२८ पुस, काठमाडौं । मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को उपाधिका लागि दुई विभागीय टोली भिड्ने पक्का भएको छ । माघ १ देखि हुने तीनदिवसीय फर्म्याटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने भएको हो ।
आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रह्यो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्यो । पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो ।
पुलिसले पहिलो खेलमा आर्मीसँग ड्र खेलेपछि मधेश प्रदेश र बागमती प्रदेशलाई हराएको थियो । आर्मीले पहिलो खेलमा पुलिससँग ड्र खेल्दा दोस्रो खेलमा बागमती प्रदेशसँग ड्र खेलेको थियो । तेस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।
बलरहरू हावी बनिरहेको प्रतियोगितामा पुलिसका ललिथ राजवंशी र कुशल भुर्तेल शानदार बलिङ गरिरहेका छन् । पेसमा गुल्शन झाले पनि राम्रो बलिङ गरेका छन् । आर्मीका साहब आलम र पवन कार्की स्पीनमा चम्किँदा आकाश चन्दले पेसमा राम्रो गरिरहेका छन् ।
त्यसैगरी ब्याटिङमा पुलिसका लागि अमित श्रेष्ठ र अर्जुन साउदले राम्रो लय देखाउँदा आर्मीका इमरान शेख र बसिर अहमदले राम्रो गरेका छन् । यीबाहेक अन्य खेलाडीहरूले पनि कुनै एक खेलमा राम्रो गरिरहेका छन् ।
प्रतिक्रिया 4