२७ पुस, काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत शनिबार भइरहेको नेपाल पुलिस क्लब र बागमती प्रदेशबीचको खेलमा बागमती प्रदेशका ब्याटर इशान पाण्डे दुर्लभ विकेटको शिकार भएका छन् ।
उनी ७१ रनमा ब्याटिङ गरिरहँदा फिल्डमा अवरोध पुर्याएकाले आउट दिइएका हुन् । कुशल भुर्तेलको बलिङमा ब्याटिङ गरिरहेका उनको ब्याटले बल मिस गरेको थियो । उनको खुट्टामा लागेर बल स्टम्पतर्फ गइरहेका बेला हातले बललाई रोकेका थिए ।
उनको बडी ब्यालेन्स पनि मिलेको थिएन र बललाई हातले लागेपछि पिचमा लडेका थिए । अम्पायरले केही कुराकानीपछि आउट दिएका थिए। क्रिकेटको भाषामा यसलाई ‘अब्सट्रक्टिङ् द फिल्ड’ भनिन्छ जसको अर्थ फिल्डिङमा बाधा पुर्याउनु भन्ने हुन्छ ।
क्रिकेट खेलमा यो प्रकारले आउट भएको कमै मात्रामा देखिने गर्छ । ब्याटरले जानाजान वा नियमविपरित फिल्डरलाई बाधा पुर्याएमा वा बललाई शरीरले रोक्न खोजेमा यो आउट दिइन्छ । यसमा बलरको नाममा भने विकेट जोडिने छैन ।
एमसीसीको नियममा उल्लेख भएअनुसार ब्याट समातेको भन्दा अर्को हातले बललाई रोक्न खोजेमा आउट दिन्छ । इशानको केसमा यही भएको छ । उनले बाँया हातमा ब्याट हुँदा दाँया हातले बललाई रोकेका थिए।
यदि ब्याटको एज लागेर वा ब्याटमा एकपटक टच भइसकेर बल स्टम्पतर्फ बढिरहेको छ भने त्यस अवस्थामा ब्याटले वा शरीरको अन्य कुनै भागले त्यसलाई स्टम्पमा लाग्नबाट रोक्न पाइन्छ । ब्याट नलिएको हात प्रयोग गरेमा भने आउट दिइनेछ ।
जारी खेलमा नेपाल पुलिसका श्रवन यादवले ह्याट्रिक तथा ललित राजवंशीले ४ र कुशल भुर्तेले २ विकेट लिएपछि बागमती ११२ रनमा अलआउट भएको छ ।
बागमतीका इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए ।
प्रतिक्रिया 4