+
महिला लिग फुटबल :

विभागीय डर्बीमा एपीएफको रवाफ, त्रिभुवन आर्मी पराजित

२०८१ पुष  २७ गते १६:०९ २०८१ पुष २७ गते १६:०९
विभागीय डर्बीमा एपीएफको रवाफ, त्रिभुवन आर्मी पराजित

२७ पुस, काठमाडौं । कप्तान अनिता बस्नेतको उत्कृष्ट प्रदर्शनमा एपीएफ क्लबले एन्फा महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत सुपर लिगको विभागीय डर्बी भिडन्तमा त्रिभुवन आर्मी एफसीमाथि ३-१ को जित हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शनिवार भएको सुपर लिगको तेस्रो विभागीय डर्बीमा एफीएफलाई जित दिलाउन निशा थोकर, कप्तान अनिता बस्नेत र प्रीति राईले गोल गरे । आर्मीका लागि विमला थापाले एक गोल गरिन् ।

एपीएफ र आर्मीबीचको खेलको पहिलो हाफमा दुवै टोलीले गोलका अवसर सदुपयोग गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा कूल ४ गोल भयो ।

खेलको ६०औं मिनेटमा निशा थोकरले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी थिइन् । कप्तान अनिताको फ्रिकिकमा निशाले हेड मार्फत गोल गरिन् । ६९औं मिनेटमा विमलाले आर्मीका लागि बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । तर त्यसपछि दुई गोल थप्दै एपीएफले आफू बलियो भएको साबित गर्‍यो ।

कप्तान अनिताले ८५औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाइन् । त्यसपछि इन्जुरी टाइममा कप्तान अनिताकै पासमा प्रीति राईले गोल गरेपछि एपीएफले ३-१ को जित हात पार्‍यो ।

सुपर लिगमा एपीएफले रवाफ देखाउने क्रममा अन्य दुई विभागीय टोलीलाई हराइसकेको छ र आफूलाई उपाधि दाबेदारको रुपमा उभ्याएको छ ।

लगातार चार खेल जितेको एपीएफ १२ अंक जोडेर शीर्ष स्थानमा आसिन छ । एपीएफले ५ अंकको अग्रता समेत बनाएको छ । चार खेलमा पहिलो हार व्यहोरेको आर्मी ७ अंकसहित दोस्रो स्थानमा छ ।

डबल राउण्ड रोविनका आधारमा हुने सुपर लिगमा तीन विभागीय डर्बी खेल भइसकेको छ । जसमा आर्मी र नेपाल पुलिस बीचको पहिलो डर्बी गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो डर्बीमा एपीएफले पुलिसलाई ६-० ले पराजित गरेको थियो ।

एन्फा महिला राष्ट्रिय लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय