
काठमाडौं । ‘हलिउडको घर’ मानिने अमेरिकी सहर लस-एन्जलस अहिले विनाशकारी डढेलोको चपेटामा छ । आगो नियन्त्रणमा आइसकेको छैन । नेपाली समयानुसार सोमबार बिहानसम्म २५ जनाको मृत्यु भएको छ, दश हजारभन्दा धेरै संरचना जलेका छन् भने लाखौं विस्थापित छन् ।
यस्तोमा, नेपाली फिल्मका केही कलाकार लस-एन्जलस सहरमा छन् । कोहीले हलिउडमा संघर्ष गरिरहेका छन् भने कोही कलाकार व्यवसायमा छन् । तीमध्ये केही कलाकारले सामाजिक संजालमार्फत परिस्थितीलाई अपडेट गर्दै आइरहेका छन् ।
लामो समयदेखि हलिउडमा ब्यस्त एमी अवार्ड विजेता नेपाली अभिनेता जसवन्तदेव श्रेष्ठले सोमबार बिहान एक मर्मस्पर्शी तस्वीर सेयर गर्दै ‘सपना जल्न सक्दैन’ भनेर लेखेका छन् ।
आगोमा ध्वस्त भएको घरभित्र भेटिएको अस्करको ट्रफी सेयर गर्दै जसवन्त लेख्छन्, ‘ सपना जल्न सक्दैन । आगोमा भस्म भएको अस्करको दृश्य देख्दा हृदयविदारक महसुस भयो । आगोको ज्वालाले भौतिकरुपमा ट्रफीलाई जलाएको हुनसक्छ । तर, त्यसले विरासत, जोश र कलात्मकतालाई कहिल्यै निभाउन सक्दैन । अस्करका प्रमुखहरू, तपाईंहरूको कामले अनगिन्ती जीवनलाई प्रेरित गरेको छ र यसको प्रभाव सँधै आगोभन्दा उज्यालो हुनेछ । यो त्रासदीबाट प्रभावित सबैलाई माया र शक्ति । फोटो स्रोत : अभिनेत्री इसाबेला रोसेलिनी ।’
उनले अर्को पोस्टरमा अग्निनियन्त्रकलाई सम्बोधन गर्दै ‘हाम्रा हिरोहरू बहादुरीपूर्वक लडिरहेका छन् । लडाइ सकिएको छैन । कृपया तपाईंको प्रार्थना रहिरहोस् ।’
नेपाली अभिनेता ब्यास बिसु जसको नेपाली फिल्म ‘लाइफ इन एलए’ गतवर्ष नेपालमा समेत प्रदर्शनमा आएका थिए । लस-एन्जलसमा बसोबास गर्दै आएका उनले आफूहरू डढेलोभन्दा केही पर सुरक्षित रहेको लेखेका छन् । ‘मानिसहरूलाई प्रार्थना । जंगलको आगोलाई रोक्न, जीवन र सहर बचाउन संलग्न अग्नि नियन्त्रक, प्रहरी, स्वयंसेवक सबैलाई सलाम ! हामी आगोबाट अलि टाढा छौं, सुरक्षित रहौं’ उनले लेखेका छन् ।
त्यहाँ बसोबास गर्दै आएका अर्का कलाकार सुनी बी यतिबेला आगामी फिल्म ‘फाइट अफ फ्युरी २’को डबिङका लागि काठमाडौंमा छन् । उनले लसएन्जलसको पासाडेनामा रहेको आफ्नो स्टुडियो सुरक्षित रहेको तर धुवाँले डम्म भएको जानकारी पाएको बताए ।
‘मैले पाएको खबरअनुसार, डढेलोले कुनै पनि नेपालीलाई असर पुर्याएको छैन । नेपाली बसोबास गर्ने ठाउँहरू प्रभावितस्थलबाट पर छन्’ सुनी बीले अनलाइनखबरसँग भने ।
प्रतिक्रिया 4