाई यस्तै लाग्छ। प्रथम विश्वयुद्धबाटै रणभूमिमा उत्रिएको टर्कीको इतिहास हेर्ने हो भने कालो र भयानक देखिन्छ। जमेर कट्कटिएको रगत जहिल्यै कालो देखिन्छ। सायद त्यसैले पनि होला, टर्कीको साहित्य होस् अथवा सिनेमा युद्धले दिएका आघातका खतहरू अहिले पनि भेटिन्छन्, विभिन्न बिम्ब तथा प्रतिबिम्बका रूपहरूमा।
केही समयअघि मात्रै निर्देशक ‘ओजकान अल्पर’द्वारा निर्देशित टर्किस सिनेमा ‘मेमोरिज अफ द विन्ड’ हेरेको थिएँ, जुन सन् १९१५ मा भएको अर्मेनियाली जनसंहार र त्यसले निम्त्याएको दारुण परिणाम हुँदै दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा केन्द्रित रहेको छ।
१४औं शताब्दीदेखि २०औं शताब्दीसम्म युरोप र एशियामा एउटा शक्तिशाली तथा प्रभावशाली साम्राज्यको रूपमा ओटोमन साम्राज्य अथवा टर्किस साम्राज्यलाई लिइन्थ्यो। टर्किस साम्राज्यको पूर्वी क्षेत्रहरू (विशेषगरी अनातोलिया) मा आर्मेनियालीहरू बसोबास गर्थे। उनीहरू व्यापार, शिक्षा तथा कलामा कुशल र प्रख्यात थिए। इसाई धर्ममा विश्वास राख्ने उनीहरू अल्पसंख्यक समूह थिए, जबकि त्यस साम्राज्यका बहुसंख्यक अथवा बाहुल्य भने मुस्लिमहरूको थियो।
सरकारले आर्मेनियालीहरूबाट अत्यधिक कर असुल गरिरहेका थिए। उनीहरू अन्य समुदायबाट लगातार धार्मिक तथा जातीय विभेद सहँदै आइरहेका थिए। जब १९औं शताब्दीमा ओटोमन साम्राज्य विस्तारै कमजोर हुँदै गइरहेको थियो, त्यही मौकामा आर्मेनियालीहरूले आफ्नो राजनीतिक स्वतन्त्रता र समानताका निमित्त आवाज उठाउन थाले। केही आर्मेनियाली समूहहरूले भने स्वतन्त्र राज्यको माग पनि गर्न थाले, जसले गर्दा ओटोमन नेतृत्वलाई डर र शंका बढ्दै जान थाल्यो।
प्रथम विश्वयुद्ध सुरु भएपछि ओटोमन साम्राज्य जर्मनीको पक्ष लिएर युद्धमा सामेल भयो। त्यो समयसम्म ओटोमन नेताहरूले आर्मेनियालीहरूलाई आफ्ना आन्तरिक दुश्मन मान्न थालिसकेका थिए। उनीहरूलाई लाग्न थालेको थियो, आफूविरुद्ध युद्धमा लडिरहेको रूसलाई आर्मेनियालीहरू सहयोग गरिरहेका छन्।
त्यसैको परिणामस्वरूप युद्ध सुरू भएको लगभग एक वर्षपछि इस्तानबुलमा २३ अप्रिल १९१५ मा दुईसय भन्दा बढी आर्मेनियाली बौद्धिक, लेखक र राजनीतिक नेताहरूलाई गिरफ्तार गरी हत्या गरिन थालियो। एक प्रकारले त्यस घटनालाई अर्मेनियाली नरसंहारको औपचारिक सुरुवात भएको पनि मानिन्छ।
त्यसपश्चात् विस्तारै आर्मेनियालीहरूलाई ओटोमन साम्राज्यबाट जबरजस्ती हटाएर सिरिया र मेसोपोटामियाको मरुभूमितर्फ लगियो। त्यस क्रममा लाखौं मान्छेले भोक, थकान र हिंसाका कारण ज्यान गुमाउन पुगे। उनीहरूको घर, सम्पत्ति, व्यापार सबै सरकारद्वारा कब्जा गरियो।
