२९ पुस, काठमाडौं । आईसीसी यू-१९ महिला टी२० विश्वकपको तयारी स्वरूप नेपालले आज पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजसँग खेलिरहेको छ ।
मलेसिया स्थित कोलेज तुन्कु जाफार मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।
वेष्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १०९ रन बनाएको छ । जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । त्यस्तै कप्तान समारा रमनथले २५ रन बनाउँदा अबिगेल ब्राइसले १९ रन बनाइन् ।
नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिए । नेपालले दोस्रो अभ्यास खेल १५ जनवरीमा अमेरिकासँग खेल्नेछ ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा समूह डी मा रहेको नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
नेपाली टोली : पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रविन, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, अलिसा कुमारी यादव, सावित्री धामी, कृष्मा गुरुङ, तृष्णा विक, किरण कुमारी कुँवर, रिया शर्मा, सिमाना केसी, रचना चौधरी, स्नेहा महरा, अनु कडायत
प्रतिक्रिया 4