+
+

कांग्रेस नेता साउदले गरे सरकारको आलोचना : अध्यादेशबाट देश चलाउनु गलत

सार्वजनिक अभिव्यक्ति दिँदा संवेदनशील हुन प्रधानमन्त्रीलाई कांग्रेस नेता एनपी साउदको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १४:४०

२८ पुस, बुटवल । सत्तारुढ दल कांग्रेसकै नेताले अध्यादेशबाट देश चलाउन खोजेको भन्दै सरकारको आलोचना गरेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले ले संसद्को नियमित अधिवेशन छलेर अध्यादेशको सहारामा देश चाउन खोज्नु गलत भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।

सरकारसँग पर्याप्त बहुमत हुँदा पनि बैठक आह्वान नगरी संसद्लाई बन्धक बनाएर अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनको भनाइ छ । बुटवलमा आइतबार पत्रकारहरूसँग बोल्दै नेता साउदले तत्काल संसद्को अधिवेशन बोलाउन पनि माग गरे ।

अध्यादेशमार्फत ल्याइएका विधेयक सर्वस्वीकार्य नहुने औँल्याए । ‘संसद्लाई लामो समयसम्म बन्धक बनाउँदै अध्ययादेशमार्फत अहिलेको सरकारले विभिन्न ऐन बनाइरहेको छ, जुन संविधानसम्मत छैन यस विषयमा चौतर्फी विरोध भइरहेका छन् यसले राम्रो सन्देश गइरहेको छैन,’ उनले भने ।

ठूला दलहरू मिलेर सरकार गठन हुँदासमेत स्थिरताको ग्यारेन्टी गर्न नसकिएको भन्दै नेता साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अभिव्यक्तिमा संवेदनशील हुनुपर्ने धारणा राखे । ‘प्रधानमन्त्री केपी ओलीले आफ्ना अभिव्यक्ति राख्दा संवेदनशील हुन जरुरी छ,’ साउदले भने, ‘सहमतिविपरीतका अभिव्यक्तिले गठबन्धनको जगलाई असर गर्न सक्छ । ’

साउदले दुई दलबीचको न्युनतम साझा सहमति कार्यान्वयन नभएको गुनासासमेत आइरहेको भन्दै पूर्णपालना गर्न सुझाव दिए ।

संविधान संशोधनसम्बन्धी सञ्चारकर्मीले राखेको जिज्ञासको जवाफ दिँदै उनले सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गर्ने समय भइसकेको जिकिर गरे । हरेक १० वर्षमा संविधानका कुरा परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

लेखकको बारेमा
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?