आर्मेनियाली पुरुषहरूलाई गिरफ्तार गरी मारिन थालियो। महिला, बालबालिका र वृद्धहरूलाई बलात्कार, जबरजस्ती धर्म परिवर्तन र मानव तस्करीको शिकार बनाइयो। आर्मेनियाली नरसंहार प्रथम विश्वयुद्धको समयमा ओटोमन साम्राज्यद्वारा सुनियोजित रूपमा गरिएको जनसंहार थियो, जसमा करिब १५ लाखभन्दा बढी आर्मेनियालीहरूलाई मारिएको अनुमान छ।
यसलाई २०औं शताब्दीको पहिलो नरसंहार पनि मानिन्छ। सन् १९२३ मा टर्की गणतन्त्रको स्थापना भएपछि पनि त्यस नरसंहारलाई टर्कीले स्वीकार गरेको छैन। तर, आजसम्म थुप्रै देशले यसलाई आधिकारिक रूपमा नरसंहार भनेर मान्यता दिइसकेका छन्।
फिल्म ‘मेमोरिज अफ द विन्ड’को क्यानभास त्यही अर्मेनियाली नरसंहार हुँदै दोस्रो विश्वयुद्धसम्म तन्किएको छ, जसले राजनीतिक उत्पीडन, निर्वासन, प्रेम र पहिचानको गहिरो विषयलाई उठान गरेको छ। फिल्मको कथा अर्मेनियाली मूलका एक कवि तथा कलाकार ‘अराम’ को जीवनमा केन्द्रित रहेको छ।
उनी दोस्रो विश्वयुद्धको समयमा टर्कीमा भइरहेको राजनीतिक र जातीय विभाजनका कारण लुकेर बाँच्न बाध्य हुन्छन्, अर्मेनियाली नरसंहारको छायामा बाँचिरहेका छन्। उनको दृष्टिकोणबाट अर्मेनियालीहरूले भोग्नु परेको दु:ख र पीडालाई फिल्ममा देखाइएको छ। उनले त्यस क्रूर इतिहासको प्रतिनिधित्व गरेका छन्।
टर्की दोस्रो विश्वयुद्धमा तटस्थ भए पनि सरकार हिटलरको पक्षमा छ। युद्ध चलिरहेको छ। यस्तो भयावह समय बगिरहेको छ, जहाँ जसले सरकारको विरोध गर्छ, सरकारको विरुद्ध आफ्ना विचारधारा राख्छ, उसलाई देशद्रोही घोषित गरिन्छ।
टर्की नाजीहरूसँग मिलेर अल्पसंख्यक समुदाय र विपक्षी पार्टीका सदस्यहरूको पहिचान गर्दै उनीहरूलाई सजाय दिइरहेका छन्। विरोधी पत्रिका-प्रकाशनमा काम गर्ने अरामलाई पनि सरकारबाट देशद्रोही ठहर गरिन्छ, लगत्तै उनीमाथि निगरानी बढाइन्छ। उनलाई पक्राउ गर्ने आदेश दिइन्छ।
उनी आफ्नो स्वतन्त्रताको लागि राजधानीबाट भागेर टर्कीको सुदूर उत्तरको पहाडी इलाकातिर जान्छन्। फिल्मको कथा त्यो समयको टर्कीको सामाजिक र राजनीतिक परिदृश्यसँग जोडिएको छ। त्यो बेला सरकार युद्धमा तटस्थ भए तापनि, त्यहाँ रहेका अल्पसंख्यकहरूलाई विभिन्न प्रकारको उत्पीडनको सामना गर्नुपरेको थियो।
अराम टर्कीको एक छेउबाट अर्को छेउसम्म भाग्छन्। उनी सोभियत जर्जियाको बन्द भएको सिमानामा पुग्छन्, जसलाई सैनिकहरूले कडा निगरानी गरिरहेका हुन्छन्। फिल्म बिस्तारै टर्कीका सुन्दर पहाडहरू र जंगलमा बग्न थाल्छ। अराम एउटा घरमा शरण लिन्छन्, जहाँ एक वृद्ध मिकाइल र उनको भर्खरकी स्वास्नी मेरियम बस्छिन्। अरामले सुरूमा उनीहरूलाई बुबा-छोरी सोचेका हुन्छन्।
