+
+

पाटन अस्पतालको शवगृहको स्तरोन्नति, अब २४ वटा शव राख्न मिल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १३:३७

२८ पुस, काठमाडौं । ललितपुरको पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति भएको छ । ललितपुर महानगरपालिकासँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति भएको हो । शवगृहमा ४ वटा शव राख्न मिल्ने थियो भने अब २४ वटा शव राख्न सकिन्छ ।

नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिको लागि सहयोग गरेको बताए । महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउँदै भने, ‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिन्नौं ।’

उनले पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बीमा कार्यक्रमको प्रथम सेवा केन्द्र यल स्वास्थ्य केन्द्र संचालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेका बताए ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिए ।

अस्पतालका डाइरेक्टर प्रा. डा. रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिए । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उनले बताए । उनले भने, ‘कहिले काहिँ लासमाथि लाख खप्टेर राख्नुपथ्र्यो, अब त्यस्तो अवस्था आउँदैन । लास खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पर्थ्यो ।’

अस्पतालका फरेन्सिक विज्ञ डा. सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन् । ‘झट्ट हेर्दा लासलाई किन राम्रो ठाउँ चाहियो र जस्ता लाग्छ, तर त्यसो होइन,’ उनले भनिन्, ‘लासको पनि सम्मान गर्नुपर्छ, त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ ।’

विपद्का बेला अझै लाश राख्ने ठाउँको अभाव हुने बताउँदै नयाँ बन्ने भवनमा अर्को शवगृह निर्माणको लागि पनि उनले पालिकालाई अनुरोध गरिन् । भनिन् , ‘असोजको बाढीमा हामीलाई अझै गाह्रो भएको थियो ।’

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?