+
+

पाँचतारे ‘मेक्योर काठमाडौं’ २ माघदेखि खुल्ने, ‘क्वालिटी टुरिस्ट’ लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २८ गते १९:३०

२८ पुस, काठमाडौं । विश्वव्यापी कोरोना महामारीपछि बिस्तारै गति लिन थालेको मुलुकको पर्यटन क्षेत्रमा लगानीको वातावरण पनि बढ्न थालेको छ । पर्यटन क्षेत्रको एक प्रमुख हिस्सा होटल उद्योगमा पछिल्लो पटक ठूला लगानीमा अन्तर्राष्ट्रिय ब्रान्डका चेन होटल भित्रिने क्रम जारी छ ।

यही मेसोमा संघीय राजधानी काठमाडौंको सुकेधारा हाइटमा बृहत लगानीमा पाँचतारे होटल सञ्चालनमा आएको छ । केही समययता अनौपचारिक हिसाबमा आतिथ्य सत्कार सेवा दिइरहेको यो होटलले २ माघ २०८१ देखि भने औपचारिक रूपमा ‘फुलफ्लेज’ सञ्चालनमा आउन लागेको छ ।

पर्यटन व्यवसायी तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं महासंघको पर्यटन तथा हवाई यातायात समिति सभापति समेत रहेका देशबन्धु बस्नेतको लगानीमा सञ्चालनमा आउन लागेको उक्त पाँचतारे होटल हो– ‘मेक्योर काठमाडौं होटल’ ।

बढिभन्दा बढी पैसा खर्च गर्ने ‘क्वालिटी टुरिस्ट’ लक्ष्य गर्दै बस्नेतले सञ्चालनमा ल्याएको मेक्योर काठमाडौंमा ३ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

‘पर्यटन क्षेत्रमा अथाह सम्भावन देखेरै होटल उद्योगमा लगानी गरेका हौं,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘अब पर्यटनले गति लिँदैछ, विश्वस्तरीय सेवा दिएर क्वालिटी टुरिस्ट मेक्योरमा ल्याउने योजना छ ।’

होटल व्यवस्थापनका अनुसार मेक्योर काठमाडौं होटलमा लक्जरी र सुइट गरी १ सय ४ कोठा छन् । होटलमा पाँच वटा रेस्टुरेन्ट छन् । दिनभरि स्थानीय तथा अन्तर्राष्ट्रिय स्वाद पस्कने ‘डाइन’, भारतीय परिकारका लागि ‘जायका’, प्रत्यक्ष भान्सासहित बाहिरी इटालियन परिकारका लागि ‘सोप्रा इटालियानो’, आरामदायी लबी बार र पाहुनालाई शान्त वातावरण प्रदान गर्न ‘द कोभ’ र छतमा रहेको इनफिनिटी स्विमिङ पुलसहित बार तथा हिमालय र काठमाडौं उपत्यकाको मनोरम दृश्यावलोकनका लागि ‘शुक्र बार’ नामका रेस्टुरेन्ट छन् ।

त्यसैगरी साना तथा मध्यम बैठक गर्न ‘एबी सुइट–१’ र ‘एबी सुइट–२’ एवं ठूला सभा, सम्मेलन र विवाहका लागि बाहिरी क्षेत्रको सुविधा सहित ‘बलरुम–१’ र ‘बलरुम–२’ मात्र नभई आधुनिक जिम, स्टिम, सौना, वेलनेस सेन्टर लगायत पनि उपलब्ध छन् ।

‘अब साधारण होटल बनाएर क्वालिटी टुरिस्ट ल्याउन सकिँदैन,’ मेक्योर सञ्चालक बस्नेत भन्छन्, ‘दक्ष जनशक्ति मार्फत उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने हो, पर्यटक जति भए पनि आउँछन्, हामी यसमा ढुक्क छौं ।’

मेक्योरले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा अझै चिनाउने प्रयास गर्दै पाहुनालाई आधुनिक विलासिता र नेपाली सांस्कृतिक विशेषता अनुभव गराउने उद्देश्य लिएको उनले बताए ।

बस्नेतले नेपालमै पहिलो पटक फ्रान्सेली होटल व्यवस्थापन तथा सञ्चालन समूह ‘एकोर ग्रुप’ को ब्रान्ड ‘मेक्योर’ ल्याएका हुन् । सन् १९६७ मा स्थापना भएको एकोर ग्रुपले हाल १ सय १० भन्दा बढी देशमा ५ हजार ४ सयभन्दा धेरै होटल व्यवस्थापन गर्दै आएको छ ।

एकोरले हाल ४० भन्दा बढी ब्रान्डमा होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । जसमा मेक्योर, नोभोटेल, पुलम्यान, राफल्स, सोफीटेल, इबिज लगायत पर्छन् ।

बस्नेतले नेपाल ल्याएको मेक्योर होटल ब्रान्ड १९७३ मा स्थापना भएको थियो । यसको विशेषता भनेको स्थानीय सांस्कृति जरा र आधुनिककताको संयोजन गर्नु हो ।

मेक्योर ब्रान्डका होटलले स्थानीय कला, संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन तथा सेवासँग जोडेर पाहुनालाई अद्वितीय अनुभव प्रदान गर्ने गर्छ ।

‘हामीले मेक्योर काठमाडौं होटलमा पनि संसारभरिका पाहुनालाई यही अनुभव प्रदान गर्ने छौं,’ बस्नेतले भने, ‘पाहुनालाई गुणस्तरीय सेवा दिनु नै हाम्रो एकमात्र लक्ष्य हो ।’

होटल सञ्चालक देशबन्धु बस्नेत ।

हाल एकोर ग्रुपले मेक्योर ब्रान्डमा ६० भन्दा बढी देशमा ८ सय १० हाराहारी होटल व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ ।

मेक्योर काठमाडौंका सञ्चालक बस्नेतका अनुसार हाल होटलले १ सय ८० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको छ ।

‘अब बिस्तारै नयाँ ब्यांक्वेट हल र अन्य सुविधा थप्ने तयारी पनि सँगसँगै भइरहेको छ,’ उनले भने, ‘त्यसपछि रोजगारी संख्या बढेर २ सय २० सम्म पुग्ने छ ।’

होटलले प्रतिरात प्रतिकोठा न्यूनतम १ सय २५ अमेरिकी डलर तोकेको छ ।

‘सस्तोमा कोठा बेचेर क्वालिटी टुरिस्ट आउने भन्ने मान्यतामा म विश्वास गर्दिनँ,’ बस्नेतले भने, ‘उच्च गुणस्तरीय सेवामा हामी सम्झौता गर्दैनौं र त्यही अनुसार सेवा शुल्क लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?