यसरी अराम पहाडहरूमा लुकेर बाँच्न थाल्छ, जहाँ उनको जीवन अज्ञात र अस्थायी बन्छ। उनलाई त्यहाँ विगतका स्मृतिहरू, परिवार, पहिचान, प्रेम, अर्मेनियामा भएका नरसंहारहरू र आफ्नो देशबाट भाग्नुपरेको पीडाहरूले सताइन्छन्।
उनले त्यहाँ एक प्रकारले आन्तरिक संघर्षको सामना गर्नुपर्छ। उनी आफ्नो विगत र वर्तमान परिस्थितिको द्वन्द्वबीच पिल्सिन्छन्। उनी पहाडको एकान्तमा बसेर पनि डर, एक्लोपन र दु:खसँग लगातार जुधिरहनुपर्छ। युद्धको तनाव र उनको निर्वासनको पीडा झनै गहिरिंदै जान्छ।
फिल्मले अरामको आन्तरिक संघर्षलाई शारीरिक निर्वासनसँग जोडिदिएको छ। शान्त ठाउँमा पनि उनको मन शान्त छैन। निर्देशकले टर्कीको पहाडी क्षेत्रको सुन्दरता र अरामको एकान्तिक दुःखबीचको विरोधाभासलाई प्रभावकारी ढङ्गले खिचेका छन्।
यसरी सँगै बस्दा अरामको सम्बन्ध मिकाइलकी श्रीमती मेरियमसँग गहिरो हुँदै जान्छ। तर, त्यो केवल प्रेम मात्र नभएर एकअर्काको पीडा बुझ्ने र बाँड्ने सम्बन्ध बनिदिन्छ। त्यो सम्बन्ध दुवै पात्रको एकान्त र पीडाको साझा अभिव्यक्ति बनिदिन्छ। मेरियम पनि आफ्नो जीवनमा सुखी छैनन्।
उनको विवाह भावनात्मक रूपमा टुटिसकेको छ, त्यसैले पनि उनी अरामसँग भावनात्मक सान्त्वना खोजिरहन्छिन्। तर, त्यस सम्बन्धले अरामलाई झन् बढी द्वन्द्वमा पारिदिन्छ। उनी आफ्नै निर्वासनमा कैद हुन पुग्छन्।
उनी छुट्याउन सक्दैनन्, उनको त्यो प्रेम हो अथवा आफ्ना दुःखहरूबाट बच्न खोजिरहेको बहाना ? युद्धको समयमा प्रेम पनि कति कमजोर र जटिल हुँदोरहेछ भनेर उनको मनोदशालाई पढ्दा थाहा हुन्छ।
फ्ल्यासब्याकमा देखिरहने दृश्यहरू वास्तवमै बतासका सम्झनाहरू झैं लाग्छन्। ती दृश्यहरूमा अर्मेनियाली जनसंहारका कुरूप दागहरू भेटिन्छन्, जहाँ अरामले आफ्नै परिवारको मृत्यु देख्छन्। जहाँ उनी आफैंलाई देख्छन्, कालको किनार-किनार भागिरहेका।
एकदिन एउटा गाउँलेले अरामको उपस्थितिको जानकारी सरकारलाई दिन्छ। सैनिकहरू आउँछन्, घरमा आक्रमण गर्छन्। त्यहाँबाट अराम र मेरियम भाग्छन्। मेरियम पनि आफ्नो कठोर जीवनबाट मुक्त हुन चाहन्छिन्। उनीहरू एउटा सानो काठको डुंगामा चढ्छन्। सैनिकहरूले किनारबाट उनीहरूलाई ताकेर गोली चलाइरहन्छन्।
फिल्मको अन्त्यले दर्शकहरूलाई युद्ध, राजनीति र मानव पीडाको कहिल्यै नसकिने चक्र र दशाबारे सोच्न बाध्य बनाउँछ। फिल्मको अन्त्यले उत्तर होइन, गहिरा प्रश्नहरू दिएर जान्छ। ‘मेमोरिज अफ द विन्ड’ केवल एक व्यक्तिको कथा मात्र नभएर युद्धले समाजमा ल्याउने विभाजन र जातीय भेदभावका कारण पीडित थुप्रै मान्छेहरूको कथा भनेको छ। फिल्मको कथा गहिरो, संवेदनशील र ऐतिहासिक रूपमा एकदमै महत्त्वपूर्ण रहेको छ, जसले हामीमा गहिरो भावनात्मक छाप छाड्न सफल हुन्छ।
फिल्ममा धेरै संवाद छैन। फिल्म अधिकांश समय मौनतामा बग्छ। बरू, प्राकृतिक दृश्यहरू, वर्षा, एकान्तले ज्यादा बोल्छन्, तिनीहरूले पात्रहरूका भावना तथा मनोदशालाई मजासँग चित्रण गरेका छन्। ‘मेमोरिज अफ द विन्ड’लाई शान्त प्रकृतिको सौन्दर्य र गहिरो भावनात्मक कथाको मीठो संयोजन पनि मान्न सकिन्छ।
फिल्मको टाइटलले नै मानवीय भावना र प्रकृतिलाई जोडेको छ। बतासलाई सम्झना र स्वतन्त्रताको प्रतीकको रूपमा प्रयोग गरिएको छ। बतासको बहाव जस्तै, पात्रहरूको जीवन पनि स्वतन्त्रताको खोजीमा अनिश्चित दिशातर्फ बहकिरहेका छन्। फिल्मले हिंसा, पीडा र विस्थापनको असरलाई मार्मिक तरिकाले प्रस्तुत गरेको छ। प्रकृति मात्रै नभएर पृष्ठभूमिमा बगिरहने संगीतले पनि कथा र भावनालाई अझ बलियोसँग बाँधेको छ।
‘मेमोरिज अफ द विन्ड’ केवल ऐतिहासिक घटनाको पुनरावलोकन मात्र नभएर युद्धले मानिसहरूको जीवनमा पार्ने व्यक्तिगत, मानसिक र सांस्कृतिक प्रभावहरूको गहिरो अध्ययन पनि हो भनेर निर्देशकले भनेका थिए। उनले फिल्मलाई ‘युद्धको छायाँमा हराएका कला र मानवताको कथा’ भनेर परिभाषित पनि गरेका थिए।
फिल्म युद्धको प्रत्यक्ष दृश्यहरूभन्दा बढी मान्छेहरूको आन्तरिक संघर्ष र सम्बन्धहरूमा केन्द्रित रहेको छ। निर्देशकले पात्रहरूको व्यथाबाट हामीलाई मानवताको साझा पीडाबोध महसुस गराउन चाहेका छन्। उनले यस फिल्मलाई आफ्नो ‘व्यक्तिगत कथा व्यक्त गर्ने माध्यम’ भनेका थिए। उनी स्वयं युद्ध, निर्वासन र सांस्कृतिक दबाबका प्रभावहरूसँग बाँचेका थिए।
त्यसैले ‘मेमोरिज अफ द विन्ड’ उनको आफ्नै जीवनबाट प्रेरित भएको भन्दा पनि फरक नपर्ला। फिल्मले अतीतका घाउहरूको सामना गर्ने र त्यसबाट बाँच्नको लागि कला र प्रेमको शक्तिलाई प्रेरणाको रूपमा देखाएको छ।
कथा युद्धमा केन्द्रित भए पनि फिल्मभरि कहीं पनि आर्मेनियाली नरसंहारको उल्लेख गरिएको पाइँदैन। युद्ध र निर्वासनलाई प्रत्यक्ष रूपमा गम्भीर राजनीतिक कोणबाट नभएर भावनात्मक र कलात्मक ढंगबाट फिल्ममा प्रस्तुत गरिएको छ।
फिल्मले ती विवादित मुद्दाहरूलाई प्रत्यक्ष रूपमा केन्द्रमा नराखी पात्रका व्यक्तिगत व्यथाहरू मार्फत विषयवस्तुलाई उठाइएको छ। सायद त्यसैले पनि होला फिल्म प्रदर्शन हुँदा त्यसले ठूलो विरोध वा प्रत्यक्ष प्रतिबन्धको सामना गर्नु परेन। नभए, टर्की सरकारले परम्परागत रूपमा त्यस्ता मुद्दाहरूमा कडा प्रतिक्रिया जनाउने गरेको पाइएको छ।
प्रतिक्रिया 4